×

वीरगन्ज ३ माघ सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष एव प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेका र एमालेका हारेका नेता, कार्यकर्ताले वीरगंज प्रादेशिक राजधानी बनाउनुपर्ने माग गर्दै घण्टाघरमा रिले अनशनको नाममा नौटङ्की गरिरहेको आरोप लगाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल, पर्सा क्षेत्र नं. ३ र नगर समितिको आयोजनामा पोखरियामा आयोजित सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद यादवले प्रदेशसभाको अस्थायी राजधानी तोक्ने अधिकार संविघानले सरकारलाई दिएको र सरकारमा अहिले नेपाली काङ्ग्रेस भएको अवस्थामा घण्टाघरमा रिले अनशनको नौटङ्की छाडेर सरकारलाई दबाब दिन सुझाव दिए ।

उनले सरकारलाई दबाब दिनुको साटो घण्टाघरमा रिले अनशन गरेर मधेसी जनतामा फुट ल्याउने काम गरिएको दोषारोपण पनि गरे । सांसद यादवले मधेस र मधेसीको माग संविधान संशोधन भएकोले सो कार्य जुनसुकै अवस्थामा पनि गरिछाडने बताए । सो अवसरमा उनले निर्वाचन र आन्दोलनका समयमा गरिएका वाचा अक्षरशः पालना गर्ने र मधेसी जनताविरुद्ध कुनै काम नगर्ने वाचा पनि गरे ।

अर्का सांसद हरिनारायण रौनियारले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन र त्यसपछिको समयमा पनि प्रदेश नं. २ को राजधानी वीरगंज हुने उद्घोष गरेका र पार्टी वीरगंजलाई प्रादेशिक राजधानी बनाउने कुरामा स्पष्ट भएको बताए । सांसद रौनियारले आव ०७३–०७४ को बजेटमा पोखरिया नपाले अनियमितता गरेको कारण सांसद र प्रदेशसभा सदस्यहरूलाई निम्तो नदिएर गुपचुप बन्द कोठामा पोखरिया नपाले नगरसभा गरेको आरोप लगाए ।

सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य प्रहलाद गिरीले वीरगंज प्रादेशिक राजधानी होस् भन्ने सबैको चाहना भएको बताए । उनले राजधानीको नाममा नेका र एमालेका स्थानीय नेता, कार्यकर्ताहरूले मधेसी जनतामा फुट ल्याउने षडयन्त्र रचेको आरोप लगाए ।

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले २८ वर्षमा नभएको विकासको काम अब पर्सामा हुने दाबी गरे । उनले वीरगंज महानगरपालिकाको मात्र विकास भएर हुँदैन, जिल्लाका सबै गापा, नपाको विकास हुनुपर्ने अवसर आएको बताए । उनले विकासको काममा आम जनताको सहयोग अति आवश्यक हुने बताए । राजपाका महासचिव शिव पटेलले पर्साबाट निर्वाचित सांसदहरूले मधेसी शहीदहरूको बलिदान बुझेको र उनीहरूको भावनाविपरीत नजाने दाबी गरे ।

क्षेत्रीय सभापति नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अंसारी, सिंहासन साह कलवार, मन्जुर अंसारी, बद्री चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पोखरिया नपाका उपमेयर सलमा खातुनले स्वागत गरेकी थिइन् भने सञ्चालन मनोज कुर्मीले गरेका थिए । कार्यक्रमका अध्यक्ष यादवले निर्वाचित सांसदहरूलाई र सांसदहरूले प्रदेशसभा तथा गापा, नपाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा घाइते सङ्घका अध्यक्ष बद्री चौरसियालाई पनि सम्मान गरिएको थियो । सभार-प्रतिक

Back to top