क्याल समूहको अत्याधुनिक जस्तापाता उद्योग सञ्चालनमा

नारायणी स्ट्रिप्सले थाल्यो उत्पादन

1120

वीरगञ्ज ३० पुस निर्माण सामग्रीको उत्पादनमा सक्रिय औद्योगिक घराना क्याल समूहले वीरगञ्ज औद्योगिक कोरिडोरमा अत्याधुनिक जस्तापाता उद्योग सञ्चालनमा ल्याएको छ । विगत २ दशकभन्दा लामो समयदेखि निर्माण सामग्री उत्पादन र यसको व्यवसायमा संलग्न यो समूहको नारायणी स्ट्रिप्स प्रालिले रङ्गिन र सादा जस्तापाता उत्पादन शुरु गरेको हो ।

अत्याधुनिक प्रविधिबाट जस्तापाता उत्पादन शुरु भएको क्याल समूहका कार्यकारी निर्देशक राजेश क्यालले जानकारी दिए । २ वर्षअघि निर्माण शुरु भएको उद्योगले शुक्रवारदेखि उत्पादन थालेको क्यालले बताए । अत्याधुनिक र स्वचालित प्रविधिको यो उद्योग नेपालकै ठूला जस्तापाता उद्योगमध्ये एउटा भएको क्याल समूहको दावी छ । उद्योगका लागि आवश्यक भौतिक र प्राविधक संरचनाको निर्माण पूरा भएलगत्तै उद्योगले उत्पादन थालेको छ । ‘यो हाम्रो ठूला योजनामध्येको उद्योग हो’, क्यालले आर्थिक अभियानसित भने, ‘यसबाट वार्षिक १ लाख मेट्रिकटन जस्तापाता उत्पादन हुन्छ ।’


स्वचालित प्रविधिमा आधारित यो उद्योगबाट उत्पादित जस्तापाता उच्च गुणस्तरीय हुने उद्योग व्यवस्थापनले बताएको छ । ‘जस्तापाताको उत्पादनमा नवीन प्रविधि भित्र्याएकाले यसबाट उपभोक्तासमक्ष उच्चगुणस्तरीय उत्पादन पुग्नेछ,’ क्यालले बताए ।

नारायणी स्ट्रिप्सले फलामको कालो पाइप र एसएस पाइप पनि उत्पादन गर्दै आएको छ । उद्योगले विभिन्न नापका गोलो, आयातकार र वर्गाकार पाइप बजारमा ल्याएको क्याल समूहले बतायो । आधा इन्चदेखि ५ इन्चसम्मको कालो पाइप र साढे २ इन्चसम्मको एसएस पाइप उत्पादन भइरहेको क्यालले बताए ।

नेपालमा विकास र भौतिक पूर्वाधार निर्माणको आवश्यकता बढी भएकाले यस्ता कार्यमा लगानी बढेपछि जस्तापातालगायतका निर्माण सामग्रीको बजार पनि स्वतः वृद्धि हुने बुझाइ यो औद्योगिक घरानाको छ । यो समूहले फलामे डण्डी, पाइप, सिमेण्ट, इट्टालगायतका सबै खालका निर्माण सामग्री उत्पादन गर्दै आएको छ । निर्माण सामग्री उत्पादनका अन्य उद्योग विस्तार र प्रविधि अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिइएको पनि कम्पनीले बताएको छ ।


SHARE