×

वीरगंज, पुष २६ - तराइ–मधेस क्षेत्रमा अचानक बढेको चिसो र शितलहरलाई मध्यनगर गर्दै वीरगंज महानगरपालिका कार्यालयले आज चौथो दिन पनि कठ्याङ्ग्रिने जाडो र शितलहरबाट पिडित जनतालाई विभिन्न दातृ संगठनहरु संग सहकार्य गरि कम्बल वितरण गरेको छ ।

वीरगंज महानगर तथा जितपुर–सिमरा उप–महानगर क्षेत्रका विभिन्न लायन्स क्लबको आर्थिक सहयोगमा आज वीरगंज महानगरपालिकाको कार्यालयले वडा नम्बर १९ स्थित विन्दवासिनी मन्दिर परिसरमा वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षता एवम् नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा एउटा कार्यक्रमको आयोजना गरि विभिन्न वर्गका विपिन्न समुदायका परिवारहरुलाई कम्बल वितरण गरेको हो ।

’वीरगंज महानगरपालिकाले पछिल्लो चार दिनमा १ हजार ८ सय भन्दा बढि परिवारलाई विभिन्न संघ–संस्थाहरु संग सहकार्य गर्दै कम्बल वितरण गरिसकेको छ र थप सहयोग जुटाउने प्रयास गरिरहेको छ,’ नगर प्रमुख विजय सरावगीको सचिवालयका स्वकीय सचिव तबरेज अहमदले भने, ’नगरपालिकाको हरेक विपिन्न परिवारलाई हामीले राहत पुर्‍याउने लक्ष्य लिएका छौं ।’

लायन्स क्लबका क्षेत्रीय संयोजक आकाश सर्राफको नेतृत्वामा गएको टोलिले महानगरको वडा नम्बर १९ मा लगभग २ सय भन्दा अधिका परिवारलाई कम्बल वितरण गरेको सर्राफले जानकारी गराए । ’बढेको जाडो र शितलहरका कारण हामीले जिल्लाका विभिन्न स्थानहरुमा कम्बल वितरण गरिरहेका छौं, हामीले भर्खरै दुई दिन पहिला नगवामा लगभग २ सय कम्बल वितरण गरेका छौं,’ सर्राफले भने, ’अहिले थप सामाजिक संस्थाहरु संग समन्वय गर्दै सहयोग उठाउने काम गर्दै छौं र छिट्टै अन्य स्थानहरुमा पनि कम्बल वितरण गर्ने छौं ।’

आजको कम्बल वितरण कार्यक्रममा नगर प्रमुख सरावगीका राजनीतिक सल्लाहाकार मुकेश द्विवेदी, स्वकीय सचिव तबरेज अहमद, क्लबका वरिष्ठ सदस्यहरु पशुपति बिक्रम साह, श्रीमती उषा साह, जिल्ला सल्लहाकार राम्बिहारी पाण्डे, युवा अभियन्ता तथा तराई मानव अधिकार रक्षक संजालका जिल्ला संयोजक आँशु सर्राफ लगयात अन्य स्थानीय नेता, सामाजिक कार्यकर्ता, नागरिक समाजका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।

Back to top