×

वीरगंज २५ पुस नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र रहेका औषधि पसल, फार्मेसीहरू हटाउन अस्पतालले अन्तिम पटक म्याद जारी गरेको बुझिएको छ । नारायणी उपक्षेत्रिय अस्पतालका मेसु डा एनामुलका अनुसार अस्पताल हाता भित्र रहेका औषधी पसलहरू हटाउन पुस २६ गतेसम्म अन्तिम म्याद दिएको बताए ।

पटक–पटक पसलहरू हाटाउन पत्राचार गरे पनि पसलेहरूले आनाकानी गरेको भन्दै अब तोकिएको समयमा पसलहरू नहटाए बल लगाएर पनि हटाउने बताए ।

औषधी पसलहरूलाई हटाउन जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज महानगरपालिकाको कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वयसमेत भएको उनले बताए । निर्धारित समयमा पसल हटाइएन भने पसलहरू खाली गराउन कुनै कसर बाँकी नराख्ने मेसु डा एनामुलले बताए । अस्पताल विकास समितिले अहिलेसम्म ३५ दिने छपटक तथा अन्तिमपटक ५ दिने पत्र काटेको अध्यक्ष विनोद गुप्ताले बताए ।

सुरक्षा निकायलाई पटकपटक खाली गराउन पत्रचार गरे पनि बेवास्ता गरेको अध्यक्ष गुप्ताले बताए । स्वास्थ्य मन्त्रालयले नाउक्षे अस्पताल भित्र रहेका औषधि पसलहरू हटाउन निर्देशन दिएपछि अस्पताल प्रशासन अहिले फेरि तातेको छ ।

लामो समयदेखि नाउक्षे अस्पतालले हटाउने प्रयास गरे पनि औषधि व्यवसायीहरूले मुद्दा दर्ता गरेपछि विवाद चल्दै आएको थियो । विगत तीन वर्षदेखि नाउक्षे अस्पताल तथा औषधि पसलबीच विवाद चल्दै आएको र विवादको कारण कर्मचारीबीच कुटाकुटसमेत भएको थियो ।

नेपाल सरकारले अस्पतालले आप्mनै फार्मेसी सञ्चालन गर्नुपर्ने प्रावधान राखेपछि त्यसलाई व्यवस्थित र परिणाममुखी बनाउन अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउन निर्देशन दिएको हो ।

नाउक्षे अस्पताल हाताभित्र नारायणी फार्मेसी, सुरभि मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकललगायत कृष्ण कोल्ड स्टोर, गुप्ता मिष्ठान्न भण्डार छन् ।

अस्पताल हाताभित्र रहेका औषधि पसलहरूले रु २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ । औषधि पसल एकले भाडामा लिएर अरूलाई दिएको र उनीहरूबाट महिनाको भाडा ४० हजार लिने गरेको तर अस्पताललाई रु ५ हजार भाडा तिर्ने गरेको कारण अस्पतालको आयस्रोत कम भएको तथा अस्पतालले सञ्चालन गरेको फर्मेसी व्यवस्थित गर्न पनि सरकारले बाह्य औषधि पसल हटाउन निर्देशन दिएको देखिन्छ ।

Back to top