म धन कमाउन राजनीतिमा आएको होइन-हरिनरायण रौनियार प्रतिनिधिसभा संदस्य पर्सा क्षेत्र नं. ३

1309

पूर्णकालीन राजनीतिमा प्रवेश गरेको ६ महीनामै ठूलो राजनीतिक सफलता पाउँदा कस्तो लागेको छ ?
जितको खुशी नहुने त कुरै भएन । यो पर्सा ३ नम्बर क्षेत्रका विकासप्रेमी जनताको जित हो भन्ने लाग्छ । यो मधेशको राजनीतिक अधिकार र विकासको मुद्दाको जित हो । अहिलेसम्म यहाँबाट जनताको मत लिएर जितेकाहरूले जनतालाई उपेक्षा गरिरहे । म जनतासम्म पुगेर राजनीतिको प्रयास गरेको छु । जनताको उत्साहपूर्ण समर्थनले म उत्साहित छु ।

राजनीतिमा नयाँ पर्नुभयो, पुराना राजनीकर्मीलाई पाखा लगाएर चुनावमा सफल हुन कत्तिको असजिलो पर्‍यो ?
म २०३५ सालदेखि राजनीतिमा लागेको हुँ । ३६ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा खुलेरै लागियो । त्यसबेला २०४० सालसम्म सक्रिय राजनीति गरेपछि निर्माण कम्पनी खोलेर ३४ वर्षसम्म निर्माण व्यवसायमा सक्रिय भएँ । यसबीचमा पप्पु कन्ष्ट्रक्सनलाई ‘क’ वर्गमा पु¥याउन सफल भएँ । यसैबीच पनि सामाजिक कामलाई पनि निरन्तरता दिएँ । शिक्षा, स्वास्थ्य र धार्मिक सरोकारका सामाजिक कामहरूमा सहभागी भइरहेँ । यसले मलाई अहिले राजनीतिमा जनतामाझ स्थापित हुन सहज भयो । अर्को, जनतामा विकासको अपेक्षा छ । ३० वर्षको पञ्चायत र त्यसपछिको समयमा पनि यहाँबाट जितेर जानेले अहिलेसम्म जनताको त्यो अपेक्षालाई बेवास्ता गरे । अरूले राजनीतिमा लागेर धन कमाए, म धन कमाएर राजनीतिमा आएँ । मैले धनका लागि होइन, विकासको लागि राजनीति गरेकोमा जनता विश्वस्त छन् । यसैले मलाई जिताए । मधेशमा विकासको कमी छ । तर, जनता सचेत भइसकेको छ । जनता आफ्ना नेतासँग अन्तरक्रिया चाहन्छन्  । मैले त्यो पूरा गरेँ । मेरो क्षेत्रका ८४ गाउँका १ लाख १० हजार घरमा पुगेँ । जनताको समस्या बुझ्न सहज भयो । जिन्दावाद र मुर्दावादको कारण के हो ? त्यो जान्ने मौका मिल्यो । यसले अब मलाई योजना बनाएर अघि बढ्न सहयोग पुग्छ । स्थानीय चुनावमा आफ्नो क्षेत्रमा गरेको मेहनत र सफलताले पनि चुनाव जित्न सजिलो भयो । अरूसँग सङ्गठन थियो, हामीसँग जनताको भावनाको साथ थियो ।

राजनीतिमा अवसरका लागि आउनुभयो कि विकासका लागि ? 
मधेशमाथि राज्यबाट जुन विभेद र अन्याय अत्याचार भयो, त्यसले मलाई राजनीतिमा डो¥यायो । अहिले पनि जनता पिउने पानीको माग गछ्र्रन् । एउटा चापाकल गाड्न १२ हजारजति पर्ला, जनताले त्यो पाउँदैनन् । तर, नेता एकै साँझमा १२ हजारको रक्सी खान्छन् । यस्तो अविकास र विभेदविरुद्ध लड्न सक्रिय राजनीतिमा लाग्नुपर्छ भन्ने चेतनाले मलाई राजनीमा तान्यो ।

तपाईंले चुनावका बेला आफ्नो क्षेत्रको विकासको सङ्कल्प सार्वजनिक गर्नुभएको थियो । अब त्यसको रूपान्तरण कसरी गर्नुहुन्छ ? 
मैले निकालेको प्रतिबद्धता अधिकार र विकासको आवश्यकताको निचोड हो । सबैभन्दा पहिला संविधान संशोधनमार्फ मधेस समस्याको समाधान हुनुपर्छ । हाम्रा कम्युनिष्टहरू राजनीति गर्न जनतालाई गरीब बनाउन चाहन्छन् । गरीबी रहेमात्र राजनीति रहन्छ भन्ने गलत मनोविज्ञान छ । यसबीचमा मधेशका जनतालाई अशिक्षित बनाउने काम भयो । नेपाल के हो, नेपालको बजेट के हो, विकास के हो, अधिकार के हो ? त्यो बुझ्न नदिने काम भयो । पर्सामा साढे ५ लाख जनसङ्ख्या छ । तर, वीरगञ्जबाहेक अन्य क्षेत्रमा एउटा पनि छात्रा विद्यालय किन छैन ? परिवार, समाज र देश सचेत हुन महिला शिक्षित हुन जरुरी छ । यसको अभियान चलाउँछु, यो मेरो पहिलो सङ्कल्प हो । तराई उर्वरभूमि मानिएर पनि यहाँभन्दा पहाडका किसान खुशी छन्, किन ? अनुदानमा विभेद छ । किसानलाई कृषिकर्ममा सहुलियतसहित कृषिको व्यवसायीकरण गर्ने योजना छ । यसले किसानको जीवनस्तर उठाउन मद्दत पुग्छ । वीरगञ्जमा भएको एकमात्र चिनी कारखाना, कृषि औजार कारखाना बन्द छ । उत्पादन बढे पनि बजारको उचित व्यवस्था छैन । यसका लागि पूर्वाधार विकास गर्नु पर्छ । ५ वर्षमा गण्डक नहर, पदम रोड र महेन्द्रपथ पक्की बनाउँछु । जिल्लाको उत्तर–दक्षिण सडक सम्पर्क निर्माणको योजना कार्यान्वयनमा ल्याउँछु । कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि कम्तीमा ४ ओटा डिपो बनाउँछु । कृषिको व्यवसायीकरणमार्फत रोजगारी सृजना गरी विदेशिनुपर्ने बाध्यताको न्यूनीकरण गर्छु । यसका लागि उद्योग व्यापारको सहज वातावरण बनाउँछु । सरकारले यो क्षेत्रका गरीबलाई समेत विभेद गरेको छ । अन्यत्र खाद्यान्नमा सहुलियत छ । तर, यहाँ किन नहुने ? यसको प्रबन्ध मिलाउँछु ।

न्यून स्रोतसाधन विकासको अपेक्षाका अगाडि समस्या बन्ने गरेको छ, कसरी पूरा होला ? 
अभाव स्रोतको होइन, परिचालन क्षमताको हो । सरकारी तथ्याङ्क हेर्दा यति धेरै अनुदान र ऋण आएको देखिन्छ । तर, खर्बौं रुपैयाँ ढुकुटीमा थन्किएको छ । गरीबको नाममा आएको स्रोत प्रभावकारी परिचालन भएको छैन । भएको पनि अधिकांश भ्रष्टाचारमा गएको छ । हामीकहाँ सफल र सक्षम नेतृत्व छैन । नेतृत्वको दूरदृष्टि आफ्नो स्वार्थमा मात्र सीमित भएको छ । अब त्यस्तो प्रवृत्ति चल्दैन । मधेशबाट गएको प्रतिनिधित्व विकासका लागि सङ्घर्ष गर्छ ।

केन्द्रीय संसद्मा तपाईंहरूको सहभागिता सानो सङ्ख्यामा हुने स्पष्ट भइसक्यो । यो अवस्थामा संविधान संशोधनको एजेण्डा सफल होला भन्ने लाग्छ ? 
९० प्रतिशतले पारित भएको संविधान किन १ महीना नबित्दै संशोधन भयो ? यसबाटै यो अपूर्ण छ भन्ने त प्रमाणित भइसक्यो नि । ठूला दलहरूले छुटेको कुरा पूरा गर्ने प्रतिबद्धता गरेका थिए । यतिखेर त्यो पूरा गर्नेछन् भन्नेमा आशावादी बनौँ  । बहुमतको बलमा जायज एजेण्डालाई पेलेर जान मिल्दैन । अधिकार नदिई हुँदैन । मधेश आन्दोलनको म्याण्डेट पूरा गरेरै छोड्छौं । त्यसका लागि संसदलाई सङ्घर्षको थलो बनाउँछौं । यो मधेशको मात्र कुरा होइन, दलित, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायत सबै पिछडिएका वर्गको अधिकार र आत्मसम्मानको कुरा हो ।

अहिले प्रादेशिक राजधानीको विवाद आइरहेको छ । २ नम्बर प्रदेशको राजधानी कहाँ बनाउनु पर्ला ? 
अहिले सरकारले राजधानी तोक्ने काम उचित होइन । त्यो प्रदेशसभाले गर्ने हो । २ नम्बरको सन्दर्भमा जनकपुर आफैंमा धार्मिक र पवित्र स्थल हो । यसको उच्च सम्मान छ । तर, राजधानी पूर्वाधारको उलब्धता र सहजताको अधारमा हुनु पर्छ । छिमेकी देशमा पनि यस्तै अभ्यास छ । वीरगञ्जमा प्रादेशिक राजधानीका लागि पूर्वाधार बनिसकेको छ । यो देशकै मध्यभागमा पनि छ । वैदेशिक व्यापार, आवागमन र पारवहन सबै दृष्टिले सहज छ । हवाई र स्थलमार्गको पहुँच र पूर्वाधार सहज छ । केन्द्रीय राजधानीसँग पनि नजिकको दूरी छ । अन्तरराष्ट्रिय विमानस्थल र द्रुतमार्गजस्ता पूर्वाधार यसै क्षेत्रलाई लक्षित गरेर निर्माण भइरहेका छन् । यसआधारमा २ नम्बर प्रदेशको राजधानी वीरगञ्ज नै हुनु पर्छ भन्ने मेरो मान्यता हो । तथापि, यो प्रदेशसभाको क्षेत्राधिकारको कुरा भएकाले बृहत् छलफलमार्फत निष्कर्षमा पुग्न नसकिने होइन ।


SHARE