×

वीरगन्ज ११ पुष प्रदेश २ को सबभन्दा पश्चिममा रहेको ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभ्ने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले २ दिन अगाडि एउटा कार्यक्रममा अभियक्ति दिएपछि प्रदेशमा राजनीतिक बृत तरंगीत भएको छ। मंगलवार वीरगन्जमा आयोजित एक कार्यक्रममा सहभागि भएका मधेसी दलका नवनिर्वाचित साँसदहरुले दहालको अभिब्यक्ति बिरुद्ध कडा प्रतिक्रिया दिएका छन्।

‘अलिकति प्राकृतिक स्रोत साधन भएको त्यस ठाउँलाई पनि लैजाने प्रचण्ड जीले भन्नु भइरहेको छ, हामीसंग उहाँले केही नछाड्ने?’ ठोरी गाउँपालिका भएको क्षेत्र पर्सा ४ बाट निर्वाचित साँसद राष्ट्रिय जनता पार्टीका बरिष्ठ नेता लक्षमणलाल कर्णले भने, ‘ठोरी प्रदेश ३ मा जांदैन । हामीले त छोडेर निस्किसकेका थियौं, प्रचण्ड जीहरुले लेखेको संविधान हो, उहाँहरुले लेख्नु भएको यो संविधानमा क्षेत्र परिवर्तन यति धेरै कठिन छ की प्रचण्ड जी तीन जन्म लिंदा पनि हुन्न ।’ पार्टीको उम्मेदवार हारेपछि दहालले गरेको राजनीतिक स्टन्ट मात्र हो ठोरीलाई ३ नम्बर प्रदेशमा लैजाने कुरा त्यो भन्दा बढीकेही पनि होइन भन्दै कर्णले टिप्पणी गरे । संवैधानिक ब्यवस्था अनुसार यो निकै जटिल कुरा भएको उनले बताए।

त्यसतै पर्सा क्षेत्र नम्बरबाट निर्वाचित सांसद प्रदीप यादवले ठोरी भुभागलाई कुनै पनि हालतमा प्रदशेबाट काटेर अयन्त्र गाभ्न नपाइने बताए । ‘पुष्पकमल जीले भनिरहेका छन् ठोरीलाई प्रदेश ३ मा लैजाने कुरा, त्यस्तै छ भने जाने मानिसलाई उनी लैजान सक्छन, रोक्दैनौं । भुभाग कुनै पनि हालतमा जाँदैन,’ साँसद यादवले भने, ‘कोही मानिस यहाँबाट बसाई सरेर जुन सुकै प्रदेशमा जान पनि कसैले रोकेको छैन्, भुभाग लैजाने कुरा गरियो भने, सदनमा हामीले त्यो सफल हुन दिदैनौ, आवश्यक परे हामी आन्दोलनबाट आएका पार्टी हौं एउटा अर्को संघर्ष पनि स्विकार गरौंला ।’

हिमालनी मासिक पत्रिकाले आयोजन गरेको ‘वीरगन्जको समग्र विकास’ सम्बन्धी उक्त अन्तरक्रियामा बोल्दै फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य लालबाबु राउत गद्दीले अब विकासको र त्यसको लागि स्रोतको विषयमा छलफल आवश्यक रहेको बताए। पर्सा ३ बाट जितेका साँसद हरिनारायण रौनियारले संबैधानिक रुपमा स्थानीय सरकारको हैसियत पाएको स्थानीय तह धेरै हदसम्म आफ्नो नीति नियम बनाउन अधिकारसम्पन्न रहेकोले यसको अधिकतम उपभोग गरी स्थानीय तहको विकास निर्वाचित जनप्रतिनिधीले गर्नु पर्ने बताए। उनले वीरगन्ज महानगरलाई इंगित गर्दै नगरप्रमुख लगायत जनप्रतिनिधीलाई भने, ‘तपाईहरु योजना बनाउनुस केन्द्रीय नीति तथा कार्यक्रममा पार्ने र बजेट ल्याउने जिम्मेवारी हाम्रो हो।’ वीरगन्ज महानगरका मेयर विजय सरावगीले वीरगन्ज क्षेत्रले तुलनात्मक रुपमा हरेक क्षेत्रमा कम बजेट पाउने गरेको तथ्यांक सुनाउदै गुनासो गरे । पर्साका जिल्ला समन्यव समितिका सभापति नेक महमद, हिमालीनिका सचित्तानन्द मिश्र, स्वेता सिंह लगायतले बोलेका थिए।

Back to top