×

वीरगन्ज ११ पुस रौतहटको राजपुर नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक महिलालाई निर्घात कुटपिट गरिएको छ। राजपुर नगरपालिका– ३ बलुवा टोल बस्ने ४२ वर्षकी जैतुन नेसालाई छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले गाली गलौज गर्दै कपाल समाती लछारपछार गर्दै निर्घात कुटपिट गरेका उनका श्रीमान शेख रइद्दिनले बताए। कुटपिटबाट गम्भीर घाइते भएकी जैतुनको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीहरूले लौरोले प्रहार गर्दा पिठ्यँुभरि नील डाम भएको र टाउकोमा गम्भीर चोट लागेको छ। पीडित महिलाका श्रीमान शेख रइद्दिनका अनुसार मैरुन नेसाका बुहारी र मोहिवकी छोरी बिरामी भएपछि उनीहरूलाई उपचार गराउनुको साटो गाउँकै मोल्वी आफूलाई झाँक्री बताउने शेख मंजारुलसँग झारफुक गर्दा जैतुनले जादूटुना गरी भूतप्रेत लगाएको भन्दै कुटपिट गरेका थिए। बोक्सी भन्दै घरमा कोही नभएको मौका छोपी मरणासन्न हुने गरी कुटपिट गरी मलमूत्र खुवाउन खोज्दा गाउँका अन्य व्यक्तिहरू आएपछि उनीहरू भागेका रइद्दिनले बताए। श्रीमतीलाई लछारपछार गरी कुटपिट गर्नेहरू विरुद्ध कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी गरिरहेको रइद्दिनको भनाइ छ । एकातिर झाँक्री शेख मंजारुलले झारफुक गर्ने, अर्कोतर्फ उनकी श्रीमतीसमेत संलग्न भई आफ्नी श्रीमतीलाई शारीरिक, मानसिक यातना दिएकोमा पीडकहरूलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने मागसमेत उनले गरेका छन्। जैतुन नेसाको अवस्था बुझ्न जिल्ला अस्पतालमा पुगेका आफन्त मोहम्मद असरफ अलीले २१औँ शताब्दीमा पनि बोक्सी जस्तो घृणित आरोप लगाएर एक महिलालाई घरमा कोही नभएको मौका छोपी कुटपिट गर्नेलाई हदैसम्म कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यस विषयमा रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पीडित पक्षहरू अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न नआएको बताएका छन् ।

Back to top