×

वीरगञ्ज १० पुष भारतीय रेलवेको रक्सौल यार्डमा हुँदै आएको क्लिङ्कर लोडअनलोड वीरगञ्जको सुक्खा बन्दरगाहमा गर्ने तयारी थालिए पनि भारतीय शहर रक्सौलका बासिन्दाले सोमवार ४ घण्टा नाकाबन्द गराएका छन् । क्लिङ्करको समस्या समाधान भए पनि रक्सौलमा अनलोड हुने कोइला, फ्लाइयास, जिप्सम, स्ल्याग, आइरनओरलगायतका धूलो उड्ने कार्गो लोडअनलोडका कारण प्रदुषणको समस्या यथावत रहने भन्दै रक्सौलका बासिन्दाले मुख्य मार्गमा धर्ना दिएर नाकाबन्द गराएका हुन् ।

बिहान ९ बजेदेखि शुरु भएको अवरोध दिउँसो १ बजेसम्म चलेको थियो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावास र रक्सौल प्रशासनले समस्याको निकासका लागि सरकारी स्तरमा पहल भइरहेकाले चाँडै विकल्प खोजिने आश्वासन दिएपछि धर्ना टुङ्गिएको थियो । धर्नाका कारण मुख्य नाका वीरगञ्जको आवागामन ठप्प भएको थियो ।

धर्नाका अगुवा रक्सौलका महेश अग्रवालले क्लिङ्कर अनलोड वीरगञ्जमा हुने भए पनि अन्य धुलो कार्गोका बारेमा निक्र्यौल नभएकाले धर्ना दिनुपरेको बताए । उनले माग शीघ्र सम्बोधन हुने आश्वासन पाएकाले तत्कालका लागि आन्दोलन स्थगित गरिएको बताए । रक्सौलमा डस्टी कार्गो लोडअनलोडका कारण प्रदुषण बढेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रक्सौलका बासिन्दाले सोमवारदेखि नाका बन्द गर्ने घोषणा यसअघि नै गरेका थिए । भारतीय रेलवेले क्लिङ्करको लोडअनलोड वीरगञ्जमा गर्न पत्राचार गरिसकेको छ । १५ दिनभित्र प्रक्रिया र पूर्वाधार मिलाएर यसको व्यवस्थापन गरिने भारतीय कण्टेनर निगम लिमिटेड (कोेन्कर)को तयारी छ । कोन्कर बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिको मुख्य साझेदार पनि हो । नेपालको वाणिज्य विभागका अधिकारीले भने रेल सेवा सम्झौतामा वीरगञ्ज बन्दरगाहमा धुलो उड्ने कार्गो लोडअनलोडको सहमति नभएको बताएका छन् । यसबारेमा छलफलका लागि नेपालको वाणिज्य मन्त्रालय र भारतीय रेलका उच्च अधिकारीहरूको बैठक मङ्गलवार वीरगञ्जमा बस्दैछ । यसैबीच वीरगञ्जको सुक्खा बन्दरगाहमा डस्टी कार्गो अनलोड गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । यसबाट प्रदुषणको समस्या बढ्ने उनीहरुको भनाइ छ । स्थानीयले सुक्खा बन्दरगाह परिसरमै प्रदर्शन गरेका थिए ।

Back to top