×

वीरगन्ज २४ मंसिर पर्साका चार ओटै निर्वाचन क्षेत्रमा मधेशी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फको क्षेत्र नं. १, २ र ३ मा सङ्घीय समाजवादी फोरम नेपाल र क्षेत्र नं. ४ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार निर्वाचित भएका हुन् । विगत ६ महीने मधेश आन्दोलन र नाकाबन्दीको केन्द्रको रुपमा रहेको वीरगञ्जको चुनावी परिणाम पनि मधेशवादी दलको पोल्टामा गएको हो ।

वीरगञ्ज महानगरका १९ ओटा वडा समेटिएको पर्सा क्षेत्र नम्बर १ बाट मधेशवादी गठबन्धनबाट उम्मेदवार बनेका सङ्घीय समाजवादी फोरम नेपालका प्रदीप यादव विजयी भएका छन् । यादवले नेपाली काङ्ग्रेसका अनिलकुमार रुङ्गटालाई ४ हजार ६ सय ४२ मतान्तरले पराजित गरेका छन् । यादवले २१ हजार १ सय ३२ मत प्राप्त गरे भने रुङ्गटाले १६ हजार ४ सय ८१ मत प्राप्त गरे ।

यस्तै क्षेत्र नम्बर २ मा फोरमकै विमलप्रसाद श्रीवास्तवले काङ्ग्रेसका अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मतान्तरले पराजित गरे । सुरुदेखि अग्रता लिएका चौरसिया नगरक्षेत्रको गणना सुरु भएपछि पछाडि धकेलिएका थिए । श्रीवास्तवले २१ हजार १ सय ६९ मत प्राप्त गर्दा चौरसियाले १९ हजार ७ सय ४ मत पाएका छन् ।

विगतमा ४ पटक वीरगञ्जको नगरप्रमुख भइसकेका श्रीवास्तव स्थानीय तहको चुनावमा तत्कालिन फोरम लोकतान्त्रिकबाट प्रमुखमा लडेर हारेका थिए । फोरमले उनलाई टीकट दिने शर्तमा पार्टीमा भित्र्याएको थियो ।

पर्साको क्षेत्र नम्बर ३ मा निर्माण व्यवसायबाट राजनीतिमा प्रवेश गरेका हरिनारायण रौनियारले जीत हात पारेका छन् । विगतमा ३ पटक चुनाव जितेका काङ्ग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतान्तरले हराएर उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ८ सय १ मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका राजकुरमा गुप्ताले १० हजार ९ सय ८६ मत पाए । पर्साबाट विगतमा चुनाव जितेर गएका आफ्ना प्रतिद्वन्द्वीले स्थानीय विकासमा कुनै पनि काम नगरेकोले आफू राजनीतिमा आएको विषयलाई रौनियारले मुख्य एजेण्डा बनाएका थिए ।

यस्तै पर्सा ४ मा राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष लक्ष्मणलाल कर्ण विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका रमेश रिजाललाई ६ हजार ३६ मतान्तरले पराजित गरे । कर्णले २० हजार ७ सय ३८ मत पाउँदा रिजाल १४ हजार ७ सय २ मतमा सीमित हुन पुगे ।

प्रदेशमा पनि मधेशी दल हाबीः

पर्साका ८ प्रदेशसभा सदस्यमा समेत मधेशवादी दल नै हाबी देखिएको छ । क्षेत्र नम्बर १ (१) बाट फोरमका जन्नत अन्सारी र २ बाट फोरमकै लालबाबु राउतले जीत हात परेका छन् । त्यस्तै क्षेत्र नम्बर २ (१) बाट काङ्ग्रेसका राजेश्वर साह तेलीले जितेका छन् भने २ मा राजपाका रमेश कुर्मीले अग्रता लिइरहेका छन् ।

क्षेत्र नम्बर ३ (१) मा फोरमका अब्दुल रहिम अन्सारी निर्वाचित भएका छन् । त्यस्तै २ मा फोरमका प्रह्लाद गिरी गोस्वामी अग्रस्थानमा छन् । क्षेत्र नम्बर ४ (१) मा काङ्ग्रेसका शङ्करप्रसाद चौधरी र २ मा फोरमका सिंहाशन शाह कलवार विजयी भएका छन् ।

Back to top