×

हेम चापागाई /पर्सा (बिजयबस्ती) मंसीर–१९ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कसको जीत हुने हो भन्ने सबैको चासोको बिषय बनेको छ । राष्ट्रिय राजनितिका चर्चित हस्तीहरुको प्रतिस्पर्धाले पनि क्षेत्र नम्बर ४ चर्चामा रहेको हो ।

प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ बाम गठबन्धनबाट पुर्व स्थानीय बिकास मन्त्री तथा नेकपा माओबादी(केन्द्र) की नेतृ उर्मिला अर्याल, नेपाली काँगे्रसको तर्फबाट केन्द्रिय अनुशासन समिति संयोजक रमेश रिजाल र राजपाको तर्फबाट राजपाका केन्द्रिय सहअध्यक्ष लक्ष्मणलाल कर्ण बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बाम गठबन्धनकी नेतृ अर्याल र काँग्रेसका रिजाल पर्साको साबिक क्षेत्र नम्बर ५ का पुर्व बिजयी सांसद समेत रहेका छन् । साबिक क्षेत्र नम्बर ५ बाट २०७० सालमा भएको संबिधान सभाको निर्वाचनमा नेकपा एमालेबाट प्रत्यक्षतर्फ बिजयी भएका जयप्रकाश थारु भने यस पटक बाम गठबन्धनको तर्फबाट प्रदेश सभाको प्रत्यक्ष तर्फका उम्मेदवार बनेका छन् । प्रदेश सभातर्फ नेपाली काँग्रेसले भने शंकर चौधरीलाई मैदानमा उतारेको छ ।

प्रदेश सभा तर्फ केही स्वतन्त्र उम्मेदवारहरुको पनि सहभागिता रहेकोले कसले बाजी मार्ने हो भन्ने आँकलन गर्न कठिन देखिएको छ । चुनाबको दिन आउन केही दिन बाँकी रहँदा क्षेत्र नम्बर ४ भित्रका चोक चोकमा ब्यानर र पम्प्लेटले रंगिएका छन् । पर्साको दुरदराजमा रहेकोले पनि यस क्षेत्रमा निर्वाचन आचारसंहिताको भने चरम दुरुपयोग भएको पाईएको छ । दैनिक जस्तो भोज भतेर, भित्ता भित्तामा पम्प्लेट, र्यालीहरुमा बालबालिकाको प्रयोग देखी केही उम्मेदवार सवार गाडीहरुमा नेपालको राष्ट्रिय झण्डा समेत लगाएर हिड्ने गरेका छन् । आचारसंहिताको यस्तो दुरुपयोग भएपनि निर्वाचन आयोग भने यस बिषयमा मौन देखिएको छ ।

सिंगो देशनै चुनावमय भएको बेला पर्सा क्षेत्र नम्बर ४ ले पनि एउटा सक्षम, बिकासप्रेमी र यस क्षेत्रलाई चाँडै उन्नतीको दिशातर्फ लैजान सक्ने नेतृत्व पाउने आशा स्थानीय बासीले राखेका छन् ।

Back to top