खेत, खलिहान र जनताको मन सबैतिर हरिनारायण रौनियार

223



वीरगन्ज, १८ मंसिर यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केही घण्टाअघिसम्म पर्सा क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार जनताको घरदैलोमा व्यस्त छन् ।
चुनावी प्रचारसँगै जनताको समस्या र आकांक्षा बुझ्ने अभियानलाई अघि बढाएका रौनियारले घरदैलोमा भोटमात्र मागेनन् । आफ्नो क्षेत्रका बासिन्दाले भोग्दै आएको समस्या र अविकासका कारणहरु पनि खोतल्ने प्रयास गरेका छन् । उनले जनताको दैलोदैलो र खेत खलिहानमा पुगेर स्थानीयका मनमा रहेका पिरमर्का बुझ्ने काम गरेका छन् ।
पर्सा जिल्लाबाट विगतमा पटकपटक चुनाव जितेर गएका कांग्रेस र एमालेका नेताहरुले जनतालाई आश्वासनमात्र दिएको तर पूरा भने कहिल्यै नगरेका कारण यो क्षेत्रका बासिन्दा विकासका समग्र अवस्थामा पछि परेको बुझाइ उनको छ । स्थानीय जनताले मधेसको अधिकार र विकासका लागि मधेसी गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर जिताउने विश्वास रौनियारको छ ।
सोमबार पर्साको बहुदरामाई वडा नम्बर ७ मा भएको घरदैलोमा रौनियारसँगै प्रदेशसभाका उम्मेदवार प्रह्लाद गिरी, नेताहरु पन्नालाल साह, राजपा नेपालका महासचिव शिव पटेललगायतको सहभागिता थियो ।