म चुनाव जित्छु–जित्छु, कसरत त बढी मतअन्तरले जित्नका लागि भइरहेको छ : हरिनारायण रौनियार

मेरो चुनावी क्षेत्रका प्रतिस्पर्धीहरुले आधारहीन कुरालाई उछाल्न खोजिरहेका छन् । उनीहरुसँग आफ्ना एजेण्डा नै छैनन् । यो हरुवा गोरुको छेरुवा दाउ भनेजस्तै हो

796
Wedding Day



पर्सा क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिनारायण रौनियार सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य पनि हुन् । निर्माण व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका रौनियार व्यवसायको अनुभव र दक्षतालाई पर्सा जिल्लाको विकासमा रुपान्तरण गर्ने बताउँछन् । संविधान संशोधनमार्फत मधेस अधिकारको पूर्णता र आफ्नो क्षेत्रको सापेक्ष विकासलाई चुनावी एजेण्डा बनाएर मतदाताको घरदैलोमा व्यस्त रौनियारसँग चुनावी रस्साकस्सी र समसामयिक सरोकारमा केन्द्रित भएर गरिएको कुराकानीको सारसंक्षेप ः

निर्माण व्यवसायमा नाम र दाम दुवै कमाइरहेको व्यक्ति अचानक राजनीतिमा किन आउनुभयो ?

म राजनीतिमा अचानक आएको होइन । राजनीतिमा प्रत्यक्ष÷परोक्षरुपमा सहभागी भइएकै हो । व्यवसाय आफ्नो लागि गरियो । व्यवसायले समाज र देशका विविध पक्षबारेमा जानकार गरायो । राज्य सञ्चालकहरुले मधेस र पिछडिएका वर्गमाथि गरेको थिचोमिचोका बारेमा थाहा भयो । विभेदको भुक्तभोगी पनि भइयो । यही विभेद समाधान, आफ्नो समाज र देशको विकास र समृद्धिका लागि राजनीतिमा आउनु परेको हो । अब म ३५ वर्षसम्मको निर्माण व्यवसायबाट अलग भएर त्यो अनुभवलाई विकासमा रुपान्तरण गर्नका लागि पूर्णकालीन राजनीतिमा आएको छु ।

भन्न त सबैले राजनीति देश र जनताका लागि नै गरेको भन्छन्, तर त्यसको अनुभूति जनताले गर्न पाएको छैन । तपाईंलाई कसरी पत्याउने?

यो अत्यन्तै राम्रो र सान्दर्भिक प्रश्न छ । अहिलेसम्मको राजनीतिले जनतालाई केन्द्रमा राख्न सकेन । पञ्चायत, बहुदल, अहिलेको लोकतान्त्रिक गणतन्त्र सबैमा पात्रमात्र फेरिए । तर, सत्ता सञ्चालकहरुको प्रवृत्ति फेरिएन । संविधानसभाबाट संविधान जारी भयो । तर, मधेसका ५२ प्रतिशत जनताको भावनालाई पाखा पार्ने काम भयो । वास्तवमा हामीले राजनेता पाउन सकेनौं । नेताहरु देश बनाउन होइन, धन कमाउन लागे । अहिलेका ठूला दल भनिएका कांग्रेस, एमाले र माओवादीले जनतालाई धोका दिने कामात्रै गरे । यही अभावको पूर्ति गर्न व्यवसायीहरु राजनीतिमा आउनु परेको हो । अब जनताको नाममा जनतालाई ठग्ने दिन गए । जनताको नाममा आफ्नो स्वार्थको दूनो सोझ्याउन खोज्नेहरु स्वतः बाढारिन्छन् । हेर्दै जानुहोला, यसपटकको चुनावले नै यो प्रमाणित गरिदिन्छ ।

संविधान त ९० प्रतिशत मतले बनाएको हो नि, होइन र ?
९० प्रतिशतको कुरा गणितीयमात्र हो । मूल कुरा यसले सबै वर्ग, समुदाय, भूगोल जातजाति, धर्म, संस्कृतिमा आवद्ध जनताको भावनालाई समेट्न सक्यो कि सकेन भन्ने हुनु पर्दछ । ९० प्रतिशतले बनाएको संविधान जारी हुनेबित्तिकै संशोधन गर्नुपर्ने अवस्था किन आयो ? त्यत्रो आन्दोलनको अवस्था किन भयो ? त्यसबेला संविधान निर्माणको नेतृत्व गर्ने कांग्रेस अहिले पनि संशोधनलाई चुनावको मुद्दा किन बनाइरहेको छ ? यस्ता कारणहरुले आफैं स्पष्ट पारेको छ नि, यो संविधान पूर्ण छैन भनेर । वास्तवमा ती दलहरुले मधेसप्रति बद्नियत राखेकाले यस्तो भएको हो । अहिले पनि मधेसी जनतालाई धोका दिन अनेक तिकडम गरिरहेका छन् । जनताले त्यस्तो आचरणको पहिचान गर्नु पर्छ, गर्ने छन् । धोकेबाजहरुलाई जवाफ दिने उपयुक्त बेला चुनाव नै हो ।

संविधान पूर्ण छैन भने त्यसको विरोधमा भएको आन्दोलनलाई त्यसै अलपत्र छोडेर त्यही संविधानअन्तर्गतको चुनावमा तपाईहरु किन आउनुभयो ?
आन्दोलन छोडिएको होइन, स्वरुपमात्र फेरिएको हो । कहि पनि आन्दोलन निरन्तर एकै खालको हुँदैन । र, आन्दोलनको बलमा केही भएकै छैन भन्ने होइन । केही भएका छन्, धेरै हुन बाँकी छन् । यो चुनावमा सहभागिता पनि आन्दोलनकै परिवर्तित स्वरुप हो । सधैं बन्दहड्ताल गरेरमात्र हुँदैन, अब ब्यालेटको बलमा सदनबाटै संविधान संशोधनमार्फत मधेस र मधेसीका अधिकारका अपूरा कामहरु फत्ते गर्नका लागि हामी निर्वाचनको मैदानमा उत्रिएका हौं ।

भनेपछि अब सडक आन्दोलन हुँदैन भन्नेमा जनता ढुक्क भए हुन्छ ?
मैले अघि नै भनें, आन्दोलनको स्वरुपमात्र फेरिएको हो । हामी आन्दोलनमै छौं । फेरि पनि हामीलाई सरकारले सुन्दैन र बहुमतको बलमा पेल्न खोजिन्छ भने पुनः सडकमा आउनु हाम्रो बाध्यता हुन जान्छ । अधिकारका लागि क्रान्ति निरन्तर चलिरहने कुरा हो । विश्वको राजनीति हेर्नोस, यस्तै भएको छ ।

पर्सा ३ मा तपाईको उम्मेदवारी केका लागि ?

संविधान संशोधनमार्फत मधेसीको अधिकार स्थापित गर्न र विकासमा पिछडिएको पर्साको मुहार फेर्नु नै मेरो राजनीतिको प्राथमिक उद्देश्य हो । बहुदल आएपछिको समयलाई मात्र हेर्ने हो भने विगतमा यहाँबाट पटपटक चुनाव जितेर गएका कांग्रेस र एमालेका सांसदले विकासमा सिन्को भाँचेनन् । यहाँबाट जितेर मन्त्री पनि भए । उनीहरुको व्यक्तिगत हैसियत उकासियो, तर जिल्लाको विकास झन पछाडि प¥यो । बेरोजगारी, अशिक्षा, स्वास्थ्यको दुरावस्था, गरिबी, कृषिको दयनीय अवस्था, बाटोघाटो कुनै पनि क्षेत्रमा सुधार ल्याउने प्रयास नै भएन । यस्ता नमूना बेथितिहरुको निकासका लागि मेरो उम्मेदवारी हो ।

तपाईंबाट यी काम हुन्छन् नै भन्ने आधार चाहिँ के छन् ?
विगत २५ वर्षमा नभएको काम म ५ वर्षमा गरेर देखाउँछु । नगर र ग्रामीणक्षेत्रमा सडक विस्तार, कम्तीमा १० ओटा छात्रा स्कुल, शिक्षा र स्वास्थ्यको समुचित प्रबन्ध, पोखरिया क्षेत्रमा उद्योग र व्यापारको विस्तारमार्फत कम्तीमा १० हजारलाई रोजगारी, कृषि बजारको प्रबन्ध, विद्युत्को व्यवस्थित प्रबन्ध, पिछडिएका वर्ग समुदायको स्तरोन्नतिका लागि विशेष व्यवस्थालगायत मेरो प्राथमिक विकासका एजेण्डाहरु हुन् । जुन अहिलेसम्मको राजनीतिले गर्न सकेन । यहाँबाट जितेर गए, झण्डामात्र हल्लाए । झण्डा हल्लाएरमात्र विकास हुँदैन । त्यसका लागि त इच्छाशक्ति र व्यवस्थापकीय इमानदारी चाहिन्छ । यसमा म सक्षम र प्रतिवद्ध दुवै छु ।

यो सबै गर्नका लागि त तपाईंले पहिला आसन्न चुनाव जित्नु प¥यो नि, जीतका आधारहरु के छन् ?
मधेसको अधिकार र विकासका लागि मधेसवादीको विकल्प अरु हुन सक्दैन भन्ने कुरा मधेसी जनताले बुझिसकेको छ । मैले अघि पनि भने यहाँबाट पटकपटक जितेर गएका कांग्रेस र एमालेले के गरे ? त्यो पनि यहाँको जनताले हेरिसकेको छ । जनता अधिकार र विकास चाहान्छन् । त्यसका लागि मधेसी गठबन्धनको जीत आवश्यक छ भन्नेमा जनता स्पष्ट छन् । नेपाली कांग्रेस र एमालेभित्र व्यापक असन्तुष्टि छ । कांग्रेसभित्र नयाँ युवाहरुलाई अघि बढ्न नदिने प्रवृत्तिविरुद्ध भित्रभित्रै चर्को असन्तुष्टि छ । कांग्रेस नै कांग्रेसलाई हराउन लागिरहेका छन् । कांग्रेसभित्रै कांग्रेस सफाई अभियान चलेको छ । कांग्रेसले आफूलाई मधेसका पक्षमा देखाउन खोजे पनि कांग्रेस, एमाले र माओवादी मिलेर मधेसीमाथि लादेको अंकगणितको खेल र अधिकार आन्दोलनमा गरेको निर्मम दमन मधेसी जनताले बिर्सेका छ्रैनन् । उनीहरुको मधेसविरोधी छवि कसैबाट लुकेको छैन । हालै एउटा मिडियाको स्वतन्त्र सर्वेक्षण पनि आएको थियो । त्यसले पनि हामीलाई अगाडि देखाएको छ । यसै पनि म जितिरहेका छौं । मधेसको अधिकार र विकासको बाधकलाई जनताले राम्ररी चिनिसकेका छन् । अब कसरी बढीभन्दा बढी मतअन्तरले जित्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

त्यसो त फोरम नेपाल र राजपा नेपालबीचको तालमेलभित्रै असन्तुष्टि राख्नेहरुको पनि त कमी छैन, यसरी तपाईंको जीत निश्चित हुन सक्छ ?
यो गठबन्धनप्रति कसैको असहमति छैन । यो विपक्षीहरुले चलाएको हल्लामात्रै हो । गठबन्धन सौहाद्र्रपूर्ण छ । यो मधेसी जनताको भावनाअनुसार भएकाले जनता उत्साहित छन् । यो अधिकार आन्दोलन र क्रान्तिबाट आएको पार्टी हो । यहाँ सबैको आत्मसम्मान र सहअस्तित्वमा आधाररित सुमधुर सहकार्य छ । यसले जीतको आधार अझ बलियो भएर गएको छ ।

तपाईं संस्थापक रहनुभएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनमाथि विकास निर्माणका काममा लापरवाही र अनेक बखेडा गर्ने गरेको आरोप लाग्ने गरेको छ । तपाई विकासको कुरा गरिरहनुभएको छ, कसरी पत्याउनु ?

आरोपमा कत्ति पनि सत्यता छैन । विल्कुलै गलत कुरा हो । पर्सा जिल्लामै मैले १४ ओटा पुल बनाएको छु, कहिँ पनि अधुरो छैन । कतैकतै केही टेक्निकल समस्या छ । यही तिलावे पुलको सम्झौता १ वर्षअघि भएको हो । तर, काम गर्ने आदेश यही साउन २४ गतेमात्रै भयो । डेढ वर्षअघि मन्त्रीजी आएर शिलान्यास गरेर पुल बन्यो त भनिदिनुभयो, तर काम गर्ने आदेश ४ महीनाअघि पाएको छ । त्यो पनि बर्खाको बेलामा । काम गर्न जाँदा दुईतिर नम्बरी जग्गा छ । जग्गा अधिग्रहण भएको छैन । जनताहरुले काम गर्न दिइरहेको छैन । पुल बनाउने स्थानमाथि विद्युत्को हाइटेन्सन लाइन छ । त्यो नहटी कामै हुँदैन । यस्ता अवरोध बाटो र पुल बनाउने ठाउँमा प्रशस्तै छन् । हम्रो कम्पनी पुलमा बढी एक्पर्ट भएको हुनाले अहिलेसम्म हामीले ४० ओटाभन्दा बढी पुल बनाइसकेका छौं । २÷४ ओटा पुलको बारेमा जुन इस्यु आइरहेको छ, त्यो मेरो कारणले होइन । बजेटको कारणले हो । उदाहरणका लागि सिरहामा ३० करोडको कन्काइ–कमला पुल छ । तर, बजेट वर्षमा २÷३ करोडभन्दा बढी हुँदैन । रातो किताब पल्टाएर हेर्नुहोस्, आज पनि ३ करोड छ । ३ वर्षमा पुल बनाउने भन्दिन्छ । अब बजेटका हिसाबले त त्यो १० वर्ष लाग्छ । जनतालाई त छिटो विकास चाहिन्छ नि । अनि ठेकेदारले काम गरिदिएन भन्छ । हामी आलोचनाका पात्र बन्छौं । कतिपय ठाउँमा हामी एक्लैको कारणले हुँदैन । भर्खरै एउटा घटना भएको थियो, जो मिडियामा घरिघरि आउने गरेको छ । सरकारले बबइजस्तो नदीको पुलमा पाइल फाउण्डेसन राखिदिएको थियो । त्यो पनि १५ मीटरको गहिराइमा । हामीले दक्ष प्राविधिक कम्पनीसँग रिडिजाइन गराएर पेश पनि ग¥यौं । ठेकेदारलाई सरकारी डिजाइन मन परेन भने रिडिजाइनको व्यवस्था ठेक्का सम्झौतामै हुन्छ । यो पाइल डिजाइन हुँदैन, क्युवासेस हुनु पर्छ, फाउण्डेशनको गहिराई बढाउनु पर्छ र पुलको हाइट बढाउनु पर्छ भनेर २०६८ सालमा रिडजाइन पेश ग¥यौं । तर, सडक विभागका तत्कालिन अधिकारीहरुले त्यो डिजाइनमा पुल महँगो हुन जान्छ भने । हाम्रो कुरा मानेनन् । यो सरकारी कमजोरीका कारण भएको हो । सत्यतथ्य नबुझी अनावश्यक इस्यु बनाउने काम भइरहेको छ । अहिले मेरो चुनावी क्षेत्रका मेरा प्रतिस्पर्धीहरुले पनि यस्तै आधारहीन कुरालाई उछाल्न खोज्दैछन् । उनीहरुसँग आफ्ना एजेण्डा नै छैनन् । यो हरुवा गोरुको छेरुवा दाउ भनेजस्तै हो ।