वीरगंजका हाेटलमा चिनियाँ नागरिक, बाम गठबन्धनकाे चुनावी रणनीति र अार्थिक गतिविधि सम्हाल्दै

5132



वीरगन्ज १३ मंसिर वीरगंजका ठुला होटलहरुमा अहिले चिनियाँ नागरिकको चहल पहल छ । अन्य समयमा आन्तरिक ग्राहक सम्म पाउन मुस्किल पर्ने यहाँका होटलहरुमा अहिले चिनियाँहरुको उपस्थिति देखिएको हो ।

यस अघि सम्म वीरगंजमा चिनियाँ नागरिकहरु नगन्य रुपमा पुग्ने गरेको होटल व्यवसायीहरुको अनुभव छ । तर अहिले चिनियाँ नागरिकहरुको उपस्थितिले आफुहरु चकित बनेको उनिहरु बताउँछन् । वीरगंजको भिषुवा होटल, मकालु होटल, पुजन होटल लगायत नाम चलेका होटमा चिनियाँ नागरिकहरु बसेका छन् ।

उनीहरु कुनै भ्रमणका लागि भने त्याहाँ पुगेका होइनन् रहेछ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि कम्युनिष्ट गठबन्धनलाई जिताउन भन्दै प्रचार प्रसार र आर्थिक सहायता पुर्याउन चिनियाँ नागरिकहरु वीरगंज आएको गठबन्धनका एक नेताले बताए ।

गत नोभेम्वर ८ तारिकका दिनबाट उनिहरु वीरगंजका नाम चलेका होटलमा बसेर प्रचार प्रसार र चुनावी रणनीति बनाउन तल्लिन रहेको ती नेताको भनाइ छ ।

नोभेम्वर ८ तारिकका दिन वीरगंजमा नाम चलेको भिषुवा, मकालु, पुजन लगायतको होटलमा मनाङको पिसाङ निवासी कुर्मी गुरुङको नामबाट कोठा बुक गराएर चिनियाँ नागरिक राखेको भेटिएको हो ।

त्याहाँ पुगेका चिनियाँ नागरिकहरुसंग एमाले र माओबादीका उम्मेद्वारहरु बसेर चुनावी रणनीति तयार पार्ने, फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा प्रचार प्रसार व्यापक बनाउने जस्ता कार्य गरिरहेका छन् ।

चिनियाँहरुको काम विशेषगरेर कम्युनिष्ट गठबन्धनका व्यक्तिहरुको सहयोगमा हरेक वडा र टोलको डाटा संकलन गर्ने, असहमति जनाएका स्थानीयलाई प्रलोभनमा पार्ने र जसरी पनि कम्युनिष्ट गठबन्धनलाई जिताउन प्रयास गर्ने गरेको भेटिएको हो ।

यसैबीच वीरगंजमा कम्युनिष्ट गठबन्धनलाई जिताउन भन्दै चिनियाँ नागरिक नै परिचालित भएको घटनाप्रति सक्रिय मधेसी समाजले विरोध जनाएको छ ।

मधेस विरोधी एमाले र त्यसैसंगको कम्युनिष्ट गठबन्धनलाई जिताउन विदेशी नागरिक प्रयोग हुनु गम्भिर र आपत्तिजनक हो समाजका अध्यक्ष छोटेलाल सहनिद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । यसले कम्युनिष्ट गठबन्धन कहाँबाट परिचालित छ भन्ने कुरो छर्लङ्ग पारिदिएको छ ।

चुनावमा विदेशी खर्च, र नागरिक नै प्रयोग गर्नु लोकतन्त्र र राष्ट्रियता माथी गम्भिर प्रहार भएको भन्दै यसको विरोधमा उत्रन सबै मधेसी जनतामा अपिल समेत गरेको छ ।

 

श्रोत : www.sajhasamachar.com