तीन पटक समय थप्दा पनि पूरा भएन वीरगञ्जको मझौला शहर आयोजना

1154



विरगंज,१२ मंसिर एशियाली विकास बैङ्क (एडीबी)को मुख्य लगानीमा वीरगञ्जमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना (एसटीआईयूईआईपी)को काम ३ पटक समय थप्दासमेत पूरा नहुँदा नगरवासी सास्ती भोग्न बाध्य भएका छन् । २५ महीनामा काम सक्ने शर्तमा २०७१ वैशाखमा चिनियाँ कम्पनी सीटीसीई÷कालिका जेभीले परियोजनाको ठेक्का लिएको थियो ।

एडीबीको ८१, नगर विकास कोषको ११ र वीरगञ्ज महानगरपालिकाको ८ प्रतिशत समपूरक साझेदारीमा सो परियोजना शुरू भएको हो । परियोजनाअन्तर्गत रू. ३ अर्बको लागतमा ढल निकास, फोहोर व्यवस्थापन र सडक विस्तारको योजना अघि बढाइएकोमा पटकपटक समय थप्दा पनि पूरा हुन सकेको छैन । पछिल्लोपटक मङ्सिर १० सम्मका लागि समय दिइएको थियो ।

महानगरको परियोजना कार्यान्वयन एकाइका प्रबन्धक शैलेन्द्र श्रेष्ठले परियोजनाको १५ प्रतिशत काम अझै बाँकी रहेको बताए । ‘तोकिएको समयसीमाभित्र ठेकेदारले काम पूरा गर्न सकेन । अब के गर्ने भन्ने टुङ्गो लागिसकेको छैन,’ उनले आर्थिक अभियानसित भने ।

तोकिएको समयमा ठेकेदारले परियोजना पूरा नगरेपछि एडीबीले परामर्शदातासँग परामर्श गरिरहेको छ । एडीबीको वीरगञ्ज परामर्श कार्यालयका प्रमुख नागेन्द्र झाले ठेकेदार कम्पनीले महानगरले समयमै काम गर्ने स्थान नदिएको र भुक्तानीसमेत बक्यौता राखेकाले काम प्रभावित भएको भन्दै फेरि ठेक्का अवधि थप्न दबाब दिइरहेको बताए । ‘ठेकेदारले थप समय मागेको छ । उसको माग उचित छ कि छैन भन्नेबारेमा प्राविधिक अध्ययन भइरहेको छ,’ प्रमुख झाले भने ।

आफैले नियुक्त गरेको परामर्शदाताको सिफारिशका आधारमा एडीबीले ठेकेदारलाई यसअघि नै १८ महीना समय दिइसकेको छ । २०७२ मा भएको मधेश आन्दोलन, नाकाबन्दी र निर्माण सामग्रीको अभावलाई कारण देखाएर पहिलोपटक १० महीना थपिएको थियो । त्यसपछि क्रमशः ५ महीना र ३ महीना दिइएको थियो ।

वीरगञ्ज महानगरका नवनिर्वाचित प्रमुख विजयकुमार सरावगीले परियोजना कार्यान्वयन, परामर्शदाता र ठेकेदार कम्पनीका प्रतिनिधिलाई मङ्सिर १० भित्रै काम सक्न निर्देशन दिएका थिए । प्रमुखले निर्देशन दिए पनि ८ करोड रुपैयाँ भुक्तानी नदिएको र काम भइरहेको क्षेत्रमा स्थान दिन नसक्दा कामले गति नलिएको ठेकेदारको दाबी छ । कम्पनीका वरिष्ठ प्रबन्धक ठाकुर ढकालले महानगरको कमजोरीलाई कारण देखाउँदै ठेक्काको समय थप्नुपर्ने लिखित आग्रह गरेको परामर्शदाताले बताए ।

परियोजना कार्यान्वयन एकाइले ढल निर्माण, सडक मर्मत र स्युरेज (शौचालय र स्नानघरबाट निस्किएको पानी प्रशोधन एकाइसम्म पुर्‍याउन भूमिगत नाला) निर्माणलगायत काम बाँकी रहेको बताएको छ । साढे ४ किलोमिटर स्युरेजको रुटमा श्रीपुर र आदर्शनगरमा खानेपानीको पाइप परेकाले काम रोकिएको श्रेष्ठले बताए ।

योजनाले क्षतिग्रस्त हुने खानेपानीको संरचना निर्माणका लागि जिल्ला खानेपानी कार्यालयले ३ करोड ८६ लाख रुपैयाँ माग गरी रकम नदिए आफ्नो संरचना चलाउन नदिने अडान लिएको श्रेष्ठले बताए । महानगरले यसबारेमा मुख्य दाता एडीबीसँग परामर्श गरिहेको उनको भनाइ छ ।

मुख्य ढल बनाउँदा बिग्रिएको ११ किलोमीटरमध्ये २ किलोमिटर सडक मर्मत पनि बाँकी छ । ठेकेदारलाई १ वर्षको मर्मतसंहार अवधिभित्र पूरा गर्ने शर्तमा काम अघि बढाउन दिने कि समय थप्ने भन्नेमा दाता, परामर्शदाता र महानगर द्विविधामा देखिएका छन् ।