×

बीरगंज, मंसिर ९ मधेस आन्दोलनमा शहिद एवं घाईते भएकाहरुको बलिदानी खेर नजाने बीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताए । मधेस अधिकार सम्पन्न भए मात्र शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखेका थिए ।

प्रेस मञ्च नेपाल पर्सा शाखाले आयोजना गरेको मधेस आन्दोलनका शहिद एवं घाईतेहरुको सम्मान कार्यक्रममा बोल्दै मेयर सरावगीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा मधेसी गठबन्धनलाई मतदान गरे मात्र मधेसको अधिकार स्थापित हुने कुरामा जोड दिएका थिए ।

समाजसेवी ज्योतिलाल कलवारले आफनो तर्फबाट आर्थिक सहयोग मार्फत तेश्रो मधेस आन्दोलनको क्रममा बारा र पर्सा जिल्लामा शहिद भएका आठ जना र गंभिर घाइते ५ जनालाई नगद ५१०० को दरले, दोसल्ला, घर परिवारका लागि १ सेट साडी र मालाबाट सामुहिक रुपमा प्रमुख अतिथि मेयर सरावगी, विशिष्ठ अतिथि पूर्व राज्यमन्त्री करिमा बेगम र समाजसेवी ज्योतिलाल कलवारले सम्मान गरेका थिए ।

सम्मानित हुनेमा शहिद शत्रुधन पटेलकी आमा कुसुमी देवी, धर्मराज सिंहको बुवा प्रभ्ु सिंह, दिलिप चौरसियाका दाई पृथ्वी चौरसिया, भोला साहका बुवा कुञ्ज विहारी साह, चन्दन पटेलको अवधेस पटेल, सोहन साह कल्वारकी श्रीमति विनिता देवी, दिनानाथ साहकी श्रीमति सोनी देवी, हिफाजत मियाकी श्रीमति सबिना खातुन र गंभिर घाईतेहरु मुंशी पटेल, पन्नालाल यादव, उपेन्द्र यादव, सन्तलाल यादव, उज्जवल तिवारीलाई सम्मान गरिएको थियो ।

बीरगंज श्रीपुर स्थित होटल विजय ज्योतिमा सम्पन्न सम्मान कार्यक्रममा प्रेस मञ्चका केन्द्रिय अध्यक्ष सन्तोष पटेल, हिन्दु परिषद नेपालका संयोजक पूरुषोत्तम दुबे, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद, फोरम नेपाल पर्साका सचिव नागेन्द्र यादव, युवा नेता धर्मेन्द्र पटेल, मुर्ली सामुदायिकका पुर्व अध्यक्ष सुरेश साह कानुको सहभागिता रहेको कार्यक्रम प्रेस मञ्च पर्सा शाखाका सचिव दिपक चौरसियाको सभापतित्वमा सम्पन्न भएको थियो ।
Back to top