×

वीरगञ्ज ५ मंसिर एमाले पर्साका प्रभावशाली नेता, निवर्तमान सांसद एवम् प्रदेशसभा उम्मेदवार रामचन्द्र साहको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित घरमा बम विष्फोट भएको छ ।

बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका संसदको घरको पूर्वपट्टी झ्यालको तल बम विष्फोट भएको हो । रानीघाटमा कुमारीमाई मन्दिर भन्दा पछाडि साहको घर छ ।

विष्फोटबाट ठूलो आवाज आएको स्थानीय बासिन्दाले बताएका छन् । विष्फोटको आवाज आएपछि स्थानीय आतंकित छन् । निवर्तमान संासद घर बाहिर रहेको समयमा साँझ सवा ७ बजेतिर विष्फोट भएको हो ।

सुतली बम विष्फोट भएको आशंका गरिएको छ । घरमा छोरा, बुहारी, नाति नातिनीहरु मात्रै रहेको समयमा विष्फोट भएको निवर्तमान सांसद साहले बताए ।

‘म त घर बाहिरै थिएँ, विष्फोटको आवाज आएको परिवारले बताएपछि घर आएँ, पड्केको ठाउँमा प्लाष्टिकको टुक्रा भेटिएको छ ।’ प्रदेस सभा सदस्यका उम्मेदवार साहले भने ‘झ्याल नजिकै भएको विष्फोटबाट घरको झ्यालको सिसा फुटेको छ, घरमा रहका छोरा बुहारी, नाति नातिनीहरु आत्तिएका छन् । ‘

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले के पड्क्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘विष्फोट भएको छ, मानवीय क्षति भएको छैन् । घरको झ्यालका शिशा फुटेका छन् ।’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने ‘ प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’

Back to top