×

वीरगंज २७ कात्तिक पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले घूस माग्ने कर्मचारीलाई थप्पड हान्न निर्देशन दिएका छन् ।

मालपोत कार्यालय, पर्साको आज अनुगमनको क्रममा सेवाग्राहीले कर्मचारीहरूबाट ढिलासुस्ती हुने र घूस माग्ने गुनासो सुनेपछि उनले सार्वजनिक रूपमा सो निर्देशन दिएका हुन् । मालपोत कार्यालय चौरमा सेवाग्रही, लेखनदास, कर्मचारीहरूबीच प्रजिअ सिंहले घूस माग्ने कर्मचारीलाई शुरुमा दुई थप्पड हान्न निर्देशन गरे । उनले भने– “कसैले पनि घूस माग्छ भने दुई थप्पड हान्नूस्, त्यसपछि बाँकी कुरा म हेर्छु ।”

सेवाग्राहीले मालपोत कार्यालयमा अनलाइन सेवा शुरु भएपछि खासगरी कम्प्युटर शाखामा रु दुई–तीन सय घूस माग्ने गरेको गुनासो गरेका थिए । उनीहरूले अनलाइन सेवा शुरु भएपछि काममा पनि ढिलाइ भइरहेको र सानो कामको लागि दिनभरि लगाउने गरेको गुनासो गरेका थिए ।

Back to top