×

काठमाडौँ, कार्तिक १३ - फोर्ब्सको अर्वपतिहरुको सुचीमा पर्ने एक मात्र नेपाली नागरिक उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसले अर्वपति चौधरीको नाम समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाए पछि एमालेमा रुवावासी सुरु भएको छ ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई समानुपातिक सभासद बनाएको थियो । २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो । तर, उम्मेद्वारी भने दिएनन् । एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी ओली पावरमा आएसँगै ‘कर्नरिङ’मा परेका थिए । ओलीले उपेक्षा गरेपछि उनी एमालेबाट क्रमशः टाढा हुँदै गएका थिए । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेतासँग पनि सुरुदेखि नै निकट सम्बन्ध थियो ।

अहिले चौधरीलाई आफ्नो दलमा ल्याउने कांग्रेस महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए । कोइरालाको निर्वाचन क्षेत्र नवलपुर १० मा चौधरीको उद्योग ग्राम रहेको छ ।

कोइरालासहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाँडलगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको स्रोतले जानकारी दियो। चौधरी आफ्नो दलमा प्रवेश गरेको बारे कांग्रेसले सोमबार दिउँसो विज्ञप्ती जारी गर्ने स्रोतले बताएको छ ।

चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एक मात्र नेपाली व्यवसायी हुन् । फोर्ब्सका अनुसार उनको अहिलेको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर (एक खर्ब ३५ अर्ब रुपैयाँ हाराहारी) रहेको छ ।

टाटा समूहको सहकार्यमा उनले एसिया, अमेरिका, अफ्रिका लगायत विभिन्न मुलुकमा होटल सञ्जाल विस्तार गरेका छन्। त्यसबाहेक वाइवाइ चाउचाउलाई पनि विश्वभर फैलाउने मिसन लिएका छन् । भारतका विभिन्न राज्यमा वाइवाइको उद्योग स्थापना गरिसकेका चौधरीले केही समयअघि युरोपमा समेत प्लान्ट स्थापना गरेका छन् ।

Back to top