×

वीरगञ्ज ३१ असाेज मुख्य नाका वीरगञ्जबाट यस वर्ष सयपत्री पूmलको मालाको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मालाको आयातमा कमी आएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ को असोज २९ गतेसम्म यो नाकाबाट सयपत्री पूmलको १ लाख १४ हजार ६ सयओटा माला आयात भएको थियो । तर, चालू आव २०७४/७५ को समीक्षा अवधिमा यो सङ्ख्या ७३ हजार ८ सयमा झरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले बताए ।

गत आवको तुलनामा यो वर्ष फूलको आन्तरिक उत्पादन बढेकाले मालाको आयात घटेको सरोकारवालाको भनाइ छ । वर्षेनि मालाको माग बढ्ने भए पनि आयात घट्नुले स्वदेशमा फूलको उत्पादन बढी भएको उनीहरूको भनाइ छ । प्रत्येक वर्ष तिहारका बेला भारतबाट सयपत्री फूलको माला आयात हुँदै आएको छ ।

३ लाख किलो काजु

अन्य समयभन्दा चाडपर्वका बेला अधिक खपत हुने ड्राई फ्रुट्सको आयात भने उल्लेख्य बढेको छ । स्वदेशमा उत्पादन नहुने यस्ता वस्तुको आयात भने निरन्तर उकालो लागेको तथ्याङ्क वीरगञ्ज भन्सारसित छ ।

भन्सार कार्यालयका अनुसार यो वर्ष काजु, बदाम, आलमण्ड, ओखर, पिस्ता, सुपारी, दालचिनीलगायत ड्राई फ्रुट्सको आयात बढेको छ । गतवर्ष असोज २९ सम्ममा २ लाख १५ हजार किलो काजु आयात भएकोमा यो वर्षको समीक्षा अवधिमा ३ लाख ३ हजार किलो भित्रिएको छ । अघिल्लो वर्ष ५७ हजार किलो बदाम आएकोमा यस वर्ष यो परिमाण ह्वात्तै बढेर २ लाख १७ हजार किलो पुगेको छ ।

वीरगञ्ज नाकाबाट पोहोर १ लाख ४ हजार किलो ओखर आएकोमा अहिले यो १ लाख ६४ हजार किलो पुगिसकेको छ । करीब ९ सय किलो पिस्ताको आयात अहिले बढेर ८ हजार किलोमा पुगेको तथ्याङ्क भन्सारसित छ । यो वर्ष यो नाकाबाट नरिवल, खजुर, किसमिस, ल्वाङ र सुकमेलको आयातमा भने कमी आएको देखिएको छ ।

Back to top