मुख्य नाका वीरगञ्ज : पारवहनमा अवरोधै अवरोध

844




वीरगञ्ज २७ असाेज वैदेशिक व्यापारको परिमाणका दृष्टिले मुलुककै सबैभन्दा ठूलो वीरगञ्ज नाकाबाट हुने आयातनिर्यातमा अनेक अवरोध देखिन थालेको छ । पारवहनमा असहजता यो नाकाको मुख्य समस्या बनेको छ । सडक तथा रेलमार्गबाट हुने ढुवानीमा देखिएको अस्तव्यस्तताले व्यापार र अधिकांश औद्योगिक प्रतिष्ठान प्रभावित छन् ।

वर्षेनि बढ्दो व्यापारको तुलनामा ढुवानी र सरोकारका पूर्वाधारको स्तरोन्नति हुन नसक्दा आयातनिर्यात र उद्योगधन्दा समस्याग्रस्त बनेको उद्योगी व्यवसायीको गुनासो नयाँ होइन । तेस्रो मुलुकबाट हुने व्यापारमा भारतको कोलकाता बन्दरगाहबाटै समस्याको शुरुआत हुन्छ । समुद्रीमार्ग हुँदै कोलकाता आइपुगेको र भारतका विभिन्न स्थानबाट ल्याइने मालसामान गन्तव्यसम्म पुर्‍याउन आयातकर्तालाई निकै कठिनाइ भोग्नु परिरहेको छ ।

कोलकाताबाट रेलवे सम्पर्क जोडिएको र नजीकको नाका भएकाले वैदेशिक व्यापारको बढी परिमाण वीरगञ्जमै केन्द्रित छ । तर, व्यापारको तुलनामा अत्यावश्यकीय पूर्वाधार विस्तार हुन सकेको छैन । प्रस्तावित र निर्माणाधीन पूर्वाधारको सञ्चालनमा देखिएको अनपेक्षित विलम्बले निकाससमेत टाढिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवाल वर्षैपिच्छे उद्योग व्यापार बढे पनि सरकारले आवश्यकीय ढुवानीका निम्ति भौतिक र प्रशासनिक पूर्वाधार चुस्त तुल्याउन नसक्दा अहिलेको समस्या झेल्नु परेको बताउँछन् । चालू वर्षको शुरूदेखि नै आयातनिर्यातमा विभिन्न समस्या सामना गर्नुपरेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समयमा पारवहन अति नै समस्याग्रस्त बन्न पुगेको उपाध्यक्ष अग्रवालले बताए । ‘उद्योग व्यापारको पहिलो आवश्यकता नै पारवहन हो । यसको व्यवस्थापन अस्तव्यस्त हुँदा विदेशबाट मालसामान भिœयाउनै कठिन भएको छ,’ उनले आर्थिक अभियानसित भने । समयमा कच्चा पदार्थ आपूर्ति गर्न नसक्दा कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको उनको गुनासो छ ।

रोकियो रेल, बढ्यो जरीवाना
भारतीय रेलवेले रक्सौलमा आउने र्‍याक रोकेर अनलोडमा लिँदै आएको जरीवाना अत्यधिक बढाएको छ ।

रेलवले बिहीवार साँझ ६ बजेदेख लागू हुने गरी जरीवाना ४ गुणासम्म बढाएको हो । रेलवेको मध्यपूर्वी कार्यालय समस्तीपुरले रक्सौल गोदाममा जाम बढेको भन्दै जरीवाना बढाउन रक्सौल रेल प्रशासनलाई पत्राचार गरेको छ । रेलवे बोर्डले रक्सौलमा सोमवारसम्मका लागि र्‍याकको आपूर्तिमा समेत रोक लगाएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहका लागि लगाइएको रोक भने बुधवारदेखि फिर्ता भएको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका अधिकृत अनिमेष कुमारले आर्थिक अभियानलाई बताए ।

रक्सौल गोदाममा रेलवेले मालसामान अनलोड गर्न तोकिएको समयभन्दा ३ घण्टासम्म ढिला भएमा सामान्य दर, १२ घण्टासम्म तीन गुणा र त्योभन्दा बढीमा ४ गुणा जरीवाना लिने भएको छ । जरीवानाको सामान्य दर १ सय ५० भारतीय रुपया हो । स्टेशनमा आइपुगेका ¥याक अनलोड गर्न ९ घण्टा समय दिइने गरेको छ । त्यो समयभित्र अनलोड नभए रेलवेले आयातकर्तासित जरीवाना लिन्छ । गत असारमा समेत रेलवेले ६ गुणा जरीवाना बढाएको थियो । लगत्तै र्‍याक उपलब्ध नगराउँदा कच्चा पदार्थको अभावमा स्थानीय सिमेण्ट उद्योग बन्द भएका थिए ।

वीरगञ्ज बन्दरगाहमा कण्टेनरको चाप कम भएपछि कोलकाताबाट लोडिङ सुचारु भएको सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका आयातकर्ता प्रदीपकुमार केडियाले बताए । उनले अझै पनि कोलकातामा १ हजार २ सयजति कण्टेनर रहेको बताए । अहिले पनि वीरगञ्ज र रक्सौलका लागि हिँडेको दर्जन बढी रेल बाटोमै रोकिएको आयातकर्ताहरूले बताएका छन् ।

किन बढ्यो जाम ?
२ नम्बर प्रदेशमा यही महीनाको २ गते परेको स्थानीय चुनावमा गरिएको तीनदिने सीमा नाका बन्द र लगत्तै दशैं पर्वमा ३ दिन भन्सार कार्यालय नखुलेपछि सीमापारि गाडीको लाम लागेको हो । सडक मार्गबाट आउने २ हजारभन्दा बढी गाडी अहिले पनि रक्सौल र आसपासका क्षेत्रमा रोकिएका छन् । रेलमार्गबाट आएको मालसामान चापका कारण ठाउँ नपाएर रक्सौल गोदामा अनलोड हुन पाएको छैन ।

वीरगञ्ज भन्सारका प्रमुख सेवन्तक पोखरेल यो वर्षको शुरूदेखि नै व्यापारमा बढेको अन्योलका कारण पनि यतिबेला मालसामानको चाप ह्वात्तै बढेको बताउँछन् । भन्सार विभागले आयात निर्यातमा साउनदेखि अनिवार्य गरेको एक्जिम कोड र लगत्तै भारतमा लागू भएको जीएसटीका कारण आयातकर्ता अन्योलमा परेकाले चाडवाडका बेला आयात बढेको पोखरेलले बताए । वीरगञ्ज नाकाबाट मालसामान बोकेर दैनिक १ हजारजति ट्रक कण्टेनर र ट्याङ्कर भित्रिने गरेकोमा अहिले यो सङ्ख्या ११/१२ सयको हाराहारीमा पुगेको भन्सारले जानकारी दिएको छ ।

सुक्खा बन्दरगाहसम्म आइपुगेको मालसामान गन्तव्यसम्म पुर्‍याइए पनि रक्सौलमा दोहोरो चाप परेको छ । बन्दरगाहमा कण्टेनर, ओपेन कार्गोमा फलाम र बोराबन्द कार्गो आउँछन् । सिमेण्ट, कोइला, क्लिङ्कर, जिप्सम, स्ल्यागलगायत औद्योगिक कच्चा पदार्थमा आयातकर्ता रक्सौलकै भर परेका छन् ।

सडकमार्गबाट करीब २५ किलोमिटर दूरी पार गरेर वीरगञ्ज आइपुग्न ट्रकलाई ६ दिनसम्म लाग्ने गरेको आयातकर्ताले बताएका छन् । जामका कारण ढुवानी व्यवसायीले वीरगञ्जका लागि मालसामान ल्याउन नमान्ने र मानिहाले पनि दोब्बर भाडा माग्ने गरेको आयातकर्ता राजेश क्यालले बताए । रेलको रक्सौल गोदाममा एउटै र्‍याकमा २५ लाख भारतीय रुपैयाँसम्म जरीवाना तिर्नु परेको उपाध्यक्ष अग्रवालको गुनासो छ । यस्ता अनेक जरीवानाको आकार वार्षिक अर्बौंमा हुने व्यवसायीको दाबी छ ।

रातिमात्रै ढुवानी
नेपाल प्रवेश गर्ने पर्खाइमा भारतीय क्षेत्रमा लाम लागेका गाडीलाई केही दिनदेखि भारतीय प्रहरीले रातिमात्र चलाउन अनुमति दिएको छ । गाडीको बढ्दो चापका कारण दुर्घटना बढेको भन्दै भारतीयले विरोध गरेपछि त्यहाँको प्रहरीले रातिको समयमा मात्र वीरगञ्जतर्फ आउन दिएको छ । मङ्गलवार र बुधवार दिउँसो अत्यन्तै न्यून सङ्ख्यामा गाडी भित्रिएको वीरगञ्ज भन्सारले बतायो । भन्सार प्रमुख पोखरेलले गाडी रातको समयमै आए पनि आयातकर्ताका एजेण्टहरूले कागजपत्र ल्याइदिने हो भने राति अबेरसम्म बसेरै भए पनि जाँचपासको व्यवस्था मिलाउन सकिने बताए ।

विकल्प आईसीपी
वीरगञ्ज नाकामा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)को सञ्चालन विलम्बका कारण नाकाको चाप व्यवस्थापन जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन् । १८ महीनामा सञ्चालनमा ल्याउने लक्ष्यसहित सन् २०१० मा शिलान्यास भएको आईसीपी ७ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

सङ्घका पूर्वअध्यक्ष अशोककुमार वैद आयातनिर्यात कारोबारमा बहुअपेक्षित यो पूर्वाधारको शीघ्र सञ्चालन हुन सके वीरगञ्ज नाकाको जाम र यसबाट आयातकर्ताले भोग्नु परेको समस्या समाधान हुने बताउँछन् । बृहत् पूर्वाधारयुक्त यो संरचना सञ्चालन नहुञ्जेल वीरगञ्ज भन्सारलाई चौबीसै घण्टा खोलेर भए पनि तत्कालीन निकास निकाल्नुपर्ने सुझाव उद्यमी क्यालको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ स्थल यातायात र पारवहन समितिका संयोजक अशोककुमार टेमानी वीरगञ्ज सुक्खा बन्दरगाहको पूर्वाधारलाई अद्यावधिक र विस्तार गरिनुपर्ने बताउँछन् । १२ वर्षअघि वैदेशिक व्यापार वार्षिक २५ हजार कण्टेनरमा सीमित भएका बेला बनाइएको बन्दरगाहमा अहिले करीब ८० हजार कण्टेनर आइरहेको अवस्थामा पूर्वाधार सुधार आवश्यक रहेको संयोजक टेमानीको भनाइ छ ।

Comments

comments