सर्वोच्च अदालतको आदेश र स्वास्थ्य मन्त्रालयको निर्देशन विपरित वीरगन्जमा औषधी पसल संचालन

3405




वीरगन्ज, २४ असोज नेपाल सरकारको स्वास्थ्य मन्त्रालय निर्देशन र सर्वोच्च अदालतको आदेश समेतलाई बेवास्ता गर्दै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा निजी फार्मेसी (औषधी पसल) संचालन भईरहेको छ । अस्पतालको स्वामित्वमा रहेका कोठामा संचालन रहेको औषधी पसललाई बन्द गराउन सर्वोच्च अदालतले आदेश गरेको र उक्त आदेशलाई कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पताल प्रशासनलाई तीन दर्जन भन्दा बढी पत्र पठाएपनि अदालतको आदेश र मन्त्रालयको निर्देशनलाई समेत बेवास्ता गर्दै उपक्षेत्रीय अस्पताको स्वामित्वमा रहेका कोठामा निर्वाद रुपमा औषधी पसल संचालन भइरहेका छन् ।
चार वर्ष देखी अस्पताललाई बाल (भाडा) समेत नबुझाई औषधी पसल संचालन भएपनि अस्पताल प्रशासनले कोठा खाली गराउन सकेको छैन । यसै विषयमा उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहसंग बुझ्दा उहाँले २०७४ साल श्रावण ३१ गते नै ३५ दिनको म्याद राखी पसल खाली गर्न पत्राचार गरेपनि अस्पताल प्रशासनको पत्रलाई बेवास्ता गर्दै पसल संचालकहरुले औषधी पसल संचालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले अस्पतालका कानुनी सल्लाहकारले दिएको सुझाव अनुसार एक साताको म्याद राखी अर्को पत्र पसल संचालकलाई बुझाउने र उक्त पत्रलाई समेत बेवास्ता गरे कानुन बमोजिक कोठा खालि गराउन प्रहरीको सहयोग लिने बताउनु भयो ।
संचालित रहेको औषधी पसललाई अर्को पत्र दिन एक दुई दिन भित्र बोर्डको बैठक बसाई निर्णय गराउदै पत्राचार गरिने मेसु साहले जानकारी दिनुभयो । उहाँले अदालतको आदेश र मन्त्रालयको निर्देशन अनुसार अस्पताल भित्र २०७४ साल असाढ २३ गते देखी अस्पतालले आफनै फार्मेसी संचालन गरि सकेको बताउनु भयो ।
अस्पतालको स्वामित्वमा रहेको कोठामा संचालन रहेको औषधी पसल संचालनले अस्पताललाई चार वर्ष देखि भाडा समेत नबुझाएको कारण अस्पताल संचालनमा समस्या भएको नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका सदस्य सुशिल खेतानले जानकारी दिनुभयो । उहाँले अस्पतालको स्वामित्वमा रहेको ११ कोठामा औषधी पसल संचालन रहेका एक एक जनाले २३ लाख रुपैया भन्दा बढी बक्यौता राखेको बताउनु भयो ।
पसल संचालकहरुले बक्यौता राखेको रकम अस्पताललाई बुझाए गरिब निमुखाको उपचारमा लगाउन सकिने र उपकरण खरिद गरी विरामीका लागि थप सेवा प्रदान गर्न सकिने बोर्ड सदस्य खेतानको भनाई रहेको छ ।

Comments

comments