×

राम सर्राफ वीरगन्ज, २४ असोज वीरगन्ज महानगरपालिका कार्यालयमा विगत २० वर्ष देखि कार्यरत वरिष्ठ अधिकृत शम्भु प्रसाद गुप्ता आसन्न प्रदेशसभा निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ को ख बाट प्रत्यक्ष तर्फ चुनाव लड्ने भएका छन् । महानगरपालिका कार्यालयको वरिष्ठ अधिकृतबाट आज राजीनामा दिएका गुप्ता , संघीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धनबाट प्रदेशसभाको प्रत्यक्षमा चुनाव लड्ने भएका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थायी घर भएका गुप्ताले २०५५ साल देखि तत्कालीन वीरगन्ज नगरपालिकामा अधिकृत पदमा नेपाल सरकारको राष्ट्रसेवकका रुपमा सरकारी जागीरु शुरु गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका ५१ वर्षिय गुप्ता समाजसेवीका रुपमा पनि परिचित छन् । सन् २००३ मा एनजिओ फेडेरेसन् पर्साको अध्यक्ष ,२००४ मा वीरगन्ज जेसीसको अध्यक्ष , सन् २००५मा नेपाल जेसीसको राष्ट्रिय उपाध्यक्ष ,सन् २०१६ मा लायन्स क्लब अफ वीरगन्ज युनाइट प्लास्टको अध्यक्ष समेत रहेर सामाजिक कार्यमा सरिक हुदै आएका गुप्ता विक्रम सम्बत २०६२ देखि २०६७ साल सम्म सुरजी देवी मावि मुर्लीको व्यवस्थापन समितिको दुइ पटक अध्यक्ष पनि रहीसकेका छन् । यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको प्रमुख सल्लाहकार पनि रहेका गुप्ताले वीरगन्ज महानगरपालिका कार्यालयमा राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहदा पनि सामाजिक कार्यमा निरन्तर सहभागीता जनाउदै आएका छन् ।

राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहदा जनताकै सेवा गरेको भन्दै गुप्ताले नीति निर्माणको तहमा रहेकाहरुले वीरगन्जको सम्बृद्धि र विकासका लागि सहि नीति अहिले सम्म नबनाएका कारण अब उक्त तहमा आफनो आवश्यकता महशुस गर्दै सरकारी जागीरबाट राजीनामा दिदै आफु राजनीतिमा उत्रिएको बताउछन् । देशमा विभिन्न राजनीतिक दलहरु भएपनि मधेस र मधेसीको हकहित र अधिकारका लागि मधेसी दलले नै संघर्ष र वकालत गर्दै आएकाले आफुले पनि मधेसी दललाइ नै रोजेको गुप्ता बताउछन् । काँग्रेस , एमाले , माओवादी , राप्रपा लगायतका दलहरुल विभेद गरेकै कारण वीरगन्ज मात्र नभइ समग्र तराइ मधेस पछाडि परेको भन्दै गुप्ताले मधेसको विकास र सम्बृद्धि मधेसी दलबाट नै सम्भ्व रहेको बताउछन् । फोरम नेपाल र राजपाको गठबन्धनले आफुलाइ पर्सा जिल्लामा प्रदेशसभा सदस्यका लागि जुन क्षेत्र दिए त्यही क्षेत्रबाट आफु चुनाव लड्न तयार रहेको गुप्ताको भनाइ ।

Back to top