×

वीरगंज २३ असोज - पर्सा जिल्लामा रहेको १० गाउँपालिका १ महानगरपालिका र ३ नगरपालिकाको कार्यपालिका निर्वाचन आज सम्पन्न भएको छ । नगरपालिकाको लागि ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसङ्ख्यक सदस्य र गाउँपालिकामा ४ महिला सदस्य र २ जना दलित वा अल्पसङ्ख्यक सदस्यको लागि निर्वाचन भएको हो ।

पोखरिया नपाबाहेक सबै स्थानमा निर्वाचनबाटै उम्मेदवारहरूको चयन गरिएको बताइएको छ ।

पोखरियामा भने नेपाली जनता दल, नेपाली काङ्ग्रेस र फोरम नेपालबीच सहमति भएर कार्यपालिका सदस्यहरू सर्वसम्मतिबाट निर्वाचित भएका छन् । फोरम नेपालबाट जीवनज्योति पासवान, मैनादेवी, नेपाली जनता दलबाट रामबालक महरा, शान्तिदेवी हजाम, गायत्री देवी हजाम, नेपाली काङग्रेसबाट नरेन्द्र साह कानू, प्रभावतीदेवी कानू र बेउलीदेवी सर्वसम्मत निर्वाचित भएका हुन् ।

वीरगंज महानगरपालिकाको कार्यपालिकामा फोरम नेपाल र एमालेबीच सहमति भए पनि नेपाली काङ्ग्रेसले चार सिटमा जित हासिल गर्न सफल रह्यो भने फोरम नेपाल ३ र राजपा एक सिट जित्न सफल भए । कुल १६१ मतदाता रहेको वीरगंज महानगरपालिकामा फोरम नेपालको ५९ र एमालेको २३ गरी ८२ र नेपाली काङग्रेस ५८, राजपा ११, नेपाल लोकतान्त्रिक ५ र माओवादी केन्द्र ५ गरी ७९ मत थियो । नेपाली काङ्ग्रेसका अरविन्द गुप्ता, मनोजा चौधरी, अनिता कुशवाहा, रेनुदेवी फोरम नेपालका सुशीलकुमार कानू, अजय सर्राफ र बैजन्ती देवी, राजपाकी बरकतुम नेशा विजयी भएका हुन् ।

बहुदरामाई र पर्सागढी नपामा निर्वाचन भएर नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । पर्सागढी नपाबाट भरत साह कानू, अनवर हुसेन धुनियाँ, शङ्करराय भर, छठियादेवी दुसादिन, चन्दा देवी पटवारी, मीरादेवी चौधरी, पुष्पाकुमारी चौधरी र सीतादेवी विजयी भएका छन् । बहुदरामाई नपाबाट बबिता देवी, रजमतिदेवी, रम्भादेवी, सविरसा देवी, समता खातुन, दीपेन्द्र पडित, महम्मद रजाक हुसेन, मुकदेवप्रसाद कानू विजयी भएका छन् ।

कालिकामाई गाउँपालिकामा शान्तिदेवी दुसादिन र रामचन्द्र ठाकुर गरी दुईजना नेपाली काङ्ग्रेसबाट विजयी भएका छन् भने बाँकी चार सिटमा फोरम नेपालका रामेश्वर कलवार, मीनादेवी कुशवाहा, रञ्जितादेवी दुसादिन र मनतुरादेवी विजयी भएका छन् । पकहामैनपुरमा नेपाली काङ्ग्रेसकी सुशीला देवी र जाकिर हुसेन, फोरम नेपालकी कान्तिदेवी, देवकी महरा एमालेकी रामशीलादेवी तथा राजपाकी शीलादेवी विजयी भएका छन् । पर्साकै छिपहरमाई गाउँपालिकामा भने माओवादी केन्द्रको प्यानल निर्वाचनबाट विजयी भएको छ । मुक्तिनारायण साह कानू, सुभाष साह कानू, मुन्नि खातुन, गीतादेवी राजपूत, हीरामतिदेवी, दुखनी देवी विजयी भएका छन् । जिराभवानी गाउँपालिकामा एमालेको प्यानल विजयी भएको छ । उर्मिला देवी थरूनी, उर्मिला देवी पासवान, धनपतिदेवी मुसहरिन, सुपर्द देवी चमार, राजेन्द्र हजरा र बालेश्वर चौरसिया विजयी भएका छन् ।

Back to top