×

वीरगन्ज २१ असाेज प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि दलहरुबीच गठबन्धन निर्माण भइरहेको बेला दुईवटा मधेशवादी दलबीच चुनावी तालमेल हुने भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल हुने भएको छ । प्रारम्भिक छलफल अनुसार मधेशको २२ जिल्लाका ५० प्रतिशत सिटमा राजपाका उम्मेदबारीलाई फोरम नेपालले समर्थन गर्नेछ भने ५० प्रतिशत सिटमा फोरमका उम्मेदबारले राजपाका उम्मेदबारलाई समर्थन गर्नेछ ।

एउटै चुनाव चिन्हबाट चुनाव लड्ने विषयमा छलफल भएपनि त्यस विषयमा सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

यता समानुपातिक उम्मेदबारका विषयमा टुँगो लाग्न बाँकी छ । स्रोतका अनुसार समानुपातिकमा दलहरुले सबै सिटमा उम्मेदबारी दिनेछ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘राजपा र फोरम नेपालबीच चुनावी तालमेल भएको छ । राजपा र फोरम आफै बलियो रहेको स्थानमा अरुसँग तालमेल हुँदैन । राजपा र फोरम नेपाल मिलेर पनि बलियो हुन नसक्ने स्थानमा अन्य दलसँग सहकार्य हुन सक्छ ।’

राजपाका प्रवक्ता संतोष मेहताका अनुसार राजपा र फोरमबीच चुनावी तालमेलका लागि पहिलेदेखि नै अनौपचारिक छलफल भएपनि विहीबार साँझ शंखमुल स्थित एक घरमा औपचारिक छलफल भएको थियो । उक्त छलफलका आधारमा शुक्रबार सहमति भएको छ ।

Back to top