×

वीरगन्ज, असोज ०७ - दुई नम्बर प्रदेशको प्रमुख जिल्लाको रुपमा चिनिएको पर्सा जिल्लामा शोमवार सम्पन्न भएको स्थानीय तह निर्वचनको मतगणन गर्ने क्रम जारि रहेको छ । मंगलवार देखि जिल्लाको १४ स्थानीय तहमा सुरु भएको मतगणना अहिले पनी जारि रहेको छ भने केहि स्थानहरुको अन्तिम नतिजाहरु सार्वजनिक भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालले ३ तह, माओवादी केन्द्रले ३ तह, नेकपा एमालेले १ तह, नेपाली कांग्रेसले १ तह र नेपाल संघिय समाजवादी पार्टीले १ तहको प्रमुख पदमा विजय प्राप्त गरेको छ । त्यसैगरी उप-प्रमुख पदमा ४ तहमा फोरम नेपाल, ३ तहमा नेपाली कांग्रेस र २ तहमा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

पर्साको पर्सगढि नगरपालिकामा नेपाली कांग्रेसका लोकनारायण यादव ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै प्रमुख पदमा विजयी भएका छन् भने उप-प्रमुख पदमा पनी नेपाली कांग्रेसले सफलता हासिल गरेको छ । ४ हजार ५ सय ५९ मत प्राप्त गर्दै नेपाली कांग्रेसकै अर्चना चौधरी निर्वाचित भएकी छन् ।

पर्साको ठोरी गाउँपालिकाको दुवै पदमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । प्रमुख पदमा २ हजार ६ सय २ मत प्राप्त गर्दै प्रद्मलाल श्रेष्ठ (पिएल श्रेष्ठ) र उप-प्रमुख पदमा २ हजार ४ सय ६३ मत प्राप्त गर्दै शान्ति माया थिङ्ग निर्वाचित भएका छन् भने छिपहरमाई गाउँपालिकामा पनि माओवादी केन्द्रले आफ्नो कब्जा जमाएको छ । छिपहरमाई गाउँपालिकाको प्रमुख पदमा २ हजार ८ सय ५९ मत ल्याउदै माओवादी केन्द्रका मनोज कुमार र उप-प्रमुख पदमा २ हजार ८ सय ३९ मत लयाउदै मोदिना खातुन निर्वाचित भएका छन् ।

त्यस्तै पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा पनी माओवादी केन्द्रले प्रमुख पदमा विजयी प्राप्त गरेको छ । ३ हजार ४ सय १ मत ल्याउदै माओवादीका जालिम मिया निर्वाचित भएका छन् भने उप-प्रमुखमा संघीय समाजवादी फोरम नेपालकी बिस्मिल्ला खातुन निर्वाचति भएकी छन् ।

त्यसैगरी पर्साको पर्सा जिल्लाको पाकाहमैनपुर गाउँपालिकामा संघिय समाजवादी फोरम नेपालले प्रमुख र उप-प्रमुखका विजय हासिल गरेको छ । फोरम नेपालको तर्फाबाट प्रमुखका प्रत्यासी विजय कुमार चौरसिया १ हजार ७ सय ३५ मत र उप-प्रमुखकी उम्मेदवार कुश्मा देवी दुई हजार मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कुश्मा देवी मधेस आन्दोलका सहिद सत्रुधन पटेलकी आमा हुन् । संविधान जारी भएकै दिन असोज ३ मा वीरगन्जको गीतामन्दीर रोडमा प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट पटेलको निधन भएको थियो ।

सखुवापर्सौनी गाउँपालिकामा पनी फोरम नेपालले प्रमुख र उप-प्रमुख दुवै स्थानमा जित प्राप्त गरेको छ । फोरम नेपालको तर्फा बाट प्रमुक पदका दावेदार जैसवाल ३ हजार ६ सय ५७ मत र उप-प्रमुखकी उम्मेदवार फुलमती कुमारी थरुईनी ३ हजार ६ सय ७२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

फोरम नेपालले बिन्द्वावासिनी गाउँपालिकाको प्रमुख पद हत्याएको छ । प्रमुख पदमा २ हजार ९ सय १३ मत प्राप्त गर्दै फोरम नेपालका उम्मेदवार श्रीलाल साह कानु (मोदी) विजयी भएका छन् भने उप-प्रमुखमा नेपाली कांग्रेसकि किरण देवी निर्वाचित भएकी छन् ।

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा नेपाल संघीय समाजवादी पार्टीको प्रमुख पदका उम्मेदवारले २ हजार ८ सय ९८ मत ल्याउदै जित हासिल गरेका छन् भने उप प्रमुख पदमा फोरम नेपालका राजेश कुमार चौरसिया २ हजार ९ सय ९४ मत ल्याउदै निर्वाचित भएका छन् ।

नेकपा एमालेले पटेर्वसुगौली गाउँपालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा एमालेको प्रमुख पदका दावेदार हरिनारायण चौधरी २ हजार ९ सय ५७ मत ल्याउदै निर्वाचित भएका छन् भने उप-प्रमुखमा नेपाली कांग्रेसकी ममता महतो ३ हजार २ सय ६३ मत ल्याउदै निर्वाचित भएकी छन् ।

Back to top