×

वीरगञ्ज, ६ असोज पर्साको बहुदरामाई नगरपालिकाको निर्वाचन मतगणना स्थगित भएको छ । राजपा नेपालका तर्फबाट मेयरका उम्मेदवारको मत घटाइएको आरोपमा सो दलले प्रदर्शन गरेपछि मतगणना स्थगित भएको हो ।

निर्वाचन अधिकृतका कार्यालयले सार्वजनिक गरेको मतपरिमाणमा मत घटाइएको विरोधमा राजपाका कार्यकर्ताले शुक्रबार साँझ मतगणनास्थल अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गर्नुका साथै निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार बिहान सार्वजनिक गरिएको मतपरिमाणमा राजपा नेपालका उम्मेदार शिव पटेलको मत १५२३ रहेकोमा साँझको परिणाममा घटाएर १४७८ मा झारिएको थियो । पहिलाको मतपरिणामभन्दा पछिल्लो मतपरिणाम घटेपछि विरोध भएको हो । यो नगरमा राजपा र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

राजपा नेपालका उम्मेदार पटेलले आफूलाई हराउने षडयन्त्रका साथ निर्वाचन कार्यालले मत परिणाम हेरफेर गरेको आरोप लगाए । मतगणना सुरु भएलगत्तै आफूले मतपरिणामको सार्वजनिकीकरण पारदर्शी बनाउन माग गरे पनि निर्वाचन कार्यालयले बलमिच्याइ गरिरहेको पटेलले बताए ।

पहिला प्राप्त गरेको मत पछिल्लो परिणाममा घटेको बारेमा निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठलाई सोध्दा हेर्छौ, बुझ्छौमात्र भनेर आलटाल गरिरहेको उनले बताए ।

आफूले मतपरिणामको फोटो खिचेकाले निर्वाचन अधिकृत र सुरक्षाकर्मीले मोबाइल खोस्ने प्रयास गरेको पटेलले बताए । मोबाइल खोस्ने प्रयास असफल पार्दै मतगणनास्थलबाट बाहिरिएपछि राजपा नेपालका कार्यकर्ताले गणनास्थल अगाडि प्रदर्शन सुरु गरेका थिए ।

पटेलले आफ्नो मतपरिणाम घटाइएको बारेमा टुंगो नलागेसम्म मतगणना अघि बढ्न नदिने बताए ।

 

 

 

 

 

 

Back to top