हिलाम्य मतदान केन्द्रमा उत्साहजनक मतदान

415

राम सर्राफ वीरगन्ज २ असोज स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ को वीरगञ्ज महानगर पर्साका नगर तथा ग्रामीण क्षेत्रमा उत्साहजनकरुपमा मतदान भएको छ । सोमबार वीरगञ्ज महानगरपालिका, ३ नगर र १० गाउँपालिकामा छिटपुट सामान्य घटनाबाहेक शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानको अघिल्लो रात परेको पानीले मतदानस्थल अस्तव्यस्त भए पनि मतदाताले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाएका थिए । २० वर्षपछि भएको निर्वाचनमा सहभागी हुन मतदाता उत्साहित देखिन्थे । हिलाम्य बनेका मतदातकेन्द्रमा समेत मतदाता हिलो र प्रचण्ड गर्मीको प्रवाह नगरी भोट खसाल्न गएका थिए । वीरगञ्ज १० का अभिशेक अग्रवालले २० वर्षपछि आफ्ना जनप्रतिनिधि चुन्न पाएकाले उत्साहित भएको बताए ।
सोमबार साँझ अबेरसम्म मतदान भएको छ । पर्सामा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान छ । वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसलाई मतगणनास्थल कायम गरिएको छ । राति अबेरसम्म भए पनि मतपेटिका ल्याएर सोमबारबाटै मतगणना सुरु हुने पर्सा निर्वाचन कार्यालयका प्रमुख हिमनाथ दवाडीले बताए । क्याप्सन ः