वीरगन्ज ३१ भदौ प्रदेश नं. २ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले पर्सा जिल्लासँग भारतको सिमा जोडिएको ६२ किलोमिटर सिमा बन्द गरेको हो । शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी ले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।