×

वीरगन्ज ३० भदाै वीरगन्जको चुनाव जित्न मुस्लिम समुदायको भोट सबैभन्दा बढी अर्थ राख्ने नेताहरू बताउँछन्। यहाँ १८ देखि २० हजारसम्म मुस्लिम मतदाता छन्। यी मतदातालाई आफूतिर तान्न पाए चुनाव नतिजा आफ्नो पक्षमा पार्न सजिलो हुन्थ्यो भन्ने दाउ मेयरका सबै उम्मेदवारको छ।

त्यही कारणले वीरगन्ज महानगरमा तुलनात्मक रुपमा कमजोर एमालेले मुस्लिम समुदायका बसरूद्दीन अन्सारीलाई मेयरमा उठाएको छ। वीरगन्जमा सधै जमानतै जोगाउन हम्मे पर्ने माओवादीले पनि यिनै मतदाता आकर्षित गर्न यसपालि मुस्लिम समुदायकै व्यक्तिलाई मेयरमा उठायो।

के मुस्लिम मतदाताले आफ्नै समुदायका उम्मेदवारलाई मात्र भोट देलान् वा उनीहरुको मत अरू उम्मेदवारबीच पनि बाँडिन्छ?

हामीले वीरगन्जका मुस्लिम बहुल बस्ती छपकैया, मुर्ली र हनुमानगल्ली पुगेर मतदातासँग कुरा गर्‍यौं।

वीरगन्ज छपकैयाकी नसिमा खातुनलाई यो चुनावमा एक जना मेयर उम्मेदवारबाहेक कुनै दलका कुरा दिलचस्प लागेका छैनन्। ती उम्मेदवार हुन् संघीय समाजवादी फोरमका विजय सरनवगी ।

‘उसले जित्यो भने राम्रो हुन्छ,’ उनले भोजपुरीमा भनिन्।

छपकैयामै भेटिएका इमरान आलम र आदर्शनगरका साविर अहमद दुवै युवाले पनि यसपालि विजय सरावगीलाई भोट दिने बताए।

‘हाम्रै समुदायको भनेर उसलाई भोट दिने भनेको हैन मैले। ऊ साँच्चै हामीलाई चाहिए जस्तो मेयरको उम्मेदवार हो,’ साविरले भने। मूर्लीमा भेटिएका धेरैजसो युवाले सरावगीलाई नै भोट हाल्ने बताए।

वीरगन्जको मुख्य बजारमै भेटिएकी सलमाले भने कांग्रेसलाई भोट दिने बताइन्। छपकैयाका हबिब मियाँ र नुर आजम पनि कांग्रेसलाई नै भोट दिने पक्षमा छन्।

‘हामी पहिले पनि कांग्रेसमै भोट हालेको, अहिले पनि उसैलाई दिने हो,’ सलमाले भनिन्।

वीरगन्ज वेलवाका रसिद अन्सारीले समाजवादी फोरमलाई भोट दिने निर्णय गरेका छन्। छपकैयाकी मदिना अन्सारी र फलफूल पसल गरेर बस्ने नासिरले पनि संघीय समाजवादी फोरमलाई भोट दिने बताए।

महावीर चोकमा भेटिएका फरमान अन्सारी भने एमालेलाई समर्थन गर्छन्। उनले पहिलैदेखि एमालेलाई भोट दिँदै आएको बताए। तर बसरूद्दीनले एमालेका परम्परागरत मुस्लिम भोटर बाहेक अन्य मुस्लिम मतदातालाई खासै आकर्षण गर्न सकेका छैनन्।

मुस्लिम समुदायको भोट यसपालि बसरूद्दिनले भन्दा रहबरले धेरै पाउने सम्भावना छ। यहाँका मुस्लिम समुदायमा बसरूद्दिनको छवि त्यति राम्रो छैन। त्यसको एउटा कारण उनले नेसनल मेडिकल कलेज बनाउने बेलाको विवाद हो।

हनुमान गल्लिका एक मतदाताले भने, ‘उनले नेसनल मेडिकल कलेज बनाउने बेला बदमासी गरेका छन्, मुद्दै चलेको थियो नि,’ उनले भने, ‘त्यो नविर्सेका मानिसले उनलाई भोट दिन्नन्।’

छपकैयाका अफताब आलम यो भन्दा पहिले एमालेलाई भोट दिएको भए पनि यसपाली बसिरूद्दिनकै कारण सूर्यममा भोट नखसाल्ने बताउँछन्।

‘म पहिले एमालेलाई मत दिएको थिएँ तर, बसरूद्दिन भएकाले अब नदिने। बरू कोही गरिब बनाएको भए एमालेलाई दिन्थेँ,’ उनले भने।

हामीले भेटेका पहिलो पटक भोट हाल्न लागेका मतदाताहरु मध्ये धेरै रहबर प्रतिनै आकर्षित थिए। पहिलोपटक भोट खसाल्ने तयारी गरिरहेका मूर्लीका दिलसाद समिर र छपकैयाका मोहब्बत ज्याउल हकले माओवादीलाई भोट दिने बताए।

Back to top