×

वीरगञ्ज ३० भदाै वीरगञ्जस्थित सुक्खा बन्दरगाहको भौतिक पूर्वाधार र रेल्वे सेवा प्रदायक कोन्करको सेवा प्रभावकारी तुल्याउन आयात तथा निर्यातकर्ताले आग्रह गरेका छन् । बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिले मङ्गलवार वीरगञ्जमा आयोजना गरेको आयातकर्ता र सेवाग्राहीसितको अन्तरक्रियामा सरोकारवालाले सेवा अपेक्षित प्रभावकारी नहुँदा आयातकर्ताले पारवाहनमा समस्या झेल्नु परेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले आयातकर्ताले कोलकाता बन्दरगाहदेखि नै विभिन्न प्रकारका अवरोधको सामना गर्नुपरेको विचार व्यक्त गरे । ‘आयातकर्ताले विभिन्न शुल्क र जरीवानाको नाममा वर्षेनि अर्बौं रुपैयाँ तिर्नुपरेको छ । कोन्कर र हिमालयन टर्मिनलले यसको उचित निकासमा प्रभावकारी कदम चाल्नु पर्छ,’ टेमानीले भने ।

हिमालयन टर्मिनलकी अध्यक्ष एवम् कोन्कर निर्देशक डा. पी अली रानीले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आफूहरू प्रतिबद्ध रहेको भन्दै आयातकर्ताले सामना गर्दै आएका समस्याको निकासमा आफूहरू गम्भीर रहेका बताइन् । उनले आयातकर्ताका समस्या रेल्वे सम्झौतालगायतका आधारमा सम्भव भएसम्म चाँडै समाधान गर्ने आश्वासनसमेत दिइन् । भारतीय रेल्वेको भगिनी संस्था कोन्कर हिमालयन टर्मिनलको मुख्य साझेदार हो । टर्मिनलमा उसको ४० प्रतिशत साझेदारी छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले कोलकाता बन्दरगाह, रेल्वे र सुक्खा बन्दरगाहको बेथितिका कारण आयातकर्ताले जरीवानाको तिर्नुपरेको बताए । निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले वीरगञ्ज बन्दरगाहको कमजोर र अव्यवस्थित भौतिक पूर्वाधारले आयातकर्ता आजित भएको भन्दै तत्काल सुधारको आग्रह गरे । टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले आफूहरू आयातकर्ताका समस्या समाधानमा सधैं तत्पर रहेको बताए ।

कार्यक्रममा उत्कृष्ट आयातकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो । आइरन स्टील, बीसीएन र कण्टेनर कार्गोतर्फ बढी आयात गर्ने औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूलाई सम्मानित गरिएको टर्मिनलका वरिष्ठ अधिकृत अनिमेशकुमारले बताए । सो अवसरमा भएको शास्त्रीय साङ्गीतिक कार्यक्रममा तवलामा उस्ताज सबिर खान र सितारमा उस्ताज निसाद खानले प्रस्तुति दिएका थिए ।

 

Back to top