राजपा मधेशी जनताको मन-मुटुमा बसेकोले हाम्रो जीत सुनिश्चित छःरम्भा मिश्रा

432

राजपा मधेशी जनताको मन-मुटुमा बसेकोले हाम्रो जीत सुनिश्चित छःरम्भा मिश्रा(अन्तर्वार्ता)
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन परिणाम आइसकेर यतिबेला प्रदेश नं. २ मा तेस्रो चरण अन्तर्गतको स्थानीय निकायको चुनाव भइरहेको छ । प्रदेश नं. २ को सबभन्दा महत्वपूर्ण मानिने क्षेत्र वीरगञ्ज महानगरपालिकामा सबै प्रमुख दलहरुको प्रतिष्ठाको विषय बनेको छ । सुन्दर नगरी बनाउने प्रतिवद्धताका साथ उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रतिस्पर्धाका वीच राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट वीरगञ्ज महानगरपालिकाको उप-मेयर पदको उम्मेदवार रम्भा मिश्रले पनि आफ्ना विभिन्न चुनावी मुदा र संकल्पका साथ चुनावी अभिमान लाग्नु भएको छ । उनै उपमेयरकी प्रवल दाबेदार नेतृ मिश्रासँग सम-समायिक विषय र चुनावी माहोलको बारेमा केन्द्रित रहेर विजय यादवले गरेको अन्तर्वार्ताको सम्पादित महत्वपूर्ण अंशहरु :

० वीरगन्ज महानगरपालिकाको चुनावी माहोल कस्तो छ ?

— राजपा नेपालका लागि वीरगञ्ज महानगरपालिका लगायत प्रदेश नम्बर २ को हरेक ठाउँमा अवस्था छ । प्रदेश नं. २ का जनताहरूमा उत्साह छाएको अवस्था रहेको छ । यहाँ के देखिएको छ भने विगतका हरेक परिवर्तनमा मधेशको हक अधिकारका लागि संघर्ष गरेको र विभिन्न राजनीतिक कालखण्डमा गरेको त्याग, बलिदान र आन्दोलनको कारणले सम्पूर्ण जनताहरू राजपा नेपालको काँधमा काँध मिलाएर अगाडी बढिरहेका छन् । राजपा पार्टीले गरेको विगतका कामहरूलाई मध्येनजर गर्दै सम्पूर्ण मतदाताहरूमा राजपा नेपालप्रति लहर नै चलेको छ ।

० राजपा नेपालले दुई चरणको निर्वाचन बहिष्कार ग¥यो र अहिले तेस्रो चरणमा सहभागिता जनाएको छ, जनताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
— पक्कै पनि स्थानीय तहको चुनाव भनेको सिंहदरवारको अधिकार गाउँघरमा आइपुग्नु हो । त्यसकारणले यहाँका जनताहरू एकदमै उत्साहित भएका छन् । राजपा नेपालको आन्दोलनले गर्दा, त्याग र बलिदानले गर्दा, बीर मधेशी शहिदको बलिदानीले गर्दा अहिले संघीयता आएको छ । त्यसको परिणाम स्वरूप अहिले स्थानीय तहमा अधिकारको अनुभूति जनताले गरून भनेर यो चुनाव भइरहेको छ । यी कारणहरूले गर्दा मधेशी जनतामा उत्साहको वतावरण बनेको छ । जनताहरूमा राजपा नेपाल प्रतिको विश्वास बढेर गएको छ ।

० राजपा नेपाले वीरगन्ज महानगरपालिकाको उपमेयरको उम्मेदवारमा चयन गर्नुको करण के ?
— राजपा नेपालले मलाई सशक्त महिलाको रूपमा लिएर उम्मेदवारको चयन गर्यो । पार्टीले मेरो अनुभव, शिक्षा, व्यक्तिगत प्रतिष्ठा र व्यक्तित्वलाई सम्झेर बुझेर मलाई राजपा नेपालको तर्फबाट उपमेयरको लागि उम्मेदवार चयन गरिएको हो । स्थानीय तहमा मेरो राम्रो पकड रहेको छ । मेरो समाजसेवा प्रति रहेको रूझानलाई कदर गर्दै राजपा नेपालले मलाई उपमेयर पदको लागि चयन गरिएको हो ।

० पक्कैपनि धेरै आंकाक्षीहरूको बीचमा तपाईलाई राजपा नेपालले महानगरपालिकाको उपमेयर पदका लागि टिकट दियो । निर्वाचित हुनका लागि तपाईको आधार र जनाधार कस्तो रहेको छ ?
— हामीले मधेशवादको मुद्दा लिएर हिंडेका छौँ । तराई मधेशका जति पनि शोषित, अपहेलित, अपमानित र विभेदमा परेका जनताहरू रहेका छन् तिनीहरूका लागि निरन्तर संघर्ष गरेको छु । मधेश र मधेशीको अधिकारको लागि निरन्तर आन्दोलन गरेको छु ।

० वीरगन्ज महानगरपालिकाको विकासका लागि तपाईको प्रतिवद्धता र एजेण्डा कस्ता छन् ?
— मेरो प्रतिवद्धताको पहिलो संकल्प वीरगञ्ज महानगरपालिकामा सरकारी काम–काजलाई झन्झटमुक्त र भ्रष्टाचारमुक्त बनाउने काम शपथ ग्रहणको दिनदेखि नै सुरू गर्छु । महानगरका लागि आवश्यक सुरक्षा र पूर्वाधारको व्यवस्था मिलाउँछु । हरेक परिवारको स्वास्थका लागि आवश्यक काम गर्छौै । सशक्त नारी र समान अधिकारको प्रत्याभूति गराउँछु । एक परिवारमा एक रोजगारको व्यवस्था, मधेशी शहिदहरूका लागि संग्रहालयको निर्माण, महिलाहरूका लागि सिपमूलक तालिम दिएर निब्र्याजी रूपमा ऋण उपलब्ध गराउने, महिलाहरूको रोजगारीको व्यवस्था लगायतका मेरो प्रतिबद्धता हो

० चुनावको बेला नेताहरूको भाषण र प्रतिवद्धता सुनेर जनताहरू दिक्क भइसकेको अवस्थामा छ नि ?
— हाम्रो मधेशको जनता हामी माथी एकदमै विश्वस्त रहेका छन् । हामी उहाँहरूको सारथीको रूपमा रहेका छौँ । विगतमा जसरी हामी सबै एकभएर आन्दोलन गर्यो त्यो प्रकारले अहिले पनि सम्पूर्ण जनताले हामीलाई साथ दिएको अवस्था रहेको छ । हामी जहाँ पनि जाँदा हामीले के पाएका छौँ भने अरू पार्टीको झण्डा लगाए पनि मनैदेखि जनताहरू राजपा नेपालको साथमा रहेको भनाईहरू पाएका छौँ । जनताहरू राजपा नेपालको साइकल छापको साथमा हुनुहुन्छ भन्ने कुरामा म पुरा विश्वस्त रहेको छु ।

० तपाईले भनेको संकल्प तथा प्रतिवद्धताहरू पुरा गर्नको लागि केही योजनाहरू बनाउनु भएको छ ?
— हामीले सबभन्दा पहिले सम्पूर्ण संकल्प र प्रतिवद्धताहरूको सफल कार्यान्वयनको लागि सपथ ग्रहण पश्चात नै तत्काल सुरू गर्छौ । र जनताले यस्तो प्रत्याभूति २५ दिनको भित्र गर्नेछन् भन्ने कुरामा म जनतालाई विश्वास दिलाउन चाहन्छु ।

० चुनावमा तपाईले दिनरात घरदैलो कार्यक्रम देखी लिएर सभा सम्मेलनमा व्यस्त हुनुहुन्छ यति दिनमा तपाईलाई कुनै मतदाताले मत राजपालाई दिन्न भनेर भनेको छ ?
— त्यस्तो कुरा अहिलेसम्म कहिबाट सुनेको छैन । जसकारणले हामीमा थप उर्जा पैदा भएको छ । राजपा नेपाल प्रतिको उत्साह र जाँगर हेरेर मलाई भोक, प्यास पनि लाग्न छोडेको छ । नयाँ जोश र जाँगरका साथ हामी आफ्नो चुनावी अभियानमा अगाडी बढिरहेका छौँ । जहाँ जाँदा पनि जनताहरूबाट के प्रतिक्रिया पाउने गरेको छु भने ‘हामी जहाँभए पनि मनैबाट राजपा हो र झण्डा जसको बोके पनि मतदान राजपामा नै गर्छौ ।’

० महानरपालिकाको चुनावी खर्चको कुरा गर्दाखेरी प्रमुख दलहरूले पैसाको खोला बगाए जस्तो खर्च गरिरहेको आरोपहरू सुनिन्छ नि ?
— प्रमुख दलसँग राज्यको पैसा रहेको छ भने हामीसँग मधेशवादको आर्शिवाद रहेको छ । हामीहरूको सिद्धान्तले गर्दा हामीसँग जनता जुडेको अवस्था रहेको छ । त्यसैले हामीलाई कुनै अप्ठयारो छैन । उहाँहरूले पैसा दिन्छ भने हामीले भनेका छौ कि तपाईहरू पैसा लिनुस् र राम्रो ठाँउमा खर्च गर्नुस् । र मतदाताहरूले पनि के प्रतिवद्धता गरेको छ भने हामी जहाँ भए पनि जसको पैसा लिएपनि मतदान राजपा नेपाललाई नै गर्छौं ।

० अहिले चुनावी अभियानको लागि दिनरात खटिनु पर्ने भएको हुन्छ, धेरै ठाँउमा पुग्नु परेको छ, समय निकै कम देखिएको छ, त्यसमा पनि तपाई महिला हुनुहुन्छ, कतिको गाह्रो भइरहेको छ ?
— निश्चित रूपमा हामीले समय कम पाएका छौँ । तर पनि हामी विहान ५ बजेदेखि राति १ बजेसम्म हामीले गाउँ–गाउँ, टोल वडा सबैमा पुगेका छौं । जनताहरूमा हामीप्रति उत्साहित भएर लागेका छन् । त्यसैले हाम्रो जीत सुनिश्चित रहेको छ । त्यसकारणले गर्दा हामी निकै खुसीका साथ चुनावी अभियानलाई निरन्तरता दिइरहेको छौँ ।

० चुनावमा अरू दलहरूले त्यहाँका मतदाताहरूलाई विभिन्न प्रकारका प्रलोभन दिइरहेको होला, पैसा कुरा पनि सुन्नमा आएको छ, यस्तो अवस्थामा राजपा नेपालले जनतालाई आफ्नो तिर पार्नको लागि के कस्तो कामहरू गरिरहेको छ ?
— हामीले जनतालाई केही दिनु परेको छैन । किनभने राजपा नेपाल कुनै उद्योगपतिहरूको पार्टी होइन । यो त साना साना किसानहरूको, निमुखा जनताहरूको हक र अधिकारका लागि संघर्ष गर्ने पार्टी हो । त्यसकारणले हामीले सिद्धान्त र व्यक्तित्वले घर आँगनमा पुगिरहेका छौ । उहाँहरूले पनि हामीसँग समन्वय गरिरहेका छन् । हामीलाई उहाँहरूको साथ एकदमै पाएको छौं जसकारण हामी जित्छौँ भने हामी विश्वस्त भएका छौँ । हामीले एउटा उहाँलाई के प्रतिवद्धता जाहिर के गर्न चाहन्छौँ भने हामीले जे संकल्प गरेका छौ त्यो हामीले निश्चित रूपमा पुरा गर्छौ ।

० अन्त्यमा तपाई वीरगञ्ज महानगरपालिका मतदाताहरूलाई के भन्न चाहनु हुन्छ ?
— मधेशलाई बचाउनको लागि मधेशी जनताहरू हामीलाई साथ दिइरहेकोले उहाँहरूलाई धन्यावाद दिदैँ हामी सबै मधेशी जनता एक हौँ । राजपा नेपालको जीत नै मधेशी जनताको जीत हो भन्न चाहन्छु ।

Comments

comments