एक घर एक युवा, बालिका संरक्षण र औद्योगिक प्रवर्द्धन जस्ता नारा लिएर चुनावी मैदानमा उत्रिएका छन – राजेश सिंह

367

वीरगञ्जलाई आफ्नो आधार क्षेत्र मानेको राष्ट्रिय जनता पार्टीले बाहुबली नेता राजेशमान सिंहलाई मेयर पदको उम्मेदवार बनाएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजपाका नेता विमलकुमार श्रीवास्तव विजय गच्छदारको फोरमबाट मेयरका उम्मेदवार बनेका छन्।

आफूलाई बोल्ने भन्दा गरेर देखाउने कार्यकर्ताका रुपमा व्याख्या गर्ने सिंह पहाडी मूलका मधेसी नेता हुन् । वीरगञ्जमा एक तहका युवामाझ लोकप्रिय सिंहका लागि ‘कास्ट फ्याक्टर’ अनुकूल र प्रतिकूल दुवै हुनसक्ने अनुमान गरिँदै छ।

एक घर एक युवा, बालिका संरक्षण र औद्योगिक प्रवर्द्धन जस्ता नारा लिएर चुनावी मैदानमा उत्रिएका सिंह पार्टी छाडेर जानेहरुका कारण मतदातामा कुनै असर नपर्ने दाबी गर्छन्। रुपेश श्रेष्ठ  सँग गरेको कुराकानीः

कस्तो चल्दै छ प्रचारप्रसार ?

– घरदैलो कार्यक्रममै व्यस्तता छ। जनताको घरघरमै पुगेर भोट माग्दै छौं।

२० वर्षपछि यस्तो चुनाव हुँदैछ। यो चुनावमा तपाईं सहभागी भइरहँदा जनतामाँझ के लिएर गइरहनुभएको छ ?

– वीरगञ्ज निकै अस्तव्यस्त सहर भएको छ । यसलाई व्यवस्थित गर्नु नै सबैभन्दा ठूलो चुनौती छ। सबै पार्टीले यस्तो उस्तो विकास गर्छु भनेर नाराहरु लगाइरहेका छन् । तर, राजपा नेपालको स्पष्ट धारणा छ कि जबसम्म सबै युवाहरुलाई रोजगारी प्राप्त हुँदैन तबसम्म विकास हुँदैन । विजय भएर वीरगञ्ज महानगरपालिकामा पुग्यौं भने सबैभन्दा पहिले युवाहरुलाई रोजगारी दिने, स्वरोजगार बनाउने भन्ने नै हाम्रो प्रमुख प्राथमिकता रहन्छ । जबसम्म युवाहरु विदेश जाने क्रम रोकिँदैन, रोजगार हुँदैनन्, तबसम्म कुनै विकास हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले पहिलो प्राथमिकता नै युवाहरुलाई रोजगारीको व्यवस्था गर्नु छ।

अर्को, वीरगञ्जमा मेन रोडबाट बाहिर कुनै सडक बनेको छैन । त्यो बनाउनुपर्नेछ । त्यस्तै, १४ वटा गाविसलाई महानगरको वार्डमा गाभेको छ । त्यहाँ कुनै पूर्वाधारहरु छैन । यो पनि ठूलो चुनौती हो । यसलाई हामीले आत्मसंकल्पमा पनि उल्लेख गरेका छौं।

राजपाको चुनावी सहभागितालाई जनताले कसरी लिइरहेका छन् ?

– जनताले भनेका छन्, मधेको मुद्दामा जुन अडान राजपा नेपालले लिएको छ अरु कुनै दलले लिएका छैनन् । जबसम्म संविधान संशोधन टेबल भएन तबसम्म राजपाले चुनावमा भाग लिएनन् ।

जनताले यो पनि बुझेका छन् कि हामी यो चुनावमा लागेर सत्तामा जान्छौं भन्ने पनि झुटो हो । हामी अहिले चुनावमा गइरहेका छौं । हामी आन्दोलनमै छौं । यो आन्दोलनको पूर्वतयारी हो । हाम्रो आन्दोलन तबसम्म जारी रहन्छ, जबसम्म मधेसी, थारु, जनजाति सबैको अधिकार संविधानमा सुनिश्चित हुँदैन।

हामी चाहन्छौं, यसपछि हुने प्रतिनिधिसभाको चुनावमा त्यसमा दुई नम्बर प्रदेशमा बढीभन्दा बढी सिट जितेर, मधेसको मुद्दामा साथ दिनेहरुलाई दुई तिहाइ मतले जिताएर संविधान संशोधन गर्ने हाम्रो लडाइँ हो । त्यो लडाइँमा हामी लागिपरेका छौं।

आन्दोलनका लागि भनेर तपाईंहरु ६ वटा दल एकै ठाउँमा आउनुभयो । तर, अहिले चुनावमा टिकट वितरण गर्ने बेलामा विवाद देखियो नि !

– मधेसी नेताहरुले पहिले त्यो गल्ती गरेका हुन् र त्यसको फल पनि पाइसकेका छन् । अहिले त मधेसी जनताको चाहना अनुसार नै ६ वटा दल एक भएका हुन् । एकीकृत भएका दलहरुले मधेसी जनताको चाहना तोड्ने हिम्मत अब गर्दैनन्।

तर, टिकट बाँड्ने बेला पार्टीमा असाझदारी भयो र प्रत्यासी त अर्कै पार्टीबाट चुनाव लड्नुभयो । यसलाई कसरी हेर्नुहुन्छ ?

– यो हाम्रो पार्टीमा मात्रै होइन, सबै पार्टीमा छ । पार्टीमा कोही कोही व्यक्तिगत स्वार्थका लागि पनि लागीपरिरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरुलाई चिन्ने अबसर प्राप्त भएको छ । कोही कहीँ गएर केही फरक पर्नेवाला छैन । राजपा जुन मुद्दा लिएर अगाडि बढिरहेको छ, जनता उनीहरुको साथमा छन् । कोही पार्टी छोडेर अर्को पार्टीमा टिकटको लागि गएको छ भने त्यसले पार्टीलाई कुनै फरक पर्दैन।

तपाईंहरुप्रति आस्था र विश्वास राख्नेहरुलाई अलिकति धोका भयो होला नि ! यसभन्दा अगाडिको चुनावमा पनि आपसमा भिड्दा सकारात्मक नतिजा आएन । यो पटक पनि त्यस्तै हुने अवस्था देखिएन र ?

– हेर्नुस्, हामी ग्रास रुटबाट आएका मानिस हौं । जसले छोडेर गए उनीहरु कहाँबाट आएका हुन् भन्ने कुरा सबैले बुझिरहेका छन् । जसले चुनावै लडेर राजनीतिको व्यापार गर्ने चाहना अगालेको छ, त्यस्ता व्यक्तिलाई केही भन्न सकिँदैन । उनीहरु गएर पार्टी कमजोर हुने पनि होइन, आएर बलियो हुने पनि होइन।

मत विभाजन त हुन्छ नि!

– त्यस्तो हुँदैन । मधेसी जनताले बुझिसकेका छन् । को मधेसको मुद्दामा, दुःखमा, समस्यामा मधेसी जनताको साथमा छन् भनेर मधेसी जनताले बुझिसकेका छन् । टिकट नपाएर एक घन्टामै पत्रकार सम्मेलन गरेर पार्टी छाडेर जानेहरुलाई जनताले व्यापारी हो भनेर बुझिसकेका छन् । हामीलाई ठग्न आएको हो भनेर जनताले एकदम राम्रोसँग बुझेका छन् । त्यसले हाम्रो पार्टीलाई मत कम आउने भन्ने छैन । त्यसैले पार्टीबाट व्यक्ति गएका छन्, जनता गएका छैनन्।

तपाईं मेयर हुनुभयो भने जनताले अनुभव गर्ने परिवर्तनहरु के-के हुन सक्छन्?

– मैले जनतासँग जुन वाचा गरेको छु, ४० दिनमा केही कामहरु गर्नेछु । त्यो चुनौतीलाई स्वीकार गरेर जनताको माझमा गयौं । ४० दिनमा विकास र रोजगारी नै सम्भव छैन । तर, कागजी प्रक्रिया त अगाडि बढाउन सकिन्छ नि ! वीरगञ्जलाई लामखुट्टेको सहर भनिन्छ । मैले जुन दिन सपथ ग्रहण गर्छु त्यसको ३० दिनभित्र लामखुट्टेलाई नियन्त्रण गर्छु भनेर संकल्प पत्रमा स्पष्ट रुपमा लेखेका छौं । त्यो गरेर देखाउँछु । अनि जनताले महसुस गर्छन्, राजपा नेपालको टिमले जुन संकल्प गरेको थियो, त्यसलाई पूरा गर्ने सुरुवात गरिसकेको छ।

के-के हुन्छ त ४० दिनमा ?

– युवा रोजगारी, बाटो मर्मत जस्ता कुराहरुको कागजी प्रक्रिया अगाडि बढ्छ । जनताले त हेर्छन् नि ! कुनै पनि काम गर्नको लागि त पहिले कागजी प्रक्रिया सुरु गर्नुपर्छ । काम हुन लागेको अनुभूति जनतालाई दिन्छौं।

तपाईंले आन्दोलन जारी छ पनि भन्नुभयो । युवालाई रोजगारी दिने, स्वरोजगार पनि बनाउने भन्नुभयो । आन्दोलन र विकासका अरु काम कसरी जोडिन्छ?

आन्दोलन भनेका रोडमा टायर बालेर मात्रै हुँदैन । आन्दोलन गर्ने विभिन्न तरिकाहरु छन् । आन्दोलनको सही रणनीति नभएका कारणले नै तेस्रो मधेस आन्दोलनको नेतृत्व फेल भएको हो । अहिले त्यो कुरा हाम्रा मधेसी नेताहरुले बुझिसकेका छन्।

यदि युवाहरुले रोजगारी पाए भने सरकारलाई दबाव दिन झन् सहज हुन्छ । अहिंसाको माध्यमबाट नै हामीले त्यो आन्दोलनलाई अगाडि बढाउन सक्छौं । मैले त भन्दै आएको हो, मधेसलाई बन्दमुक्त राख्छौं।

Comments

comments