म हार्नलाई लडेको होईन : सल्मा खातुन

5069

आगामी अशोज २ गते हुनलागेको तेश्रो स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको उप-मेयर पदको उम्मेदवार सलमा खातुन संग गरिएको कुराकानीको सम्पादित अंस :

सल्मा जी, के छ हालखबर आजकल केमा व्यस्त हुनुहुन्छ ?
नमस्कार, सब ठीक छ । अहिले प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । म संघीय समाजवादी फोरम नेपालको तर्फबाट पोखरीया नगरपालिकाको उपमेयर पदको उम्मेदवारको रुपमा चुनावमा सहभागी हुँदैछु ।

तपाई एक सञ्चारकर्मी फोरमले तपाईलाई कुन आधारमा आफ्नो उम्मेदवार बनायो ?
एक सञ्चारकर्मीको रुपमा मैले सँधै निश्पक्ष भएरै काम गरेकी छु । नेपाल पत्रकार महासंघमा पनि म कुनै पार्टीको खेमाभित्र लागिन । पहिलो मधेश आन्दोलनदेखि नै एक मधेशी छोरीको नाताले म मधेशको हकअधिकारको लागि सक्रिय रुपमै लागेकी थिएँ, आन्दोलनमा पनि पर्साबाट सक्रिय भूमिका निर्वाह गरेँ । पछि सञ्चार क्षेत्रमा लागेपछि तटस्थ भएरै मधेश मुद्दाको वकालत भने निरन्तर गरिनै रहेँ । मेरो यही एक दशकभन्दा पनि लामो समयको कार्यमुल्याकंन स्वरुप एक युवा, समावेशी र सक्षम उम्मेदवार ठानेर पार्टीले मलाई चयन गरेको हो ।

तपाईले विगत एक दशकदेखि नेपालको राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमहरुमा सक्रिय भइ राम्रै गर्दै आउनुभएको छ, एक्कासी राजनीतिमा लाग्ने निर्णय किन गर्नुभयो ?
एक सञ्चारकर्मीको रुपमा समाजमा रहेका विसंगति, भ्रष्टाचार, अन्यायको विरुद्धमा वकालत गर्दै आएको एक सजग व्यक्तिले राजनीतिक प्रतिनिधित्व गर्न पाए समाजमा सकारात्मक परिवर्तन हुन्छ भन्ने मेरो विश्वास छ । त्यसमा पनि स्थानीय पुनर्संरचना पछिको पहिलो चुनाव एकदाम राम्रो अवसर हो । यस्तोमा सुरुदेखि नै सही पद्धति लागू गर्न सकेमात्र हाम्रो समाजमा अर्थपूर्ण विकास हुन्छ । यसका लागि स्वच्छ छवि भएका शिक्षित र सक्षम युवाहरु राजनीतिमा आउनु जरुरी छ ।

तपाई पर्साकी छोरी बारामा विवाह भएको छ । फेरि पर्साबाट चुनाव लड्दै हुनुहुन्छ । श्रीमान्ले कत्तिको सहयोग पाउनुभएको छ ?
तपाईले नै भनिहाल्नुभयो म पर्साकी छोरी हुँ भनेर । मेरो कार्यक्षेत्र त्यसै पनि पर्सा नै थियो । पोखरीयाबाट चुनाव लड्ने अवसर पाउँदा म भावुक पनि भएँ किनकि हाम्रो समाज निकै कम छोरीहरुले आफ्नो जन्मस्थानको लागि केही गर्ने अवसर पाउँछन् र मैले त्यो अवसर पाएकी छु । यसमा मेरो श्रीमानको पूर्ण समर्थन छ । मेरो दुवै तर्फको परिवार र विशेष गरी मेरा बुवा, आमा र श्रीमानले मलाई सँधै सहयोग गर्दै आउनुभएको छ ।

सञ्चारसँगै तपाई एन.जी.ओ.मा पनि कार्यरत हुनुहुन्थ्यो । राम्रो आम्दानी गर्दै आउनुभएको तपाईले सबै छोडेर राजनीतिमा प्रवेश गर्नुभयो । चुनाव जित्नुभएन भने अलपत्र परिन्छ भन्ने पीर छैन ?
हा…हा…हा…! त्यत्ति डराएर नि हुन्छ? जिवनमा नयाँ नयाँ चुनौतीहरु आउँछन् र केही पाउनका लाग केही त्याग त गर्नैपर्ने हुन्छ । म हार्नको लागि चुनावमा लडेकी छैन । मलाई विश्वास छ आम जनताले मेरो छवि र योग्यता हेरि मलाई उहाँहरुको सेवा गर्ने पक्कै पनि दिनुहुनेछ ।

तैपनि यस्तो भयो भने के गर्नुहुन्छ ?
त्यस्तो अवस्थामा पनि आत्तिइ हाल्नुपर्ने केही छैन । हारजितलाई म स्वभाविक रुपमा लिन्छु । आफूसँग सीप र ज्ञान छ भने अलपत्र परिँदैन ।

पत्रकारको छविले तपाईलाई चुनाव जित्न तपाईलाई कत्तिको सहयोग गर्छ जस्तो लाग्छ ?
मेरो बलियो पक्ष भनेकै सञ्चार जगतबाट राजनीतिमा प्रवेश गरेको एक शिक्षित र निष्पक्ष युवा हुनु हो । जसरी मैले तटस्थ भइ एक पत्रकारको भूमिका निभाएकी छु, हाम्रो समाजलाई, यहाँका समस्यालाई नजिकबाट बुझेकी छु, त्यसले मेरो कार्य सम्पादनमा सहयोग गर्नेछ । गाउँगाउँमा पनि महिला, पुरुष, बालबालिका, किशोरकिशोरी, युवा वर्ग सबैले मलाई सञ्चारकर्मीको रुपमा चिन्नुहुन्छ । उहाँहरुले सँधै मेरो कामलाई मन पनि पराउनुभएको छ । एक जागरुक युवाको रुपमा विकसित र समृद्ध समाजका लागि मेरा पनि हजारौं सपना छन् । ती सपना अन्य युवाका पनि छन् । त्यसैले आम जनताले मलाई सहयोग गर्नुहुनेछ भनी मलाई विश्वास छ ।