नेपाली कांग्रेस पर्सा र बाराका उमेदवारका नाम सार्वजनिक

1539

वीरगन्ज १९ भदौ  प्रदेश नम्बर २ का पालिकाहरूमा उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसलाई निकै सकस परेको देखिएको छ । दोस्रो चरणको चुनाव सकिएलगत्तै प्रमुख दलहरू आगामी असोज २ गते हुन गइरहेका प्रदेश २ का १३६ पालिकाहरूका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका थिए । संगठनात्मक पकड कम भएका कारण आकांक्षी पनि थोरै भएकाले नेकपा एमालेले उम्मेदवारको टुंगो करिब करिब लगाएको छ ।
माओवादी केन्द्रले पनि टिकट पाउने सम्भावना नभएका अन्य पार्टीका आकांक्षीहरूलाई तानतुन गरेर उम्मेदवारको चयन गरेको छ । तर नेपाली कांग्रेस र मधेसी दल राजपालाई भने उम्मेदवार चयनमा निकै सकस भएको देखिएको छ । प्रदेश २ का १३६ पालिकामध्ये एक सयभन्दा बढीमा चुनाव जितेर यसअघिका निर्वाचनको क्षतिलाई पूर्ति गर्दै पहिलो पार्टी बन्ने रणनीतिमा जुटेको नेपाली कांग्रेसले उम्मेदवार चयनका बेला निकै सकस बेहोरेको छ । एउटै पालिकामा मेयर तथा अध्यक्ष पदका लागि एक दर्जनभन्दा बढी आकांक्षी देखिएपछि उनीहरूको व्यवस्थापनमा नेपाली कांग्रेसलाई सकस परेको हो । कुनै कुनै पालिकामा त २४ जनासम्म दाबेदार देखिएको नेपाली कांग्रेस स्रोतले जनाएको छ । उम्मेदवार बन्ने आकांक्षा राख्ने, तर टिकट नपाउनेहरू अन्य पार्टीको उम्मेदवार बन्न जाने वा बागी उम्मेदवार बन्ने रोग नेपाली कांग्रेसका लागि मधेसी बाहुल क्षेत्रमा नयाँ होइन । यो रोग नियन्त्रणका लागि पनि नेपाली कांग्रेसको उम्मेदवार चयनमा ढिलाइ भएको हो ।
२०४९ को स्थानीय चुनावमा ९० प्रतिशत र २०५४ सालको स्थानीय निर्वाचनमा ६० प्रतिशत गाविस तथा नगरपालिका नेपाली कांग्रेसले जितेको थियो । त्यतिबेला चुनाव जित्ने गाविस अध्यक्ष तथा नगर प्रमुखहरू जे जति जीवित छन्, सबै नै पालिका प्रमुखको टिकटको दाबेदार छन् । तर  गाविस तथा नगरपालिकाको संख्या त्यतिबेला आठ सयको हाराहारीमा रहेकोमा यसपटक पुनर्संरचना गर्दा १३६ पालिकामा झरेका छन् । जसका कारण नेपाली कांग्रेसलाई सकस परेको हो । मधेसी दल राजपालाई सकस पर्नुको कारण धेरै पार्टीको मोर्चा हुनु हो । ६ वटा मधेसी दल मिलेर राजपा बनेको हो । ६ वटै दलका कार्यकर्ताहरू टिकटको प्रतिस्पर्धामा छन् । प्रदेश २ मा नेपाली कांग्रेसपछि टिकटको दोस्रो आकर्षण राजपामा देखिएको छ ।
आइतबार बिहानसम्ममा नेपाली कांग्रेसले १३६ मध्ये ११३ पालिकाको टुंगो लगाइसकेको छ । बाँकी २३ मध्ये १५ वटाको टिकट विवाद मिलिसकेको छैन । १२ वटाको विवाद मिले पनि अन्तिम टुंगो लगाउन बाँकी छ ।  नेपाली कांग्रेस स्रोतका अनुसार सप्तरी जिल्लाका पाँचवटा पालिकाको अन्तिम टुंगो लगाउन बाँकी छ । बाराका पाँच, सिरहाका ६ वटा र महोत्तरीका चार गरी १५ वटा पालिकामा विवाद मिलिसकेको छैन । हामीलाई प्राप्त केही नामावली समावेश गरेका छौं । कुन पालिकामा को ? (नामावलीसहित)

पर्सा

नेपाली कांग्रेसले वीरगन्ज महानगरपालिका प्रमुखमा अजय द्विवेदी, उपप्रमुखमा शान्ति कार्की, बौदरमाई नगरपालिका प्रमुखमा जितेन्द्र साह, उपप्रखुमा निर्णय हुन बाँकी, पर्सागढी नगरपालिका प्रमुखमा लोकनारायण यादव, उपप्रमुखमा पटियादेवी थरुनी, पोखरिया नगरपालिका प्रमुखमा रामेश्वरप्रसाद रौनियार, उपप्रमुखमा रेहना खातुन, विन्दबासिनी गाउँपालिका प्रमुखमा चन्द्रकिशोरप्रसाद बराई, उपप्रमुखमा किरणदेवी गुप्ता, धोविनी गाउँपालिका प्रमुखमा सुरेशप्रसाद कुर्मी, उपप्रमुखमा मञ्जुदेवी, सिपहीमाइ गाउँपालिका प्रमुखमा रामेश्वर महतो, उपप्रमुख शैलदेवी राजपुत, ठोरी गाउँपालिका प्रमुखमा जरिलाल लामा, उपप्रमुखमा गीतादेवी विष्ट छन् । बाँकी पालिकाको उम्मेदवार सम्भवत आज सोमवारै सार्वजनिक हुने बुझिएको छ ।

बारा

कलैया उपमहानगरपालिका प्रमुखमा राजेश यादव, उपप्रमुखमा रहिना खातुन, सिम्रौनगढ नगरपालिका प्रमुखमा विजयशंकर यादव, उपप्रमुखमा रीताकुमारी देवी, निजगढ नगरपालिका, सिमरा जीतपुर उपमहानगरपालिकामा निर्णय हुन बाँकी छ । गढीमाई नगरपालिका प्रमुखमा उपेन्द्रप्रसाद यादव, उपप्रमुखमा तारादेवी कानु, कोहल्वी नगरपालिका प्रमुखमा मुरलीधरप्रसाद चौधरी, उपप्रमुखमा सुभद्रा धिमाल, पचरौता गाउँपालिका प्रमुखमा किशोरीप्रसाद यादव, उपप्रमुखमा रञ्जुदेवी चौरसिया

रौतहट 
गौर नगरपालिका र चन्द्रपुर नगरपालिका निर्णय हुन बाँकी, राजदेवी नगरपालिका प्रमुखमा धीरेन्द्रकुमार सिंह, उपप्रमुखमा निर्णय हुन बाँकी, ईशनाथ नगरपालिका प्रमुखमा कौशिल्यदेवी उपप्रमुखमा शेषकलाम हुसेन, करुहा नगरपालिका प्रमुख शेष वकिल, उपप्रमुख सुगन्धी गिरी, राजपुर नगरपालिका प्रमुखमा सकिल अख्तर, उपप्रमुखमा जखिरा खातुन, बोधिमाई नगरपालिका प्रमुखमा नवलकिशोर साह, उपप्रमुखमा किरणकुमारी पटेल, गरुडा नगरपालिका प्रमुखमा सुनिलकुमार यादव, उपप्रमुखमा रंगीलाकुमारी जैसवाल, गुजरा गाउँपालिका प्रमुखमा शेष राउत, उपप्रमुखमा रत्न लामा, कटरिया नगरपालिका प्रमुखमा अजयप्रकाश, उपप्रमुखमा प्रमिला कुशवाह