नि:शुल्क उपचारको विज्ञापन गर्दा पनि बिरामी नपाउने नेसनल मेडिकल कलेज!

964

वीरगन्ज १२ भदाै त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको २ हप्ता नपुग्दै काठमाडौं नेसनल मेडिकल कलेजको अस्पतालले नि:शुल्क बिरामी जाँच्ने र वार्डका बेड पनि नि:शुल्क उपलब्ध गराउने विज्ञापन छाप्यो।
अरु कतिपय सेवाहरूमा पनि भारी छुट दिने जनायो।
राष्ट्रिय दैनिकमा विज्ञापन छापेको अर्को दिन सो अस्पतालमा हामी पुग्दा त्यहाँ बिरामी भने भेटिएनन्।

केही दिनअघि जाँदा पनि अस्पताल सुनसान थियो। आइतबार बिहान भने त्यसमा केही फरक देखियो, डाक्टर र नर्सका लागि अन्तर्वार्ता दिन आएका केही मानिस अस्पताल परिसरमा भेटिए। डाक्टर र नर्सका लागि पनि अस्पतालले केही दिनअघि विज्ञापन गरेको थियो।

आइतबार अस्पतालका अध्यक्ष जैनुद्दिन अन्सारी पनि अस्पताल मै भेटिए। उनले अस्पतालमा बिरामी नभएकोबारे स्पष्टोक्ति दिए। अाफूमाथि भएको ‘अन्याय’ का बारे कसैले नलेखेको गुनासो सुनाए।

‘भर्खरै सुरु भएको छ, कसरी बिरामी हुन्छ? ४ वर्षअघि सञ्चालन सुरू गरेको तर हामीलाई सम्बन्धन नै दिएन। यस्तो अन्याय भयो कसैले लेख्दैन,’ उनले भने ।

अस्पताल भर्खरै पुन: सञ्चालमा आएकोले पनि बिरामीका लागि विज्ञापन गर्नु परेको उनले बताए। उनका अनुसार एक वर्षअघि पनि यसरी नै विज्ञापन गर्दा स्वास्थ्य मन्त्रालयले रोकेको थियो।

‘यहाँ अस्पताल छ भन्ने त थाहा दिनुपर्‍यो नि,’ उनले भने, ‘पहिले स्वास्थ्य मन्त्रालयले सम्बन्धन नै पाएका छैनौं, किन विज्ञापन छापेको भन्यो। हामीले रोक्यौँ। अहिले सम्बन्धनको प्रक्रिया सुरु भयो। त्यसैले विज्ञापन गरेको हो।’

तीन वर्षसम्म सफलतापूर्वक अस्पताल सञ्चालन गरेपछि मात्र मेडिकल कलेजको सम्बन्धन पाउने नेपाल मेडिकल काउन्सिलको मापदण्डमा उल्लेख छ। १०० जना विद्यार्थीलाई एमबिबिएस पढाउन कम्तीमा तीन सय बेडको अस्पताल सञ्चालनमा आएको हुनु पर्ने, त्यो अस्पतालमा अौसत ६० प्रतिशत बेडमा बिरामी भर्ना भएको हुनुपर्ने र अोपिडीमा दैनिक पाँच सय बिरामी हुन पर्ने मापदण्डमा उल्लेख छ।

अस्पताल नै राम्ररी सञ्चालन नगरी कसरी सम्बन्धन पाउनु भयो त?  प्रश्नमा अन्सारीले भने, ‘हामीले अस्पताल खोलेकै होइन। मेडिकल कलेजको सम्बन्धन पाउन ४ वर्ष लाग्यो, अब सबै सञ्चालन हुन्छ। कलेजको लागि अस्पताल चाहिने होइन। क्लिनिकल डिपार्टमेन्ट हो। त्यो हामीले पूरै सञ्चालन गर्छौं।’

उनले थपे, ‘विद्यार्थीका लागि बिरामी चाहिने भोलिबाटै होइन। २ वर्षपछि बल्ल हो। आजै किन बिरामी चाहियो ?’

आफ्नो कलेजलाई सम्बन्धन त्रिविले दिलाएको नभई सर्वोच्च अदालतले दिलाएको अन्सारीको बुझाइ छ।

‘त्रिविले होइन हामीलाई त सर्वोच्चले सम्बन्धन दिलाएको हो। उसले पनि आएर हेरेपछि निर्णय गरेको हो,’ उनले भने, ‘यत्रो ४ वर्षसम्म किनअन्याय गरेको भनेर सर्वोच्चले सोधेपछि त्रिविले सम्बन्धन दिने निर्णय गरेछ।’

अस्पताल मेडिकल कलेजको सम्बन्धनका लागि योग्य छ कि छैन निरीक्षण गर्न भन्दै २०७० सालमा त्रिविले डाक्टर करवीरनाथ योगीको संयोजकत्वमा टोली खटाएको थियो।

उनको टोलीले यो अस्पतालले बिरामी लागायत सबै मापदण्ड पूरा गरेको प्रतिवेदन दिएको थियो।

बिरामीबाहेक यो कलेजले सम्बन्धन पाउन अर्को पनि महत्वपूर्ण मापदण्ड पूरा नगरेको भेटिएको छ।

मादण्डमा मेडिकल कलेज खोल्न सो कलेजसँग अस्पताल सञ्चालन गरेकै ठाँउमा वा सो अस्पतालको १० किलोमिटर वरिपरि कम्तीमा १०० रोपनी जग्गा हुनु पर्ने उल्लेख छ। करवीरनाथ योगीको टोलीले गरेको निरीक्षणमा ललितपुरको लामाटारमा सो अस्पतालको १ सय ४ रोपनी जग्गा रहेको उल्लेख छ।

लामाटारमा अस्पतालको त्यति धेरै जग्गा नरहेको मिडियामा रिपोर्ट आएपछि योगीले सेतोपाटीसँग कुरा गर्दै आफूहरू निरीक्षणमा जाँदा अस्पतालको जग्गा लामाटारमा रहेको जिकिर गरे।

‘हामीले निरीक्षण गर्दा लामाटारमा १ सय ४ रोपनी जग्गा थियो। १० किलोमिटर भित्र थिएन तर ११ किलोमिटर भित्रै त्यो जग्गा थियो। हामीहरुले हेरेर आएको हो,’ योगीले भने, ‘अब त्यत्रो अस्पताल चलाउनेको जग्गा एक/दुई किलोमिटर बाहिर भित्र छ भन्ने ठूलो कुरा होइन ।’

आइतबार कुरा गर्दै अध्यक्ष अन्सारीले भने अस्पतालको जग्गा लामाटारमा नभई चोभारमा रहेको बताए। सुरूमा उनले जग्गाको कुरा गर्न अस्वीकार गरे।

उनले भने, ‘जग्गाको विषयमा तपाईंलाई किन भन्ने? यत्रो सम्बन्धन दिनेले जग्गा हेरेरै त दिए होला, हैन?

कुराकानीकै क्रममा उनले मापदण्डमा १०० रोपनी जग्गा चाहिन्छ भनिएको भए पनि अस्पतालको नाममा चोभारमा १ सय २५ रोपनी जग्गा रहेको बताए।

तपाईंहरूको जग्गा लामाटारमा हैन र? भन्ने सेतोपाटीको प्रश्नमा अन्सारीले भने, ‘लामाटारमा कहाँ हुनु? मिडियाले त्यसै नबुझी लेख्छन्। हामीसँग चोभारमा १ सय २५ रोपनी जग्गा छ। यहाँबाट जम्मा ८ किलोमिटर मात्र पर्छ त्यो ठाँउ।’

करवीरनाथ योगी र अन्सारीको कुरा बाझिएपछि नेसनल मेडिकल कलेजको मापदण्ड अनुसारको जग्गा छ भन्नेमा थप आशंका जन्मिएको छ। श्राेत सेताेपाटि