पर्सामा बाढीबाट ९ हजार भन्दा बढी व्यक्ति प्रभावित र ८ सय घर पूर्ण रुपमा क्षती

629

वीरगन्ज, १ भदाै पर्सामा आएको बाढीबाट ९ हजार भन्दा बढी व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ । साउन २६ गते देखी २९ गते सम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लामा रहेको खोलाको पानी मानव वस्तिमा प्रवेश गर्दा दुई हजार भन्दा बढी घर डुबान हँुदा त्यसबाट नौं हजार भन्दा बढी व्यक्ति प्रभावित भएका हुन ।
चार दिन लगातार परेको वर्षा र खोला तथा गण्डक नहरको पानी मानव वस्तिमा प्रवेश गर्दा भएको डुवानमा परी ८ सय ५० घर पुर्ण रुपमा क्षती र ९ सय ५० वटा घरमा आन्सिक क्षती पुगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले बाढीको कारण घरवार विहिन भएकाहरुलाई नजिकैको सामुदायिक विद्यालय तथा उच्च स्थानमा जिल्ला दैविक प्रकोप उद्धार समितिबाट उपलब्ध गराएको त्रिपालमा बासको व्यवस्था गरिएको यात्रा डेलीलाई  बताउनु भयो ।
विगत तीन दिन देखी वर्षा नभएपछि बस्तीमा पसेको पानी कम हँुदै गएपछि डुवानमा रहेका वस्तिमा सर्वसाधारण फिर्ता हुने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो । उहाँले घरवार विहिन भएका र खाना पकाउन नसक्ने अवस्था भएका स्थानका बाढी पिडितका लागि दैविक प्रकोप उद्धार समितिले खानाको प्रवन्ध मिलाएको बताउनु भयो ।
वीरगन्जका विभिन्न सङ्घ संस्था तथा उद्योगपतिहरुले दिएको पाँच हजार किलो राहत सामाग्री आजै डुवान प्रभावित क्षेत्रमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँले वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको चार वटा टिपर र सुरक्षा निकायसंग रहेका वाहनको सहयोगमा १५ सय किलो चामल, १५ सय किलो चिउरा, ११ सय किलो भुजा, तीन हजार प्याकेट चाउ चाउ, दाल, आलु, नुन, मशाला, खाने पानी डुवान प्रभावित क्षेत्रमा पुर्‍याएको बताउनु भयो ।
बाढीबाट बढी प्रभावित भएका पर्साको जानकीटोला, दशौता, भिष्वा, बुडगाई, सम्भौता, जयमङ्गलापुर, टिहुकी, मिर्जापुर, असवारी, धोवनी लगायतका स्थानमा राहत समाग्री पुर्‍याउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी दिनरात खटिरहेको सहायक प्रजिअ पौडेलको भनाईरहेको छ ।
पर्सामा हाल उद्धार र राहत वितरण कार्य नैं भइरहेकाले डुवानबाट भएको क्षतीको यकिन विवरण सङ्कलन हुन नसकेको स्थानिय प्रशासनले जनाएको छ ।

Comments

comments