×

वीरगन्ज ३० साउन दुई दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न भागमा सवारी आवागमन ठप्प छन् । पुल र सडकहरु बाढीले बगाएसँगै विभिन्न जिल्लामा सवारी आवागमन बन्द भएको छ । नेपालका कुन कुन सडकमा कस्तो क्षती ? यात्रा डेली का जिल्ला संवाददाताहरुको यो रिपोर्ट ।

हाम्रा संवाददाताहरुका अनुसार अनुसार पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा पुल तथा सडक बाढीले बगाएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा भने आइतबार साँझदेखि सवारी साधन आवागमन केही सहज भएको छ ।

पथलैया देखि बिराटनगरसम्मको सडक धेरै ठाउँमा डुबान र कटानमा परेको छ । जसका कारण विभिन्न ठाउँमा अहिले सवारी आवागमन हुन सकिरहेको छैन ।

सप्तरीका तीन पुलमा क्षति

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत सप्तरी जिल्लामा पर्ने तीनवटा पुल नदीले कटान गरिरहेको छ । जनकपुरधाम नजिकैको खोलामा रहेको पुलमा पनि बाढीले क्षति पु¥याएको छ ।

महोत्तरीमा दुई पुल भत्किए

पूर्व–पश्चिम राजमार्गमा पर्ने महोत्तरीको रातु खोलाको पुल एक भागमा केही दबेको छ, जसका कारण ठूला सवारी साधनहरुको आवत–जावतमा रोक लगाइएको छ । हलुका खालका सवारी साधन भने अहिले पनि चलिरहेका छन् । महोत्तरीमै रहेको अर्काे भत्किएको पुल सडक विभागले मर्मत गरिरहेको छ । तर, त्यो तत्कालै सञ्चालनमा आउन सक्ने स्थिति छैन । सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार त्यहाँ बेली ब्रिज राख्ने विषयमा विभागले अध्ययन गरिरहेको छ ।

बर्दीबासमा सडक भत्किँदा ट्रक फस्यो

बर्दीबासदेखि ४ किलोमिटर पश्चिममा पर्ने संघार खोलामा रहेको पुलमा पानी थुनिँदा सडक कटान भएको छ । त्यहाँ सवारी आवागमन ठप्प छ । बर्दीबासबाट ४ किमी पश्चिममा पर्ने संघार खोलामा पनि बाढीले क्षति पु¥याएको छ ।

धन्सार र दुधौरा पुलमा क्षति

बाराको पथलैयाबाट ३ किोमिटर पूर्वमा रहेको दुधौरा पुलमा बाढिले पुल भाँसिएपछि आइतबार राती ११ बजेसम्म यातायात अवरुद्ध छ । खोदामा पानीको वहाव यथावत रहेको कारण ड्राइभर्सन बनाउने प्रहरीको प्रयास सफल हुन सकेको छैन । पथलैयाबाट ३० किलोमिटर पूर्वमा रहेको धन्सार खोलाको पुलमा पनि बाढीले क्षति पु¥याएको छ ।

दाउन्नेमा ४० मिटर सडक दबियो

महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा ४० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ । सडक विभागले दाउन्नेमा सडकको कुनापट्टिको भाग केही खनेर एकतर्फी रुपमा बाटो सुचारु गरेको छ ।

पाल्पा जाने बाटो बन्द

बुटवलबाट पाल्पा जाने सडक खण्डमा पर्ने सिद्धबाबामा पनि अहिले पहिरोका कारण सडक सुचारु हुन सकेको छैन ।

गरुडामा जनताले सडक भत्काए

गौर–चन्द्रपुर सडकको गरुडामा ्जनताले आफैं सडक भत्काएका छन् । सडकका कारण डुबान भएको भन्दै सडक नै काटेर स्थानीयले पानी खोलेका हुन् । जसका कारण सो क्षेत्रमा सवारी साधन आवागमन हुन सकेको छैन ।

Back to top