आज यसरी मनाईदै छ रक्षाबन्धन (हेर्नुहोस् १० तस्विर)

678

वीरगन्ज २३ साउन प्रेम र स्नेहको पवित्र दाजुभाई दिदीबहिनीबीचको पर्व रक्षाबन्धन आज मिथिलाञ्चलसहित तराईमधेशको २० वटा जिल्लामा धुमधामसंग मनाईदै छ ।

यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् ।

यस पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाईलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् । दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाई मानेर राखी बाध्ने गर्छन् ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक कथाको आधारमा यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका जानकार बताउँछन् ।

धागोले जहिले पनि एक अर्कालाई जोड्ने काम गरेकाले रक्षाबन्धन पर्व भाई बहिनीको सम्बन्धलाई जोडेर झनै प्रगाढ बनाउँने पर्व रहेकोले यस पर्वको मिथिलाञ्चलमा निकै महत्व रहेको जानकी मन्दिरका समहन्थ राम रोशन दासले बताए ।

रक्षाबन्धनको अवसरमा जताततै दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको भाव समेटिएको गीतको गुञ्जनले पर्वलाई झनै रौनकता बढाएको हुन्छ ।