महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ

152

वीरगंज, २२ साउन । महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पर्साको सुवर्णपुर गाउँपालिका बाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुवर्णपुर गाउँपालिका १ ठोरी चौताराका ३२ बर्षिय दलबहादुर क्षेत्रीलाई स्थानीय ३५ बर्षिय एक महिलालाइ जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जाेशीले जानकारी दिनुभयो ।

गत बुधबार पक्राउ परेका क्षेत्रीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ परेका क्षेत्रीलाई म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक जाेशीले जानकारी दिनुभयो । क्षेत्री संगै रहेका अन्य २ जना भने फरार रहेको र उनिहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

गत बुधबार साँझ चौतारामा रहेको एक होटलमा क्षेत्री सहित अन्य २ जना युवा र ति महिलाले संगै बसेर मदिरा खाएको स्थानियले बताएका छन् । मदिरा सेवन पछि चारै जना नजिकै रहेको अमुवा खोलाको जंगलतर्फ गएका र त्यसपछि के भयो आफुहरुलाइ थाहा नभएको एक स्थानियले बताए । बलात्कार नै नगरे पनि सामान्य जिस्काएको हुन सक्ने ति स्थानियको भनाइ छ ।

महिला र क्षेत्री सहितका ३ जना युवा विच सामान्य भनाभन भएको र त्यस पछि सबै आआफ्ना घर गएका थिए । पछि क्षेत्रीलाई महिला पक्षका व्यक्तिले घरमै पुगेर कुटपिट गरेपछि घटनाले अर्को मोड लिएको हो । आफुलाई कुटपिट गरेको भन्दै क्षेत्री आफैले इलाका प्रहरी कार्यालय ठोरीमा फोन गरेर प्रहरी बोलाएका थिए ।

घटनास्थलमा प्रहरी पुगेपछि महिल पक्षले बलात्कारको प्रयास गरेकाले कुटपिट गरेको भनेपछि क्षेत्री उल्टै पक्राउ परेका हुन् । क्षेत्रीलाई इलाका प्रहरी कार्यालय ठोरीले पक्राउ गरि जिल्लामा बुझाएको हो ।