×

जनकपुर १९ साउन चुनावी कार्यक्रम लिएर मधेश झरेको नेपाली कांग्रेसको क्षेत्रीय भेलामा नेताले राज्य विप्लवको बारम्बार आरोप खेपेका सिके राउत र नेकपा एमाले तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली एउटै राजनीतिक प्रकृति भएका बताएका छन् ।

जनकपुरको महेन्द्र नारायण निधि स्मृति भवनमा बिहीबार भएको २ नम्बर प्रदेश भेलामा सहभागी कांग्रेस नेता प्रदीप गिरीले सिके राउत र केपी ओली दुवै विखण्डनकारी भएकाले उनीहरुबाट मुलुक जोगाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्षस्थ नेताहरु सहभागी उक्त भेलामा नेता गिरीले राउत र ओली एउटै सिक्काको दुईपाटा भएकाले बिखण्डनकारीको हातबाट मुलुकलाई जोगाउनु पर्नेमा जोड दिएका हुन् ।

भेलामा प्रधानमन्त्री देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङलगायत शीर्षस्थ नेताहरुको सहभागिता छ ।

उक्त भेलालाई सम्बोधन गरेका अन्य नेताहरुले कांग्रेस मधेशमा जन्मे हुर्केको दल भएकाले मधेशको समस्या समाधान गर्दै पहिलो दल बन्नु पर्ने धारणा राखेका छन् ।

कांग्रेसले मधेशको समस्यालाई नेपालको समस्याको रुपमा आत्मसाथ गरेको र मधेशको भूमिबाट कांग्रेसले बहुमत ल्याउनुपर्नेमा उनीहरुले जोड दिए ।

असोज २ गते २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यसहित मधेश झरेको कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पनि मध्यनजर गर्दै कार्यक्रम गरेको हो ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले भन्दा ५० सिटले पछि परेर दोस्रो दलमा रहेको कांग्रेस अब २ नम्बर प्रदेशबाट एक सय सिट जितेर पहिलो पार्टी बन्ने रणनीतिमा रहेको छ । २ नम्बर प्रदेशको आठ जिल्लामा एक सय २७ स्थानीय तह रहेका छन् । कांग्रेसले एक सय सिट जित्ने दाबी गर्दै आएको छ ।

आउँदो माघ ७ गतेभित्र स्थानीय तहसहित प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरिसक्नु पर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।

Back to top