×

वीरगंज, १७ साउन ट्राफिक प्रहरी कार्यालय वीरगजले नगरको ट्राफिक व्यवस्थापन चुस्त राख्न भन्दै सडकमा जथाभावि सवारी पार्किङ गर्ने कार्य रोक्न सबैमा अपिल गरेको छ । छुट्याइएको क्षेत्रमा मात्रै पार्किङ गर्न र अन्य स्थानमा जथाभावि नगर्न सबैमा आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय वीरगजका प्रमुख प्रहरी निरिक्षक रविन्द्र भट्टले बताउनभयो ।

जथाभावि पार्किङ गर्दा नगरको ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने र यात्रुलाई आवतजावतमा समेत बाधा पुग्ने हुँदा त्यस्तो कार्य लाई रोक्न अहिले अभियान चलाइएको पनि उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले अहिले जथाभावि पार्किङ गरेर राख्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराउने अभियानलाई शसक्त रुपमा अगाडी बढाएको छ ।

आज पनि ट्राफिक प्रहरीले छपकैयाँ स्थित मालपोत कार्यालय अगाडी सडकमा जथाभावि रुपमा पार्किङ गरेर राखेको एक दर्जन भन्दा बढी मोटर साइकल नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालयमा लेखनदासको रुपमा बाहिर खट्नेहरुले सबैभन्दा बढी नियम उल्लंघन गर्दै सडकमै मोटरसाइकल पार्किङ गर्ने गर्दा उक्त सडकमा सँधै जसो सवारी जाम लाग्ने गरेको थियो ।

स्थानियको गुनासो पछि आज ट्राफिक प्रहरीले सडकमा जथाभावि पार्किङ गरेर राखेको मोटरसाइकल जिल्ला को वन टन भ्यानमा राखेर कार्यालयमा लगेको थियो । जथाभावि पार्किङ गरेबापत १५सय रुपैयाँ जरिवाना लिएर सवारी छाडिने पनि प्रहरी निरिक्षक भट्टले बताउनुभयो । सडकमै सवारी पार्किङ गर्दा सो सडकमा अत्यावश्यकिय एम्बुलेन्स समेत चलाउन अप्ठ्यारो हुने गरेको बताउँछन एम्बुलेन्स चालक अलिउल्लाह अन्सारी ।

अहिले नगरको विभिन्न भागबाट दिनहुँ दर्जनौँ सवारी साधन जथाभावि पार्किङ गरेका कारण जरिवानामा पर्ने गरेका छन् । पार्किङ गर्न निषेध गरिएका स्थानमा वोर्डहरु राखिएको भए पनि सवारी चालकले अटेर गर्दा वाध्य भएर आफुहरु कारवाहिमा उत्रनु परेको भट्टले बताउनुभयो ।

Back to top