वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग विस्तारको काम अत्यन्त सुस्त

1008

वीरगन्ज २ साउन वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग विस्तारको काम अत्यन्त सुस्त रहेको छ । व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका अनुसार असार मसान्तसम्म करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । कामका अधारमा सबै ठेकेदार कम्पनीको भुक्तानी भइसके पनि कामले गति नलिएको कार्यालयले जनाएको छ । बाराको पथलैयाबाट पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहसम्म निर्माण हुने यो सडकको विस्तार ६ वटा प्याकेजमा भइरहेको छ ।

वर्षाका कारण कामले गति लिन नसकेको योजना प्रमुख रवीन्द्राल दासले बताए । ‘वर्षा लागेकाले अपेक्षाकृत रूपमा काम हुन सकेको छैन,’ उनले भने, ‘तर, समयमै काम सकिनेमा हामी विश्वस्त छौँ ।’ सम्झौताअनुसार सडक विस्तारको काम आव ०७४/७५ को असार मसान्तभित्रमा सम्पन्न गर्नुपर्नेछ । गत वर्षको साउनबाट सुरु भएको आयोजनाको लागत साढे ३ अर्ब रहेको छ ।

एमआर पप्पु जेभी वीरगन्ज, पप्पु लुम्बिनी जेभी वीरगन्ज, श्रेष्ठ एपेक्स जेभी हेटौँडा, एएमआर कन्ट्याक्ट जेभी हेटौँडाले एक–एक र शर्मा जेभी युनाइटेड काठमाडौंले २ खण्ड गरी ५ वटा कम्पनीले ४–४ किलोमिटर सडक विस्तारको ठेक्का लिएका छन् । पप्पु कन्स्ट्रक्सन निर्देशक सुमित रौनियारले वर्षा र गिट्टी तथा बालुवाको अभावले सोचेअनुसार काम गर्न नसकिएको बताए ।’ उनले भने, ‘विविध कारण सोचेजस्तो काम हुन सकेको छैन, तैपनि हामीले जिम्मा पाएको खण्डको ४५ प्रतिशत काम सम्पन्न भएको छ ।’

परवानीपुर–ड्राइपोर्ट खण्डमा सन्तोषजनक

परवानीपुर–ड्राइपोर्ट खण्डमा भने सन्तोषजनक काम भएको छ । यो खण्डमा अवरोध पनि देखिएको छैन । परवानीपुर–पथलैया खण्डमा भने राजमार्ग छेउछाउका विद्युत् पोल, टेलिफोन पोल तथा स्थानीय बासिन्दा र उद्योगधन्दाका पर्खालका कारण समस्या भएको निर्माण व्यवासयीहरूले बताएका छन् । आयोजनाका प्रमुख दासले विद्युत् प्राधिकरण पोल सार्न सहमत भइसकेकाले कामले गति लिने बताए ।

जितपुरमा काम सुरु भएन

वीरगन्ज–पथलैया सडकखण्डमा पर्ने जितपुर बजारमा भने काम सुरु हुन सकेको छैन । सडक विस्तारविरुद्ध जितपुरका स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् । स्थानीय विरोधमा उत्रिएपछि निर्माण कम्पनीले काम अगाडि बढाउन सकेको छैन । सडक विस्तार गर्दा आफूहरूको घर भत्किने भन्दै उनीहरू संघर्षमा उत्रिएका छन् । संघर्ष समितिका अध्यक्ष गणेशप्रसाद साहले सडक विस्तारका नाममा राज्यले अन्याय गर्न नमिल्ने बताए । सडकको नक्सा ०६५ सालमा मात्रै काटिएको तर आफूहरूको बसोवास धेरै अघिदेखि रहेको भन्दै उनले उचित मुआब्जा वा वैकल्पिक व्यवस्थाको माग गरे ।

मुआब्जा नदिँदा काम भएन

वीरगन्ज बहुअरीचोकदेखि आइसिपी जोड्ने ७ सय मिटर सडकखण्डको काम पनि अघि बढ्न सकेको छैन । सडक विस्तारमा केही व्यक्तिको जग्गा परेकाले समस्या भएको हो । व्यक्तिको जग्गाको मुआब्जा दिने निर्णय पनि भएको छ, तर स्थानीय प्रशासनले मुआब्जा दिएको छैन । पप्पु कन्स्ट्रक्सनका निर्देशक रौनियारले स्थानीयलाई मुआब्जा नदिएका कारण बहुअरीचोकदेखि आइसिपीसम्मको कामले गति लिन नसकेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले १५ साउनसम्ममा मुआब्जाको काम सकिने बताए । ‘आवश्यक पक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘असारमै सक्ने भनेका थियौँ, प्राविधिक कारणले ढिला भयो ।’

यस्तो बन्दै छ ६ लेन सडक

वीरगन्ज–पथलैया सडकखण्ड परवानीपुरदेखि उत्तरमा पथलैयासम्म र दक्षिणमा नयाँ बाइपास हुँदै अलौमा निर्माणाधीन ‘एकीकृत जाँचचौकी’ (आइसिपी)मा आएर जोडिनेछ । यो सडक सन् १९५९ मा बनेको हो । प्रत्येक लेन ३ मिटरको हुनेछ । दायाँ–बायाँ डेढ–डेढ मिटरको फुटपाथ हुनेछ । सडकको मध्यभागमा हरियालीसहितको डिभाइडर हुनेछ । मूल सडकको संरचनाबाहेक दुवैतर्फ ५–५ मिटरको सर्बिलेन्स लेन पनि हुनेछ । सबै गरेर ६ लेनको सडक ५० मिटर फराकिलो हुनेछ । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथको परवानीपुरसम्म करिब १४ किलोमिटरको एउटा खण्ड र परवानीपुरदेखि सिर्सियाको सुक्खा बन्दरगाहसम्म करिब १२ किलोमिटरको अर्को खण्ड गरी दुई खण्ड बनाएर सडक विस्तार भइरहेको छ । श्रोत www.enayapatrika.com