शुभारम्भ कलेज प्रशासनले माफि माग्यो (विज्ञप्ति सहित)

411

वीरगन्ज १ साउन बाराको सिमरा स्थित शुभारम्भ कलेज प्रशासनले विज्ञप्ति प्रकाशन गरेर आम सञ्चारकर्मीसंग माफि मागेको छ । गत बुधबार शुभारम्भ कलेज सिमराले अनुमती विपरित प्लस टु कक्षा सञ्चालन गरिरहेको भन्ने समाचार स्थानिय सञ्चार माध्यममा प्रकाशन/प्रशारण भएपछि उक्त कलेजका शैक्षिक निर्देशक शम्भु मण्डलले स्थानिय एक रेडियो मार्फत आम सञ्चारकर्मीमाथी अपशव्द प्रयोग गरेका थिए ।
कलेजका शैक्षिक निर्देशक तथा प्रतिनीधिको प्रतिकृयाबाट आम सञ्चारकर्मीमा परेको असर प्रति क्षमा चाहन्छौं –कलेजका अध्यक्ष लालप्रसाद पुडासैनीद्वारा शुक्रबार प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ । शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने सञ्चारक्षेत्रलाई दुखित बनाउने काम नियतवस नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै विज्ञप्तिमा सञ्चार माध्यममा कलेजका विषयमा आएको समाचार प्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ । सिमरा स्थित माउण्ट एभरेष्ट माविको प्लस टु कक्षाको शैक्षिक व्यवस्थापन मात्र गरिरहेकाले शुभारम्भ कलेजले प्लस टु चलाएको भन्ने समाचारले दुखित तुल्याएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति मार्फत कलेजले आफ्नो व्यवस्थापनमा सञ्चालित प्लसटुमा अध्ययन गर्न कुनै अडचन नरहेको प्रष्टिकरण दिएको छ ।