भारतले निहुँ खोजिरहे चिनियाँ सेना कश्मीर पस्ने

769

भारतको तर्क मान्ने हो भने आफ्नो देशको सेना भारततर्फ पर्ने कश्मीर पस्न सक्ने एक चिनियाँ विज्ञले तर्क गरेका छन् । भारतले चीनसँग निहुँ खोजेर विवादित डोक्लाम इलाकामा सेना तैनाथ गरेकोमा त्यही प्रक्रिया अनुसार चिनियाँ फौज कश्मीर छिर्न पाउनुपर्ने उनको भनाइ छ ।

चाइना वेस्ट नर्मल विश्वविद्यालगमा सेन्टर फर इन्डियन स्टडिजका निर्देशक लोङ सिङचुनले डोक्लाम इलाकामा भारतले सेना पठाउनु गलत भएको तर्क गरे ।

उनले ग्लोबल टाइम्समा लेखे, ‘मानौं भुटानको भूभाग रक्षा गर्न भारतलाई अनुरोध गरिएको भएपनि भारतीय सेना विवादरहित भूमिसम्म आउने हो, विवादित क्षेत्रमा आउन मिल्दैन । भारतको यही कुतर्कले काम गर्ने हो भने त पाकिस्तान सरकारले अनुरोध गरेमा तेस्रो देशको सेना भारत र पाकिस्तानबीचको विवादित क्षेत्रमा पस्न सक्छ अनि त्यसमा भारतनियन्त्रित कश्मीर पनि पर्छ ।’

उता चीनले पाकिस्ताननियन्त्रित कश्मीरमा सडक तथा अन्य निर्माण परियोजना धमाधम अघि बढाइरहेको छ ।

बेइजिङले डोक्लाम विवादको अन्तर्राष्ट्रियकरण गर्नसक्ने संकेत दिँदै लोङले भारतलाई पश्चिमी देशहरूले सहयोग गर्लान् भनी चिन्ता लिनु नपर्ने किनकि पश्चिमले चीनसँग धेरै व्यापार गर्ने तर्क गरे ।

‘चीनले दक्षिण एसिया र अन्तर्राष्ट्रिय समुदाय अनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई समेत आफ्नो स्थितिका बारेमा प्रमाण दिन सक्छ,’ लोङे लेखे, ‘पश्चिमी सरकार मिडियाले दक्षिण एसियामा भारतले देखाउने दादागीरीको विषयमा चुइँक्क बोलेनन् ।’ उनको संकेत २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति थियो ।

लोङले डोक्लाम चीनको भूभाग भएको दोहो–याउँदै भारतीय सेना भुटानलाई सहयोग गर्ने नाममा त्यहाँ घुसेको आरोप लगाए । द टाइम्स अफ इन्डिया

Comments

comments