×

सरकारले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म चाँडै संविधान संशोधन गर्नेगरी पहल सुरु गर्ने जनाएका थिए। राजपाका नेताले सकेसम्म असारभित्रै संविधान संशोधन गर्न आग्रह गरे। उनीहरुले यसअघि राजपासँग गरिएको तीनबुँदे सहमति पनि असारभित्रै कार्यान्वयन गर्न आग्रह गरेका थिए।

राजपा नेताले संविधान संशोधन नभए असोज २ को चुनावमा पनि भाग नलिने प्रस्ट पारे। उनीहरुले चुनावअघि नै स्थानीय तहको संख्या थप्न पनि माग गरे। आयोग बनाएर हुन्छ वा अदालती प्रक्रियाबाट हुन्छ, स्थानीय तहको संख्या वृद्धि हुनुपर्ने माग उनीहरुले अघि सारेका छन्।

वार्तामा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले सके चारपाँच दिनभित्रै, नभए असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने  प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको बताए।

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव पास गराउन शनिबारदेखि नै संसद्मा रहेका सबै दलसँग सरकारले वार्ता गर्ने बताएको निधिले जानकारी दिए। 'प्रधानमन्त्रीले भोलि (शनिबार ) नै राप्रपासँग वार्ता गर्ने र लगत्तै एमालेलगायतका दलसँग पनि वार्ता प्रक्रिया अघि बढाउने बताउनुभयो,' उनले भने।

राजपा नेता शुक्रबार अपराह्न निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएलगत्तै बालुवाटार पुगेका थिए। दल दर्ता गराएकोमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालले सुरुमै राजपा नेतालाई बधाई दिएका थिए।

वार्ताको सुरुमा प्रधानमन्त्रीले बोलेका थिए। उनले संविधान संशोधनका पक्षमा दुईतिहाइ जुटाउन एमालेलगायतका दलसँग वार्ता प्रयास सुरु भएको बताएका थिए। 'सकेसम्म चाँडै संविधान संशोधन गर्न सरकारले पहल गरिरहेको छ। संशोधनका पक्षमा दुईतिहाइ जुटाउने प्रयास भइरहेको छ। तपाईंहरूसँग भएका अन्य सम्झौता पनि पूरा गर्ने काम भइरहेको छ,' स्रोतले देउवालाई उद्धृत गर्‍यो, 'त्यहीबारेमा जानकारी गराउन हामीले तपाईहरूलाई बोलाएका हौं।'

प्रधानमन्त्रीले बोलेपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले बोलेका थिए। दाहालले पनि संविधान संशोधन गर्न प्रयास गरिरहेको बताएका थिए। दाहालले सरकार स्थानीय तहको संख्या थप्न सकारात्मक रहेको भन्दै आफू नेतृत्वको सरकारले गरेको प्रयासलाई अदालतले रोेकेको प्रसंग सुनाएका थिए। दाहालपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बोलेका थिए। स्रोतका अनुसार उनले भने, 'तपाईंहरूले जहिले पनि संशोधन गर्छौं मात्र भन्नुहुन्छ तर कहिले पनि गर्नुहुन्न। कथनी र करनी एउटै बनाउनुहोस्।' ठाकुरले संविधान संशोधन र तीनबुँदे सम्झौता कार्यान्वयन नभएमा आगामी चुनावमा पनि भाग नलिने प्रस्ट पारेका थिए।

ठाकुरपछि राजेन्द्र महतोले राजपालाई सरकाले मित्र शक्ति भन्ने गरेको तर व्यवहारमा शत्रु शक्ति मान्ने गरेको गुनासो गरेका थिए। 'हामीलाई मित्र शक्ति मान्नुहुन्छ भने व्यवहार पनि त्यही गर्नुस्। हामीसँग गरिएको सहमति कार्यान्वयन गर्नुस्', उनले बैठकमा भने।

बैठकपछि महतोले वार्तामा प्रधानमन्त्रीले असारभित्र संविधान संशोधनका लागि प्रयास गर्ने  प्रतिबद्धता जनाएको बताए। 'उहाँले सकेसम्म चाँडो संविधान संशोधन गर्छौं भन्नुभयो तर हामीले आठदस दिनभित्र संविधान संशोधन गर्नुहोस् भन्यौं,' उनले भने।

वार्तामा प्रधानमन्त्रीले असोज २ गतेपछि प्रदेशसभा र केन्द्रीय संसद्को पनि चुनाव गर्नेगरी सरकारले प्रक्रिया अघि बढाउने बताएका थिए। 'हामीले माघ ७ भित्र तीन तहको चुनाव गरिसक्नुपर्छ। असोज ३ लगत्तै प्रदेश र केन्द्रको पनि चुनाव प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ,' उनले भने।

संशोधनपछि मन्त्रिपरिषद विस्तार गर्न सुझाव

वार्तामा माओवादी केन्द्रका अध्यक्ष दाहालले संविधान संशेाधनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रस्ताव राखेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले पनि दाहालको प्रस्तावमा सहमति जनाएका थिए।

'संशोधन चाँडोभन्दा चाँडो गर्न त्यो काम सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्दा ठीक हुन्छ भन्ने मलाई लागेको छ', स्रोतले दाहाललाई उद्धृत गर्‍यो। नागरिकबाट

Back to top