उपेन्द्र यादव र विजय गच्छेदारलाई जनताले सबक सिखाएको छः बरिष्ठ पत्रकार राजेश्वर नेपाली

801




वीरगन्ज २४ असार दोस्रो चरणको स्थानीय तहको चुनावमा उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम र विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकको अधिकांश स्थानीय तहमा पराजय भोगेपछि मधेशमा दूबै दलको नेताको चर्को आलोचना भईरहेको छ ।
बरिष्ठ पत्रकार राजेश्वर नेपालीले यो निर्वाचनको माध्यमले उपेन्द्र यादव र विजय गच्छेदारलाई जनताले सबक सिखाएको टिप्पणी गर्नु भएको छ । उहाँले भन्नुभयो जनतालाई वाईपास गरेर अगाडी बढ्यो भने यसको परिणाम यस्तै घातक हुनेछ ।
दूधमतीसंग कुरा गर्दै नेपालीले २००८ सालमा मातृका प्रसाद कोईराला, तुलसी गिरी, परशुनारायण चौधरी, वेदानन्द झा जस्ता नेतालाई पनि नेपाली जनताले विगतका दिनमा सबक सिखाएका छन ।
उपेन्द्र यादव र विजय गच्छेदारको सत्ता लोलुप्ताका कारण मधेशको मुद्दा धरापमा परेको उहाँले आरोप लगाउनुभयो । उहाँ दूबै नेताले मधेशी जनतासंग माफी माँग्नु पर्ने सल्लाह समेत उहाँले दिनुभयो ।
तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टीले मधेशीको माँग सम्बोधन बिना चुनावमा गयो भने उसको पनि यहि हाल हुने चेतावनी दिनु भएको छ । चुनाव आउँछ जान्छ तर एजेण्डालाई कमजोर हुन दिनु हुँदैन नेपालीले भन्नु भयो । नेपाली कांग्रेसले दर्जनौँ चुनाव बहिष्कार गरेको छ । तर आज सबैभन्दा ठूलो पार्टी रहेको छ ।
उपेन्द्र यादव र विजय गच्छेदारलाई राष्ट्रिय जनता पार्टीसंग मिलेर आन्दोलनलाई बल दिन उहाँले सल्लाह दिनु भएको छ । मधेशवादी दल टुक्रिएर गएमा मधेशीको माँग कहिल्यै पूरा हुन नसक्ने उहाँले दावी गर्नु भयो ।
तीन दलले मधेशीको माँगलाई सम्बोधन गर्नमा ढिलो गर्यो भने त्यसको परिणाम भयावह हुने समेत उहाँले चेतावनी दिनुभयो । बरिष्ठ पत्रकार नेपालीले भन्नुभयो अल्पसंख्यकलाई सधै स्थान दिनु पर्छ । मधेशमा भेदभावका कारण असन्तुष्टि अत्याधिक रहेको छ । यो असन्तुष्टिलाई सहजरुपमा लिनु कसैको लागि हितगर हुँदैन ।

Comments

comments