यसकारण डुब्दैछ तिलाठी (रिपोर्ट)

65

वीरगन्ज २० असार शनिबार विहान भएको वर्षाका कारण सप्तरीको तिलाठीसहित करिब १५ सय घरपरिवार डुबानमा परेका छन् । शनिबार दिउँसोदेखि वर्षा रोकिएपछि आइतबारदेखि जनजीवन समान्य बनेको छ ।

खाढों नदीमा आएको बाढीले तिलाठी सबभन्दा बढी प्रभावित बनेको छ । कारण हो, तिलाठीको बस्तीबाट खाढों नदी बग्नु । किन डुब्दैछ त तिलाठी ?

खाढों नदीमा बाँध नभएकोले तिलाठीसहितका गाउँ वर्षेनी डुब्दै आएको छ । तर यसपटक तिलाठीका केही व्यक्तिहरु र स्थानीय प्रशासनबीचको विवादले तिलाठी डुबेको छ ।

हुलाकी न्यूजसँग सप्तरीका सीडीयो कृष्णबहादुर कटवाल भन्छन्,‘तिलाठीका केही व्यक्तिहरुका कारण तिलाठी डुबेको हो । हामीले त्यहाँ बाँध बाँध्ने प्रयास पटक पटक गरेका छौं तर उहाँहरुले बाँध भत्काउनु भयो । उहाँहरुले निजी जग्गामा बाँध बाँध्न दिनु भएको छैन । उहाँहरुले साविककै स्थानबाट नदी फर्काउनु पर्ने माग गर्दै हुनुहुन्छ ।’

खाढों नदीमा बाँधका लागि १४ करोड बजेट रहेको छ । उक्त बजेटबाट केही दिनअघि तिलाठीमा बाँध बाध्ने काम सुरु भएको थियो ।

सीडीयो कटवालले भने,‘स्थानीय केही व्यक्तिको अवरोधका बाबजुद प्रहरी लगाएर हामीले एक दिन बाँध बाध्ने काम गर्यौं । भोलि पल्ट जाँदा बाँध भत्काइएको थियो ।’

तिलाठी घटना पछि चर्चित बनेका देवनारायण यादवसहितको समूहले खाढों नदीमा बाँध बाध्न दिएका छैनन् । कारण हो, यादव र तिनका परिवारका सदस्यहरुको जग्गाबाट अहिले खाढों नदी बग्दैछ । उनीहरुले निजी जग्गामा बाँध बाध्न नदिने बताउँदै विरोध गर्दै आएका छन् ।

हुलाकी न्यूजसँग देवनारायण यादवले भने,‘दुई दशकदेखि खाढों नदीले बाटो परिवर्तन गरेको छ । सरकारले दुईवटा पुल बनाइसकेको छ तर त्यसलाई छोडेर निजी जग्गाबाट बाँध बनाउने काम हुँदैछ । त्यसकारण विरोध भएको हो । अहिलेको अनुसार बाँध बाँधिए तिलाठीबासीको सयौं विगहा जग्गा गुम्नेछ ।’

यादवसहितकाहरुको पहिलो माग हो, खाढो नदीलाई पुरानै बाटोमा फर्काउनु पर्ने । तर अहिलेको अवस्थामा नदीको बहाबलाई रोक्न सक्ने वा मोड्न सक्ने अवस्था नरहेको सीडीयो कटवाल बताउँछन् ।

स्थानीय पत्रकारहरुका अनुसार यस विषयमा स्थानीय प्रशासन र यादव समूहबीच छलफल हुँदा उनीहरुले निजी जग्गामा बाँध बाधिए आफुहरुलाई मुवाबजा दिनु पर्ने माग गर्दै आएका छन् ।

यता सीडीयो कटवाल भन्छन्,‘उहाँहरुलाई मुवाबजा अहिले नै दिन सक्ने अवस्था छैन । नदीमा बाँध बाध्नका लागि मुवाबजा दिनु पर्ने अवस्थामा मन्त्रिपारिषद्बाट निर्णय गराउनु पर्ने हुन्छ । त्यो लामो प्रक्रिया हो ।’

देवनारायण यादव भन्छन्,‘तिलाठीदेखि भारतको दशगजासम्म करिब तीन सय विगहा जग्गा बाँधमा पर्नेछ । सरकारले मुवाबजा नदिए उनीहरु घरबार विहिन बन्ने छ । हामी आफ्ले बाँध बाँध्ने तयारी गर्दैछौं । गाउँलाई जोगाउन आफ्नो अनुसार बाँध बाँध्ने छौं ।’

स्थानीय पत्रकार श्यामशुन्दर यादवले हाल खाढों नदी बग्दै गरेको स्थानमा बाँध नबाधिँए अर्को समान्य वर्षा भएमा तिलाठीसहितका गाउँहरु पुनः डुब्ने बताए । त्यहाँ तत्कालै बाँध बाध्नु पर्ने र बस्ती जोगाउनु पर्ने यादव बताउँछन् ।

त्यस्तै, स्थानीय पत्रकार अवधेश झाका अनुसार सरकारले नदीहरुमा बनाउने गरेको बाँध गुणस्तरहिन भएकोले धेरै स्थानमा टुटेको छ । बाढीमा नियमित रिपोर्टिङ गरेका झा भन्छन्,‘केही स्थानमा बाँध बाधिएपनि त्यो टुटेर गाउँ बस्तीमा पानी पसेको छ । त्यही नदीको छेउवाबाट बालुवा खनेर बालुवाको बाँध बाँधिएको छ जसले गर्दा समान्य बर्षा हुँदा पनि बाँध फुट्ने गरेको छ ।’

कभर तस्बीर : शिबप्रताप साह

Comments

comments