×

राजविराज १८ असार । अबिरल वर्षाका कारण सप्तरीको विभिन्न नदीमा आएको बाढीबाट १५ सयभन्दा बढी घरपरिवार डुवानमा परेका छन् । शनिबार साँझसम्म डुवानबाट प्रभावितहरुको अवस्था गम्भीर बन्दै गएको छ ।

सप्तरी प्रहरीले वर्षा रोकिएको पछि बाढी कम भएको जनाउँदै केही राहत प्रदानको कार्य भइरहेको बताएको छ । तर स्थानीयबासीहरुका अनुसार बाढी प्रभावितहरु अहिलेसम्म आ–आफ्नो घर पुगन सकेका छैनन् । उनीहरुको खाने बस्ने व्यवस्था मिलि नसकेकोले अवस्था गम्भीर बन्दै भएको बताएका छन् ।

यता स्थानीय पत्रिका न्यूज टुडेका अनुसार सप्तरी जिल्लाको खाँडो, त्रियुगा, जीता, बिहुल, बलानलगायतका नदीहरुमा आएको बाढीका कारण बस्ती तथा धान खेत डुबानमा परेको हो । तिलाठी, लौनियाँ, सकरपुरामा समेत बाढी पसेको छ । बाढीको त्रासले गर्दा स्थानीयले पशु चौपाया, लत्ताकपडा बोकेर केही व्यक्तिहरु सुरक्षित गन्तव्यतर्फ लागेका छन् ।

बाढीबाट तिलाठीको बस्तीमा करिब ४ फिटसम्म पानी पस्दा जनजिवन थप कष्टकर बन्न पुगेको छ । खाना पकाउने चुलो तथा पानी खानकालागि प्रयोग गरिने ट्युवेल समेत पानीमा डुबेका कारण खानेपानीको समेत समस्या भएको छ । बाढीले गर्दा वालवालिका र वृद्धवृद्धालाई जोगाउन अत्यधिक समस्या भईरहेकोले सुरक्षित स्थानतर्फ लगिएको छ । सडक कटान गर्दा राजविराज–कुनौली सडकमा आवागमन समेत अवरुद्ध भएको छ ।

बाढीले राजविराज नगरपालिकाको वडा नम्वर– ९ र १० मा पसेको खाँडो नदीको पानीले गर्दा दर्जनौ घर डुबानमा परेको छ । बस्तीमा अचानक नदीको पानी पस्दा मलेठका मो. यासिनको कुखुरा फर्ममा रहेका १ हजार २ सय कुखुरा, खाद्यान्न, लत्ताकपडा समेत पानीमा बगेको पीडितले बताए । मलेठ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र समेत जलमग्न भएको छ । खाँडो नदीको पानीले गर्दा पर्खाल समेत भत्किएको छ ।

यस्तै लौनियाँ, मैनाकडेरी, वसविट्टि, तिलाठी, पौंवा, मुसहरनिया पिपराही, रायपुर, लौनियाँ, रुपनी, पकरी, रम्पुरा, मल्हनियाँ लगायतका गाउँ डुवानमा परेको छ । यस्तै महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा–४, ६, ७, र ८ का करिब तीन सय भन्दा बढी घर डुबानमा परेको स्थानीय सञ्चारकर्मी रामसेवक यादवले जानकारी दिएका छन् ।

यस्तै जिल्लाको लोहजरा–९ स्थितको बस्तीमा खोलाको पानी पसेर जनजिवन अस्तव्यस्त बन्नपुगेको स्थानीय वासिन्दा आनन्दी मुखियाले बताएका छन् । बस्तीहरुमा तीन फिटसम्म पानी जमेको छ यस्तै रुपनी गाउँपालिका २ मा बाढी पस्दा १ सय घर डुवानमा परेका छन् । बाढीले गर्दा जिल्लाको विभिन्न स्थानहरु समेत गरी १ हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिएका छन् । उनका अनुसार बाढीवाट जोगाउन ठाउँ–ठाउँमा अस्थायी वाँध वनाउने काममा प्रहरी खटिएको छ ।

यसैगरी जिल्लाको लौनियाँमा खोलाले वगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ । उक्त शवको पहिचान हुन सकेको छैन । बाढी गर्दै जिल्लाको सयौ बिघा धान खेत डुबानमा परेको छ । बाढीले गर्दा ठाउँठाउँमा सडकहरु समेत भत्काएको छ ।

Back to top