×

बारा १७ असार ९५ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा आज सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वृक्षारोपण कार्यक्रम गरेको छ । वृृक्षारोपण शुभारम्भ गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेले वातावरण संरक्षण चुनौतिपूर्ण बन्दै गएको विश्वपरिवेशमा वृक्षारोपण र संरक्षण महत्वपूर्ण हुने बताउनुभयो । वनवातावरण संरक्षण र प्रदुषण नियन्त्रणका लागि उपमहानगरपालिका गम्भिर भएको बताउदै बेलबासेले यसप्रति सचेत भएर काम गर्न सरोकारवालालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै हातेमालो सहकारीका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले सहकारीहरु समुदायको वित्तिय एवम् आर्थिक सशक्तीकरणसंगै समुदाय र वातावरणप्रति उत्तरदायित्व बहन गरिरहेको बताउनुभयो । वातावरण प्रदुषण र तापवृद्धिले विश्व बस्नलायक नभइरहेकोप्रति चिन्ता व्यक्त गर्दै डा. पौडेलले राज्य, स्थानीय तह, उद्योगधन्दा र समुदाय हरित वातावरण निर्माणम गम्भिर हुन आग्रह गर्नुभयो ।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व बहनमा हातेमालो सहकारीले खेलेको भूमिकाको सर्हाहना गर्नुभयो ।

हातेमालो सहकारीका सामाजिक सेवा उपसमितिका संयोजक बरुण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण व्यवस्थापक महेश ढुंगेल र स्वागत राधाकृष्ण मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समूहका अध्यक्ष चोलाबहादुर पण्डितले गर्नुभएको थियो । कार्यक्रममा अमलेखगंज रक्सौल पाइपलाइन विस्तार परियोजनाका विज्ञ शरद पौडेल, प्रकृति संरक्षण मञ्चका अध्यक्ष इश्वर पोखरेल, हातेमालोका उपाध्यक्षहरु विनोद कलवार र सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, लेखा संयोजक डम्मरमणी थेवे लिम्बुलगायतको उपस्थिति रहेको थियो ।

सोहीक्रममा रक्तचन्दन, सीमल, सिरिष, अमला, टांकी जातिका विरुवाहरु रोपिएका थिए । राधाकृष्ण मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समूहको संरक्षित वनक्षेत्रमा रोेपिएका विरुवाहरु संरक्षण हुने समूहका कोषाध्यक्ष लेखनाथ खतिवडाले बताउनुभयो ।

Back to top