×

वीरगन्ज १६ असार वीरगञ्ज । नेपालको बीमा बजारमा प्रवेशका लागि नयाँ १० कम्पनी अन्तिम तयारीमा जुटिरह“दा यसले व्यवसायसँगै सरोकारका क्षेत्रमा अवसर पनि विस्तार हुने देखिएको छ । बीमा कम्पनीबीच प्रतिस्पर्धा वृद्धि भई कम्पनीको दक्षता, बीमितलाई लाभ र रोजगारीका अवसर सृजना हुने जानकारहरू बताउँछन् ।

बीमा समितिका अनुसार १० ओटा नयाँसहित जीवन बीमा कम्पनीको सङ्ख्या अब १९ पुग्ने भएको छ । अहिले जीवन नौ, निर्जीवन १७ र पुनर्बीमा एक गरी २७ ओटा कम्पनी यस क्षेत्रमा काम गरिरहेका छन् । तर, हालसम्म बीमाको पहुँच ७ प्रतिशतमात्र रहेको समितिको तथ्याङ्क छ । यसमा ‘सलेण्डर’ गरिएका र एकै व्यक्तिका एकभन्दा बढी पोलिसीसमेत गणना भएकाले उक्त सङ्ख्या ५ प्रतिशतभन्दा बढी नहुने नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सका पूर्वकार्यकारी अधिकृत रहिसकेका रमेशकुमार भट्टराईको भनाइ छ ।

बजारमा कार्यरत र प्रवेशको तयारीमा रहेका कम्पनी यतिबेला ग्राहकका लागि आकर्षक पोलिसी उत्पादनमा लागेको बीमा कम्पनीका एक अधिकारीले बताए । प्रतिस्पर्धा बढेपछि कम्पनी आकर्षणको नयाँ उपायमा केन्द्रित भएको उनले बताए ।

९५ प्रतिशत पहुँचबाहिर

कुल जनसङ्ख्याको ९५ प्रतिशत अझै पनि बमिाको पहुँचबाहिरै रहेको भट्टराईले जानकारी दिए । ‘दायरामा आउन बाँकी यति ठूलो जनसङ्ख्या आफैमा बीमा व्यवसायका लागि अपार सम्भाव्यता हो,’ उनले भने, ‘अब बीमा कम्पनीले यो रिक्ततालाई उपयोग गर्नुपर्छ ।’ बीमासम्बन्धी चेतनाकोे कमीका कारण बजारको अपेक्षित विकास हुन नसकेको एशियन लाइफ इन्स्योरेन्सका अध्यक्ष विजयकुमार सरावगीले बताए । सरकारी नीति बीमामैत्री नभएको उनको बुझाइ छ ।

सरकारले आयकरमा बीमाको छूट सीमा २० हजार रुपैयाँमात्र राखेको छ, जुन अत्यन्तै न्यून भएको सरावगीले बताए । ‘भारतमा छूट सीमा १ लाख रुपैयाँ छ । त्यसैले हामीकहाँ यसको दायरा बढाइनुपर्छ,’ उनले भने । त्यसले बीमाप्रति आकर्षण बढाउने उनको भनाइ छ ।

आगामी दिनमा प्रतिस्पर्धाका कारण कुनाकाप्चासम्म बजार विस्तार हुने र जनशक्ति पूर्ति गर्न कम्पनीबीच तानातान हुन सक्ने सरावगीले बताए । प्राविधिक क्षेत्र भएकाले त्यस्तो जनशक्तिको कमी रहेको उनको भनाइ छ ।

यस क्षेत्रका जानकारले जनशक्तिको कमीलाई नयाँ रोजगारीको अवसरसँग जोडेर पनि हेर्ने गरेका छन् । कम्पनीबीच बढ्दो प्रतिस्पर्धाले रोजगारीका नयाँ अवसर सृजना हुने र शिक्षित बेरोजगारले मौका पाउने उनीहरूको तर्क छ । ‘शुरूमा बैङ्कबीच पनि एकैपटक प्रतिस्पर्धा हुँदा जनशक्ति अभावको समस्या देखिएको थियो,’ भट्टराईले भने, ‘अहिले त्यो क्षेत्रमा जनशक्ति पर्याप्त छ ।’

२७ हजार रोजगारी सृजना

सञ्चालकका अनुसार एउटा बीमा कम्पनीका लागि औसत २ सय कर्मचारी र करीब २ हजार ५ सय अभिकर्ता आवश्यक हुन्छन् । यस आधारमा १० ओटा कम्पनीमा कम्तीमा २७ हजार नयाँ रोजगारी सृजना हुने देखिन्छ ।

यो अभिकर्तामा आधारित व्यवसाय भएकाले उनीहरूको ठूलो भूमिका हुने सरावगीले बताए । ‘हालसम्म अनलाइनबाट बीमा गर्ने अभ्यास छैन । अभिकर्ताको व्यक्तिगत पहुँच र विश्वासका आधारमा चलेको छ,’ उनले भने ।

बीमा समितिका अनुसार अहिले ७५ हजारभन्दा बढी अभिकर्ता छन् । निष्क्रिय अभिकर्ताको सङ्ख्या पनि उल्लेख्य रहेको सञ्चालक बताउँछन् । बीमा बजारमा नयाँ कम्पनीको प्रवेशले यस्ता अभिकर्ता सक्रिय हुन सक्ने अनुमान उनीहरूको छ ।

भट्टराईका अनुसार नेपालले आर्थिक उदारीकरणको नीति लिएपछि बैङ्क र वित्तीय संस्थाको सङ्ख्या ३ सयको हाराहारीमा पुगे पनि जनतामा बैङ्किङ सेवाको पहुँच ५० प्रतिशतभन्दा बढी छैन । उनको भनाइमा बीमा क्षेत्रमा पनि ‘मसरुमिङ ग्रो’ हुनुपर्छ । ‘नेपालमा बीमा बजारको दायरा व्यापक छ । यसअर्थमा १० ओटा बीमा कम्पनीलाई एकै पटक दिइएको सहमति सकारात्मक मान्नु पर्छ,’ उनले भने, ‘यसले अनुभव र दक्षता हुने कम्पनी अगाडि बढ्छन् । कालान्तरमा आपसमा गाभिने अवस्था आयो भने पनि त्यस्ता कम्पनी पूँजीगत रूपमा सुदृढ हुन जान्छन् ।’

कम्पनी र उनीहरूको नियामक निकाय बीमा समितिले प्रभावकारी समन्वय गर्नुपर्ने सुझाव सरोकारवालाको छ । समितिले प्रवद्र्धनका लागि कम्पनीहरूले सङ्कलन गर्ने बीमाङ्कबाट १ प्रतिशतका दरले रकम लिने गरे पनि जनचेतना अभिवृद्धि भने प्रभावकारी हुन नसकेको गुनासो सरावगीको छ । ‘बीमालाई सामाजिक सुरक्षा र बचतको अभ्यासका रूपमा स्थापित गर्न सरकारले यस क्षेत्रलाई राष्ट्रिय नीतिसित जोड्नुपर्छ,’ उनको सुझाव छ ।

 

 

Back to top